युक्रेन युद्ध: रुस तेल र ग्यासका लागि बिटकोइन स्वीकार्ने विचारमा

    • Author, एनाबेल लियाङ
    • Role, व्यापार संवाददाता

रुसले तेल र ग्यास निर्यातको भुक्तानीका लागि बिटकोइन स्वीकार्ने विषयमा विचार गरिरहेको एक रुसी सांसदले बताएका छन्।

पाभेल जाभाल्नीले "मित्र" देशहरूलाई क्रिप्टोकरेन्सी अथवा उनीहरूको स्थानीय मुद्रामा भुक्तानी गर्न दिन सकिने बताएका छन्।

यसै साताको सुरुमा राष्ट्रपति भ्लादिमिर पुटिनले "मैत्रीपूर्ण सम्बन्ध नभएका" देशहरूले रुबलमा रुसी ग्यास किनून् भन्ने चाहेको बताएका थिए।

यो कदम रुसी मुद्राको मूल्य बढाउन चालिएको जस्तो बुझिएको छ। रुसी मुद्राको यसै वर्षभित्र २० प्रतिशत अवमूल्यन भइसकेको छ।

युक्रेनमाथि रुसी हमलापछि यूके, अमेरिका र युरोपेली सङ्घले लगाएका प्रतिबन्धहरूका कारण रुसी रुबलको मूल्य खस्केको छ भने त्यहाँ जीवनयापनको लागत बढेको छ।

यद्यपि अझै पनि रुस विश्वको ठूलो प्राकृतिक ग्यास निर्यातकर्ता हो र दोस्रो ठूलो तेल आपूर्तिकर्ता हो।

जाभाल्नी रुसको संसद्‌ अर्थात् स्टेट दुमाको ऊर्जा समितिका प्रमुख समेत हुन्।

उनले बिहीवार देशले इन्धन निर्यातबापत लिनुपर्ने भुक्तानीको वैकल्पिक बाटोको खोजी गरिरहेको बताएका थिए।

उनले चीन र टर्की "मित्रराष्ट्र" भएको बताएका छन्। ती देशहरू "प्रतिबन्धका दबावमा संलग्न" छैनन्।

"हामीले लामो समयदेखि चीनलाई त्यस्तो भुक्तानी राष्ट्रिय मुद्राहरू रुबल र युआनमा रूपान्तरण गर्न प्रस्ताव गर्दै आएका छौँ," उनले भने, "टर्कीसँग यो लिरा र रुबल हुनेछ।"

उनले थप व्याख्या गर्दै भने, "तपाईँहरू बिटकोइनमा पनि कारोबार गर्न सक्नुहुनेछ।"

'थप जोखिम'

जोखिम हुँदाहुँदै पनि लोकप्रिय क्रिप्टोकरेन्सी स्वीकार्दा रुसले लाभ उठाउन सक्ने विश्लेषकहरू बताउँछन्।

"अभूतपूर्व प्रतिबन्धका प्रभावहरूको रुसले चाँडै नै अनुभव गरिरहेको छ," सिङ्गापुरको एनर्जी स्टडी इन्स्टिट्यूटका रिसर्च फेलो डेभिड ब्रोडस्टकले भने।

"विभिन्न उपायद्वारा अर्थतन्त्रलाई टेको लगाउनु आवश्यक छ र बिटकोइनलाई उच्च वृद्धि हुने सम्पत्तिका रूपमा हेरिन्छ।"

यद्यपि उनले यस वर्ष बिटकोइन ३० प्रतिशतले तलमाथि भएको देखेका छन्।

यस अवधिमा युरोविरुद्ध डलरको कारोबार पाँच प्रतिशतमा सीमित भएको थियो।

"अन्य परम्परागत मुद्राको तुलनामा प्राकृतिक ग्यासको कारोबारमा बिटकोइन स्वीकार्दा स्पष्ट रूपमै त्यसमा बढी जोखिम हुन्छ," ब्रोडस्टक भन्छन्।

"अर्को कुरा रुसको मुख्य मित्रराष्ट्र चीन हो र चीनमा क्रिप्टोकरेन्सी प्रतिबन्धित छ, त्यसले बिटकोइन प्रयोगले भुक्तानीको सम्भावनालाई सीमित पार्छ।"

रुसी सत्तानिकट रहेका धनाढ्यहरूले प्रतिबन्धहरू छल्न "भर्चूअल करेन्सी" प्रयोग गर्ने सक्ने चिन्ताहरू पनि व्यक्त भइरहेका छन्।

त्यसैले युक्रेन सरकारका साथसाथै अमेरिकी र युरोपेली राजनीतिज्ञहरूले सबै रुसी प्रयोगकर्ताहरूलाई क्रिप्टोकरेन्सी प्रयोगमा प्रतिबन्ध लगाउन भनिरहेका छन्।

तर धेरै कम्पनीहरूले त्यसलाई अस्वीकार गरेका छन्।

"उनीहरूको मुद्रा ध्वस्त भएकाले केही सामान्य रुसीहरूले क्रिप्टोलाई बाँच्ने आधारका रूपमा प्रयोग गरिरहेका छन्," क्रिप्टोकरेन्सी कम्पनी कोइनबेसका प्रमुख कार्यकारी ब्रायन आर्मस्ट्रङले भने।

"उनीहरूमध्ये कतिपय आफ्नो देशले जे गरिरहेको छ त्यसको विपक्षमा हुनसक्छन् र प्रतिबन्धले उनीहरूलाई पनि असर पार्छ।"

बुधवार पुटिनले "मैत्रीपूर्ण सम्बन्ध नभएका" देशहरूले रुबलमा भुक्तानी गर्नुपर्ने बताएपछि उक्त मुद्राको दर तीन साताकै उच्च भयो।

यद्यपि हालका अधिकांश ग्यास सम्झौताहरू युरोमा आधारित छन् र त्यसलाई रुसले परिवर्तन गर्छ कि गर्दैन भन्ने स्पष्ट छैन।

युरोपेली ग्यास मागको ४० प्रतिशत रुसबाट आपूर्ति हुने गर्छ।

यो पनि हेर्नुहोस्