भारतले सन् २०२२ भित्रै डिजिटल रुपैयाँ जारी गर्ने

भारतकी अर्थमन्त्रीले यसै वर्षभित्रै डिजिटल मुद्रालाई प्रयोगमा ल्याउने बताएकी छन्।

आफ्नो वार्षिक बजेट वक्तव्यमा निर्मला सीतारमणले डिजिटल सम्पत्तिहरूबाट हुने आयमा ३० प्रतिशत कर लगाउने पनि घोषणा गरिन्।

क्रिप्टोकरेन्सीको व्यापार वा सट्टापट्टा अनि नन फन्जिबल टोकन्स एनएफटी भनिने ब्लकचेनमा आधारित सम्पत्तिहरूमाथिको आयलाई देशको करको उच्च दायरमा त्यसले राख्नेछ।

भर्चुअल मुद्रा प्रयोगमा ल्याउने घोषणा गर्ने भारत पछिल्लो समयको सबैभन्दा ठूलो अर्थतन्त्र हो। चीनले डिजिटल युआनलाई परीक्षण गरिरहेको छ।

"केन्द्रीय ब्याङ्कबाट जारी गरिएको डिजिटल मुद्राले डिजिटल अर्थतन्त्रलाई ठूलो, एकदमै ठूलो टेवा दिन्छ," सीतारमणले मङ्गलवार भनिन्।

उनले डिजिटल मुद्राले थप प्रभावकारी र सस्तो मुद्रा व्यवस्थापन प्रणालीतर्फ देशलाई डोर्‍याउने पनि बताइन्।

किन भारतमा डिजिटल रुपैयाँ?

डिजिटल सम्पत्तिहरूको कारोबारको तह र परिमाणले त्यसबाट हुने नाफामा विशेष खालको कर लागु गर्नु वाञ्छनीय बनाएको उनले उल्लेख गरिन्।

डिजिटल सम्पत्तिका उपहारहरूमा पनि त्यस्तो कर लाग्नेछ र प्रापकहरूले लेभी तिर्नुपर्नेछ।

अरू सबै कर कारोबारको कर पहिलो स्रोतबाट नै कट्टी गरिनेछ।

वित्त मन्त्री सीतारमणले भारतको केन्द्रीय सरकारको बजेट सार्वजनिक गर्दा यी घोषणाहरू गरिएका हुन्।

बजेटमा पूर्वाधारमा खर्च बढाउने र सङ्घर्ष गरिरहेका साना व्यवसायलाई ऋणहरू उपलब्ध गराउने पनि वाचा गरिएको छ।

भारत एशियाको तेस्रो ठूलो अर्थतन्त्र हो। तर महामारीका कारण रोजगारीमा मन्दी र बढ्दो मूल्यवृद्धिले उसलाई गाँजिरहेको छ।

डिजिटल मुद्रा लागु गर्ने भारतको घोषणा देशमा ठूला दरका नोटहरूलाई देशको केन्द्रीय ब्याङ्कहरूले रद्द गरेको केही वर्षपछि आएको हो।

सन् २०१६ मा प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मा चार घण्टा उपलब्ध गराएर देशको आर्थिक प्रणालीबाट पाँच सय र एक हजार रुपियाँका नोट फिर्ता लिएका थिए।

के हो डिजिटल मुद्रा?

कुनै भौतिक स्वरूप नभएको मुद्रालाई सामान्यतया डिजिटल मुद्रा भनिन्छ।

डिजिटल मुद्राको विवरण ब्लकचेन जस्ता प्रणालीमार्फत इन्टरनेटमा जोडिएका धेरै कम्प्युटरमा राख्न पनि सकिन्छ वा जारी गर्ने ब्याङ्क वा निकायले आफ्नो सर्भरमा राख्न पनि सक्छ।

केन्द्रीय ब्याङ्कहरूले जारी गर्ने डिजिटल मुद्रालाई सेन्ट्रल ब्याङ्क डिजिटल करेन्सी सीबीडीसी भनिन्छ। 

भौतिक मुद्राका डिजिटल स्वरूप हुने सीबीडीसी भने क्रिप्टोकरेन्सी बिटकोइन जस्तो नभई केन्द्रीय ब्याङ्कले नियमन गर्ने मुद्रा हो।

डिजिटल रुपैयाँ भने भारतीय रुपैयाँको डिजिटल स्वरूप हो। 

प्रतिक्रिया के छ?

चीनले शीतकालीन ओलिम्पिक्सको पूर्वसन्ध्यामा डिजिटल युआनको परीक्षण गरिरहेको छ।

उसले क्रिप्टोकरेन्सीको कारोबार र माइनिङ भनिने निर्माण प्रक्रिया दुवैमा प्रतिबन्ध लगाएको छ।

यूकेमा पनि द ब्याङ्क अफ इङ्गल्यान्ड र ट्रेजरीले सम्भावित डिजिटल मुद्राबारेमा अध्ययन जारी राखेका छन्।

डिजिटल मुद्रा ल्याउने भारतको योजनाको क्रिप्टोकरेन्सी कारोबारीहरूले स्वागत गरेका छन्।

भारतको क्रिप्टोकरेन्सी एक्सचेन्ज कोइनडीसीएक्सका प्रमुख कार्यकारी तथा सहसंस्थापक सुमित गुप्ताले बीबीसीसँग कुरा गर्दै उक्त प्रयासले प्रविधिमा आधारित भर्चुअल सम्पत्तिहरूलाई वैधानिकता दिएको बताए।

उनले डिजिटल सम्पत्तिहरूमाथि कर लगाउनु बजारका लागि सही भए पनि करको दर एकदमै बढी रहेको प्रतिक्रिया दिए।

"अनुमानका आधारमा परिणाम आउने गतिविधि जस्तै चिट्ठा, जुवा र अरू खेल गतिविधिबाट प्राप्त हुने लाभमा ३० प्रतिशतको करको दर भनिएको छ। उक्त प्रस्तावित दरलाई सहजै स्वीकार्दै अघि बढ्न अप्ठेरो हुनसक्छ।"