साइबर सुरक्षा: हराएका अर्बौँ बिटकोइन खोजिरहेका ह्याकरहरू

अमेरिकी न्याय मन्त्रालयका अधिकारीहरूले अहिलेसम्मको सबैभन्दा ठूलो मात्रामा चोरिएका बिटकोइन बरामद गरिएको बताएका छन्।

यो साताको सुरुमा उनीहरूले चार अर्ब अमेरिकी डलर बराबरको सन् २०१६ मा एक ह्याकरले चोरेको बिटकोइन बरामद गरेका हुन्।

ती ह्याकरले त्यो बेला एक लाख २० हजार बिटकोइन चोरेका थिए जसको मूल्य त्यति बेला सात करोड १० लाख डलर थियो। अहिले त्यसको मूल्य पाँच अर्ब डलरभन्दा धेरै हुन्छ।

तीमध्ये ९४ हजार बिटकोइन बरामद गरिएको छ।

हराएका वा पासवर्ड बिर्सिएर मानिसहरूले प्राप्त गर्न नसकेका बिटकोइन अर्बौँ मूल्यका छन्।

अहिले आफ्नो बिटकोइन प्राप्त गर्न मानिसहरूलाई सघाउने व्यावसायिक सेवाहरू दिने कम्पनीहरू पनि छन्।

रोन्डा काम्पर्टले सन् २०१३ मा एउटाको ८० अमेरिकी डलर मूल्यमा छ वटा बिटकोइन किनेकी थिइन्।

"मैले रेडिओका छलफल सुन्थेँ र त्यहाँ उनीहरूले गर्ने क्रिप्टो र बीटका कुराले मलाई आकर्षित गर्‍यो," उनले भनिन्।

"त्यो बेलामा किन्ने काम निकै जटिल भए पनि मैले जसोतसो प्रक्रिया पुर्‍याएर किनिछाडेँ।"

अमेरिकी काम्पर्टले डिजिटल मुद्रा त्यसपछि केही वर्ष प्रयोग गरिन् र बिर्सिइन्।

तर उनले सन् २०१७ मा समाचारका मुख्य शीर्षकमा बिटकोइन मूल्य बढेर १३,००० डलर बराबर पुगेको देखिन्। र आफ्नो पैसा हेर्न कम्प्युटरमा बसिन्।

तर आफ्नो वालेटमा लगइन गर्नै सकिनन्।

काम्पर्टले भनिन्, "त्यस बेला मैले थाहा पाएँ कि मैले प्रिन्ट गरेर राखेको कागजमा पासवर्ड त थियो तर वालेट आइडी थिएन।"

"त्यो साह्रै पीडादायी अवस्था थियो। मैले महिनौँ प्रयास गरेँ तर केही काम लागेन।"

खजाना अन्वेषक

गएको सालको वसन्तयाममा बिटकोइनको मूल्य ५०,००० डलरभन्दा धेरै पुग्यो।

त्यो रकम उनले आठ वर्षअघि किनेको भन्दा झन्डै ६०० गुणा धेरै थियो। त्यसले उनलाई आफ्ना बिटकोइन खोज्न झन् उक्सायो।

त्यहाँ उनले क्रिप्टो खजाना खोज्ने बाबुछोरा क्रिस र चार्ली ब्रुक्सबारे थाहा पाइन्।

"उनीहरूसँग केही समय अनलाइनमा कुरा गरेपछि मैले सम्झे जति विवरण उनीहरूलाई बुझाउन सहमत भएँ। त्यसपछि मैले पर्खिएँ," उनले भनिन्।

"अन्ततः हामी एउटा भिडिओ कलमा बस्यौँ र जे-जे हुन्छ सबै हेर्‍यौँ। क्रिसले वालेट खोले। मैले निकै राहत महसुस गरेँ।"

उनको साढे तीन बिटकोइन त्यस बेला १,७५,००० अमेरिकी डलर बराबर पुगेको थियो।

"मैले क्रिस र चार्लीलाई २० प्रतिशत दिएँ र मैले त्यसबाट सुरुमै १०,००० डलर झिकेर मेरी छोरी मेगनलाई कलेज भर्ना हुन सघाएँ।"

हराएको अर्बौँ बिटकोइन

यस्तो सहायता चाहिने कैयौँ रोन्डाहरू छन्।

एउटा सुरक्षा कम्पनी चेनालिसिसले सुझाए अनुसार एक करोड ८९ लाख बिटकोइनमध्ये ३७ लाख जति त्यसका मालिकले हराएका छन्।

र क्रिप्टोकरेन्सीको संसारमा यदि तपाईँले वालेटको लगइन बिर्सनभयो भने कसैसँग पनि त्यसको स्वामित्व हुँदैन।

क्रिस र चार्लीको अनुमानमा उनीहरूको जस्तो सेवामा कम्प्युटरहरूले लाखौँ सम्भावित लगइन आइडी र पासवर्ड सिर्जना गर्नेमध्ये २.५ प्रतिशतमाथि मात्र प्राप्त गर्न सकिन्छ जुन झन्डै ३.९ अर्ब डलर बराबरको हुन आउँछ।

क्रिसले सन् २०१७ मा 'क्रिप्टो एसेट रिकभरी' व्यवसाय सुरु गरेका थिए तर त्यसको केही वर्षसम्म उनले अन्य काममा ध्यान केन्द्रित गरे।

छोरा चार्लीसँगको कुराकानीपश्चात् उक्त व्यवसाय उनले पुनः ब्युँताए।

''म कलेजको छुट्टीमा थिए र मैले केही समय यात्रा गरेर बिताएँ। तर म प्राय: घरमै हुन्थे र बुवासँग व्यवसायसम्बन्धी योजनाबारे छलफल गर्थे,'' २० वर्षका चार्लीले भने।

समुद्रनजिकै रहेको आफ्नो घरको काम गरिरहेका बाबुछोराले सन् २०२१ को नोभेम्बरमा बिटकोइनको मूल्य उच्च विन्दुमा पुगेका बेला सम्भावित ग्राहकहरूबाट दिनको १०० भन्दा बढी फोन अनि इमेल प्राप्त गरिरहेका थिए।

हाल बिटकोइनको मूल्य कम भएका कारण उनीहरूले पुरानै प्रस्तावहरूमा काम गरिरहेका छन्।

व्यवसाय यति राम्रोसँग चलिरहेको छ कि कम्प्युटर विज्ञानसम्बन्धी विश्वविद्यालय तहको अध्ययन पुरा गर्ने चार्लीको योजना छैन।

क्रिस र चार्लीले हालसम्म एक जना ग्राहकले मात्रै आफूसँग कति बिटकोइन थियो भन्ने कुराको कम मूल्याङ्कन गरेको बताउँछन्। त्यो बेला उनीहरूले हालसम्मकै सर्वाधिक २८०,००० डलर बराबर बिटकोइन खोज्न सहयोग गरेका थिए।

पछिल्लो वर्ष उनीहरूले ''सात अङ्क'' बराबरको (ठ्याक्कै अङ्क बताउन उनीहरूले चाहेनन्) बिटकोइन फिर्ता गराउन सहयोग गरेको बताउँछन्।

बाबु छोराको यो जोडी एथिकल ह्याकरको बढ्दो उद्योगका हिस्सा हुन् जसले हराएको क्रिप्टोकरेन्सी प्राप्त गर्न सहयोग गर्नका लागि आफ्नो सीपको प्रयोग गरिरहेका छन्।