'बिटकोइन': काजकस्तान कसरी 'क्रिप्टो माइनिङ'को अग्रपङ्क्तिमा पुग्यो

अघिल्लो वर्ष चीनले अकस्मात् 'क्रिप्टो करेन्सी' निर्माणको प्रक्रिया अर्थात् माइनिङमा प्रतिबन्ध लगाएपछि उक्त उद्योग द्रुत गतिमा छिमेकी कजाकस्तानमा सर्‍यो।

हाल उक्त मध्य एसियाली राष्ट्र वैकल्पिक डिजिटल मुद्रा भनेर चर्चित 'क्रिप्टो' उत्पादनको क्षेत्रमा दोस्रो स्थानमा छ।

तर अत्यधिक ऊर्जा चाहिने तथ्याङ्क केन्द्रहरूले कोइलाबाट सञ्चालित हुने ऊर्जा केन्द्रमाथि दबाब बढाइरहेका छन् र प्रदूषण र कार्बन उत्सर्जन बढाइरहेका छन्।

'बिटकोइन' उत्पादन हुने धुलाम्मे भवन वरपर हिँड्दा मोल्डिर सुभायेभा निर्माण इन्जिनिअर र मजदुर भन्दा फरक देखिन्छिन्।

३५ वर्षकी उनी आकर्षक पहिरनमा सजिएकी हुन्छिन् भने पहेँलो सिसा भएको चस्माबाट सामान बोक्ने कन्टेनर र लरीहरू भित्र सामान राख्न गरिएका वाइल्डिङ्हरू नियाल्छिन्।

मोल्डिर काजकस्तानकी नयाँ पुस्ताकी क्रिप्टो उद्यमी हुन् र उनले आल्माटि शहरमा रहेको आफ्नो 'बिट कोइन खानी' को हरेक पक्ष हेरिरहेकी छन्।

पुरुष प्रधान समाजमा उनी एक जना प्रमुख खेलाडी भएकी छन् जसले आफ्नो 'उद्योग'लाई विस्तार गरी देशकै ठूलो बनाएकोमा सम्मान पनि पाइरहेकी छन्।

"मैले जीवनका आफ्ना पछिल्ला चार वर्ष लगभग पूर्ण रूपमा काममा नै बिताए। कहिलेकाहीँ त म कार्यालयमा नै सुत्छु।'

मोल्डिर पाँच वर्ष अघि बिटकोइनमा आकर्षित भएकी थिइन् र उनले आफ्ना भाइसँग मिलेर घरमै बिटकोइन बनाउन थालिन्। पछि उनले ठूलो स्तरमा उत्पादन गर्दै ग्राहकहरूलाई भाडामा दिन सुरु गरेकी थिइन्।

उनले आफ्नो व्यापार साथै काजकस्तानको उद्योगको विस्तार विशेष गरी पछिल्लो वर्षमा एकदमै द्रुत रहेको बताइन्।

"मेरो बिहान बिटकोइनको मूल्यमा कति वृद्धि भयो त्यो हेरेर बित्छ। जब प्रति बिटकोइनको मूल्य ५० हजार पुगेको थियो त्यो ज्यादै रोमाञ्चक थियो।"

बिटकोइनको मूल्य नाटकीय रूपमा बढ्छ र घट्छ। सन् २०२० को मार्चमा ५,००० डलर रहेको बिटकोइनको मूल्य एक वर्षमै बढेर ६५ हजार पुग्यो।

त्यसयता यो उल्लेख्य रूपमा घटेर यो आलेख लेख्ने क्रममा करिब ३५ हजार डलर कायम भएको छ।

तर मोल्डिर र काजकस्तानका धेरैलाई क्रिप्टो माइनिङले उल्लेख्य रूपमा धनी बनाएको छ।

डिजिटल सुन

क्रिप्टो माइनिङ भनेको विभिन्न किसिमका क्रिप्टो मुद्राहरू जस्तै बिटकोइन, इथेरिअम र लाइटकोइनलाई बलियो बनाउने प्रक्रिया हो।

यो डिजिटल मुद्रा कुनै केन्द्रीय ब्याङ्क वा निकायमा राख्न मिल्दैन। त्यही भएर प्रत्येक कारोबार कम्प्युटरहरूको वृहत् सञ्जालले परीक्षण गर्छन्।

यससम्बन्धी गणनाहरू एकदमै जटिल हुन्छन् त्यही भएर त्यसका लागि उल्लेख्य कम्प्युटर शक्तिको आवश्यक पर्छ।

प्रोत्साहन स्वरूप, उक्त प्रणालीले त्यस्तो प्रयासमा योगदान दिने व्यक्तिहरूलाई बिटकोइनद्वारा पुरस्कृत गर्छ।

मोल्डिरको जस्तो व्यवसायका कारण काजकस्तान अमेरिकापछि बिटकोइन माइनिङमा दोस्रो बन्न सकेको छ। उक्त देशले बिटकोइनको विश्वव्यापी सञ्जाल सामर्थ्यको करिव १८ प्रतिशत योगदान गर्छ।

सन् २०१९ मा त्यहाँ उद्योगहरू स्थापना हुन थालेको थियो। काजकस्तानको सस्तो र पर्याप्त उपलब्ध हुने विद्युत् साथै क्रिप्टो मैत्री नीतिलाई त्यसको कारण मानिन्छ।

तर सन् २०२१ को गर्मीयाममा छिमेकी चीनले सम्पूर्ण क्रिप्टो माइनिङ गतिविधिमा अकस्मात् र अनपेक्षित प्रतिबन्ध लगाएपछि उक्त व्यापार द्रुत ढङ्गले उकालो लागेको थियो।

दशौँ हजार कम्प्युटर सहित कैयौँ कम्पनीहरू काजकस्तानमा भित्रिएका थिए।

पहिलेदेखि सञ्चालित सेवा प्रदायकहरू आफ्नो क्षमताले भ्याउनसक्ने काम गर्नुपर्ने अवस्थामा पुगेका थिए भने बजार वृद्धिले नयाँहरूलाई अवसर दिएको थियो।

काजकस्तानको मेगा माइन

आल्माटिबाट ८०० माइल परको हावा चल्ने सहर एकिबास्टुस पुग्दा त्यसको झल्को देख्न सकिन्छ।

त्यहाँ तपाईँले केही समय अघिसम्म विश्वको सबैभन्दा ठूलो क्रिप्टो माइन रहेको एन्जीक्स कम्पनीको संरचनाहरू देख्न सक्नुहुन्छ। त्यहाँ छिर्ने बित्तिकै तपाईँले अनुभव गर्ने भनेको चर्को आवाज हो।

हजारौँ शक्तिशाली कम्प्युटर भित्रका साना पङ्खाहरू पूर्ण क्षमताका साथ घुम्दा तीनले एक खालको आवाज निकाल्छन्।

त्यसको पर चिसो पार्ने ठूला ब्लेडहरू घुम्छन् जसले निरन्तर एउटै स्तरको आवाज निकालिरहन्छन्।

"मसिनहरूले काम गरिरहेको आवाजले मलाई रोमाञ्चित तुल्याउँछ किनभने यो पैसा, डिजिटल मुद्रा, को आवाज हो," हाँस्दै एउटा उद्योगका प्रमुख ३४ वर्षका येर्बोल्सिनले भने।

मोल्डिर जस्तै उनी पनि वर्षौँ अघि बिटकोइनमा आकर्षित भएका हुन् र उनले सानो स्वरूपबाट उद्योग थालेका हुन्।

केही कम्प्युटरबाट सुरु उनको व्यवसाय अहिले झन्डै ३०० मिलियन डलर बराबरको लागत र आठवटा ठूला माइनिङमा प्रयोग हुने मेटल ह्याङ्गर रहेको चौबिसै घण्टा र सातै दिन सञ्चालन हुने कम्पनीमा बदलिएको छ।

ती मसिनहरूलाई चलाइराख्न १ सय ५० जना मानिसहरू काम गरिरहेका छन् जसमा सुख्खा र मरुभूमि क्षेत्रमा बस्न र काम गर्न दर्जनौँ इन्जिनियरहरू निरन्तर १५ दिन कामका लागि आउँछन्।

आल्माटिमा बसेर सीसीटीभीका फिडहरूबाट आफ्ना कामदारहरूका गतिविधि येर्बोल्सिनले हेर्ने गर्छन्।

काजकस्तान क्रिप्टो करेन्सीका लागि महत्त्वपूर्ण भएकोमा आफूहरू गौरवान्वित भएको उनले बताए।

वातावरणीय मूल्य

तर देशको हालैको सफलतालाई लिएर सबै जना गौरवान्वित छैनन्। वातावरणीय अभियानकर्ताहरूले माइनिङमा प्रयोग हुने ऊर्जालाई लिएर निरन्तर क्रिप्टो करेन्सीको आलोचना गर्छन्।

क्याम्ब्रिज विश्वविद्यालयको बिटकोइन इलेक्ट्रिसिटि कन्जम्पशन इन्डेक्सले भनेको छ‍- बिटकोइनलाई चाहिने बिजुली दिन युक्रेन वा नर्वे जस्ता देशको पुरै भूभागलाई चाहिने भन्दा बढी ऊर्जा आवश्यक पर्छ।

त्यसमा कति नवीकरणीय ऊर्जा प्रयोग गर्ने गरिन्छ त्यो प्रस्ट छैन तर वातावरण विज्ञ डाना यर्कोल्योनोक काजकस्तानमा जम्मा दुई प्रतिशत ऊर्जामात्रै नवीकरणीय स्रोतबाट प्राप्त हुने बताउँछिन्।

"ताप वा विजुली उत्पादनका लागि यहाँ मुख्य रूपमा कोइलाको प्रयोग हुन्छ, " उनले भनिन्।

डाना कारागान्डा शहरमा बस्छिन् जुन देशको सबैभन्दा ठूलो कोइलाको श्रोत हो। उनले क्रिप्टो माइनिङबाट प्राप्त धनभन्दा त्यसका कारण भएको वातावरणीय क्षति ठूलो भएको बताइन्।

"प्रत्येक दिन जब म मेरो घरबाट बाहिर निस्कन्छु म प्रदुषण महसुस गर्न सक्छु। जाडोमा त्यहाँ हावा चल्दैन मसँगै जोडिएको छिमेकीको घर पनि देख्न सक्दिनँ। उनीहरूले नाफा कमाइरहँदा यस्तो हावामा सास किन फेर्नुपर्छ मैले बुझ्न सकेकी छैन।"

ऊर्जा आपूर्तिबारे चिन्ता

क्रिप्टो माइनिङले ऊर्जा सङ्कट निम्त्याउने चिन्ता व्यक्त हुने गरेका छन्।

सरकारले एक वर्षमा माइनिङका कारण देशभर बिजुलीको खपत सात देखि आठ प्रतिशतले बढेको जनाएको छ।

अहिले माइनिङमा खर्च भइरहेको बिद्युत् काजकस्तानको एउटा ठूलो शहरमा बिजुली आपूर्ति गरिरहन आवश्यक परिमाणको छ।

गएको नोभेम्बरमा बढ्दो मागसँग जुझ्न रुसबाट थप बिजुली आपूर्ति गरिएको थियो। आपूर्ति कम रहेका क्षेत्रमा माइनिङहरूमा बन्देजहरू लगाइएका थिए।

काजकस्तानका डिजिटल विकास सम्बन्धी उपमन्त्री आस्खात ओराजबेकले क्रिप्टो विस्तार द्रुत भएको र त्यसलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको बीबीसीसँग स्वीकार गरे।

"माइनिङमा हाल प्रयोग भइरहेका विद्युतबारे प्रश्नहरू छन्। सन् २०१९ मा हामीसँग माग भन्दा बढी बिजुली थियो तर अहिले हामी त्यो अवस्थाबारे कुरा गरिरहेका छैनौँ। काजकस्तानमा असीमित बिजुली छैन त्यही भएर हामीले निश्चित मात्रामा माइनिङ रोक्नुपर्छ।"

सन् २०२२ को ज्यानुअरीमा सरकारले माइनिङ उद्योगमाथि उसले खपत गर्ने बिजुलीलाई लिएर थप कर लगाएको छ। सरकारले थप आम्दानी नवीकरणीय ऊर्जा स्रोतमा प्रयोग गर्न सकिने अपेक्षा गरेको छ।

उपमन्त्री ओराजबेकका अनुसार सरकार क्रिप्टो माइनिङ गर्नेहरूलाई कोटा तोक्ने पक्षमा छ र हरित ऊर्जा पूर्वाधारको विकासमा लाग्नेछ।

चीन जस्ता कतिपय देशले जस्तो माइनिङ उद्योग बन्द गर्ने पक्षमा उक्त देश देखिँदैन।

ओराजबेकले क्रिप्टो माइनिङलाई एक प्रकारको प्रविधि क्रान्ति भनेका छन्।

अकस्मात इन्धनको मूल्य वृद्धि भएपछि यसै महिनाको सुरुमा देखा परेको हिंसात्मक प्रदर्शनसँग काजकस्तान जुझिरहेको छ।

उक्त घटनाको क्रिप्टो माइनिङसँग प्रत्यक्ष सम्बन्ध छैन तर त्यसले दुईवटा महत्त्वपूर्ण प्रश्न उठाएको छ।

पहिलो, ऊर्जा आपूर्ति जोखिममा पर्दा के हुनसक्छ। र दोस्रो, काजकस्तान क्रिप्टोको संसारका लागि कति महत्त्वपूर्ण बनेको छ।

काजक सरकारले इन्टरनेट पाँच दिन बन्द गरिदिँदा बिटकोइन नेटवर्क उल्लेख्य रूपमा सुस्त भयो र उसको मूल्य नै घट्न पुग्यो।

सरकार र त्यहाँको नयाँ उद्योगका लागि त्यही भएर अवस्था चुनौतीपूर्ण देखिन्छ।