बिटकोइन: मुद्राका रूपमा क्रिप्टोकरेन्सीलाई अपनाउँदै गर्दा एल् साल्भाडोरमा त्रास अनि उत्साह

बिटकोइनलाई आधिकारिक मुद्राका रूपमा मान्यता दिने पहिलो राष्ट्र बनेसँगै एल् साल्भाडोरमा क्रिप्टोकरेन्सीको अवसर र खतराबारे बहस सुरु भएको छ।

सो देशमा सम्भव रहेका स्थानका व्यवसायहरूले विवादास्पद डिजिटल मुद्रालाई भुक्तानीका रूपमा स्वीकार गर्नुपर्ने नियम लागु भएको छ। ‍

एल् साल्भाडोरमा लाखौँ सर्वसाधारणले नयाँ सरकारी डिजिटल वालेट एप डाउनलोड गर्ने अपेक्षा गरिएको छ जसले उनीहरूलाई ३० अमेरिकी डलर बराबरको बिटकोइन सित्तैमा उपलब्ध गराउने छ।

विश्वभरका बिटकोइन समर्थकहरूले ३० अमेरिकी डलर बराबरको उक्त डिजिटल मुद्रा खरिद गरेर अस्थिर भनिने गरेको मुद्रालाई बलियो बनाउन सहयोग गरिरहेका छन्।

बिटकोइनका कारण उत्साहित

२६ वर्षीय एक ट्याक्सी चालक ड्यानीयल हर्क्युलीस पछिल्लो सरकारी कदमका कारण आफू उत्साहित रहेको बताउँछन्।

तर आफ्नो आय कत्तिको स्थिर रहला भन्ने विषयबारे भने उनी चिन्तित छन्।

''यो लागु हुँदै छ भन्ने मलाई थाहा भएकाले पछिल्लो दुई महिनादेखि मैले बिटकोइन स्वीकार गरिरहेको छु," उनले भने।

"मेरो ट्याक्सीमा भर्खरै विमानस्थल पुगेका यात्रीले बिटकोइनमा ४० अमेरिकी डलर तिरे तर यस्तो कहिलेकाहीँ मात्रै हुन्छ। करिब १० प्रतिशत ग्राहकहरू मात्रै बिटकोइनमा भुक्तानी गर्न चाहन्छन्।'

उनको अनुसार बिटकोइनलाई स्थानीय मुद्रा अमेरिकी डलरमा साट्न १० प्रतिशत महँगो पर्छ जसकारण उनले आफ्नो बिटकोइन खातालाई बचत खाताका रूपमा प्रयोग गर्दै आएका छन्।

उनले आफ्नो वालेटलाई एक हजार डलर पुर्‍याउने आशा गरेका छन् तर डिजिटल मुद्रा अवमूल्यन हुन्छ कि भनेर उनी त्रसित पनि छन्।

बिटकोइनको उतारचढाव

गत वर्ष बिटकोइनको भाउमा नाटकीय उतारचढाव देखिएको थियो।

सन् २०२० को सेप्टेम्बर महिनामा प्रतिबिटकोइनको मूल्य १० हजार अमेरिकी डलर थियो।

सन् २०२१ को एप्रिलमा त्यो बढेर ६३ हजार डलरको उच्च विन्दुमा पुग्यो र यो वर्षको जुलाईमा झरेर ३० हजार डलरमा आयो।

पछिल्ला हप्ताहरूमा बिटकोइनको भाउ बढेर ५१ हजार डलर पुगेको छ।

केही विश्लेषकहरू यसको कारण एल् साल्भाडोर हुनसक्ने बताइरहेका छन्।

क्रिप्टोकरेन्सीको अनिश्चितता

तर सेन्ट्रल अमेरिकन युनिभर्सिटी यूसीएले गरेको एउटा सर्वेक्षणले १,२८१ जनालाई बिटकोइनबारे गरेको प्रश्नमा जम्मा ४.८ प्रतिशतले आफूलाई बिटकोइन के हो र यसको प्रयोग कसरी हुन्छ भन्ने बुझेको बताएको पाइएको छ।

प्रश्न गरिएका ६८ प्रतिशतभन्दा बढीले क्रिप्टोकरेन्सीलाई आधिकारिक रूपमा भुक्तानीका लागि प्रयोग गरिने विषयमा आफूहरूको सहमति नरहेको जनाए।

७० वर्षकी जीनेट सान्दोभल आफ्ना छोरासँग मिलेर घरायसी सामग्रीहरूलाई ग्राहकका घरदैलोसम्म पुर्याउछिन।

उनले आफू बिटकोइनमा संलग्न नहुने बताउँछिन्।

''म सधैँ परिवर्तनका लागि खुला रहेकी छु तर यस पटक भने म सहमत छैन। हाम्रा ग्राहकहरूले बिटकोइनमा भुक्तानी नगर्ने बताउँछन्।''

''हाम्रो देशमा धेरै मानिस निरक्षर छन् र केहीसँग मात्रै मोबाइल फोन छ। त्यो पनि नयाँ खाले होइन, पुरानो खाले। उनीहरूले यसको प्रयोग गर्ने छैनन्।''

''म अहिले नै एप डाउनलोड गर्दिन। तर कुनै न कुनै दिन मैले गर्नै पर्नै हुन्छ। उनीहरूले दिने ३० डलरमा मेरो रूचि छैन। मैले सधैँ पैसा कमाउन पसिना बगाएकी छु र त्यसै गर्न रूचाँउछु।''

बिटकोइनविरुद्ध प्रदर्शन

अमेरिकी डलरलाई बिटकोइनमा साट्ने सुविधा दिनका लागि देशैभर २०० भन्दा बढी नयाँ मसिनहरू जडान गरिँदै छ।

हालसालै राजधानी सान् साल्भाडोरमा भएको प्रदर्शनले सर्वसाधारणहरूमा यसप्रति विश्वास नरहेको देखिएको छ।

उनीहरूले पछिल्लो कदम सरकारको विवादास्पद शासनबाट ध्यान हटाउनका लागि चालेको रूपमा बुझेका छन्।

सरकारी नियन्त्रण

चीनलगायत विश्वका कैयौँ राष्ट्र नियमन बढाउँदै क्रिप्टोकरेन्सी अपनाउने विषयलाई अप्ठ्यारो बनाउने प्रयास गर्दैछन्।

तर एल् साल्भाडोरका पूर्वनिवासी हाल अमेरिका बस्दै आएका बिटकोइनका पारखी गेर्सोन मार्टीनेजले भने बिटकोइनलाई मान्यता दिने राष्ट्र एल् साल्भाडोर मात्रै नरहने बताउँछन्।