कोभिड: भारतमा दुई नयाँ खोप कोभोभ्याक्स र कोर्बेभ्याक्सलाई अनुमति

खोप

तस्बिर स्रोत, Getty Images

ओमिक्रोन भेरिअन्टका कारण कोभिड महामारीको तेस्रो लहरको त्रासबीच भारतले कोभिडका दुई नयाँ खोपलाई अनुमति दिएको छ।

सीरम इन्स्टिच्युट अफ इन्डियाद्वारा निर्मित कोभोभ्याक्स र बायोलोजिकल ईले बनाएको कोर्बेभ्याक्सलाई आपत्कालीन अवस्थामा नियन्त्रित प्रयोगका लागि अनुमति दिइएको हो।

यीसहित भारतले अहिलेसम्म आठवटा कोभिड खोपलाई अनुमति दिएको छ जसमध्ये तीन भारतमा निर्मित हुन्।

अहिलेसम्म भारतमा एक अर्ब ४० करोड मात्रा कोभिड खोप लगाइएको छ।

भारतीय सरकारले यो वर्षको अन्त्यसम्म सबै नागरिकलाई खोप दिइसक्ने लक्ष्य लिएको छ, तर त्यो लक्ष्य प्राप्ति सम्भव देखिएको छैन।

अहिलेसम्म ६२ प्रतिशत खोप लिनयोग्य नागरिकले मात्रै पूर्ण मात्रा खोप पाएका छन् भने ९० प्रतिशतभन्दा बढीले कम्तीमा एक मात्रा खोप पाएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदी स्वास्थ्यकर्मी र अग्रपङ्क्तिमा खटिएकाहरू एवं ६० वर्षभन्दा माथिका जोखिमपूर्ण स्वास्थ्य अवस्था रहेका व्यक्तिहरूलाई ज्यानुअरी १० देखि "सावधानी मात्रा" भन्दै बुस्टर मात्रा खोप दिइने बताएका छन्।

मोदीले ज्यानुअरी ३ देखि १५ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीलाई पनि खोप दिइने बताएका छन्।

अहिले भारतमा दैनिक पुष्टि भइरहेका सङ्क्रमण सङ्ख्या ६,००० को हाराहारीमा छन्, तर ओमिक्रोन सङ्क्रमण केही राज्यहरूमा बढिरहेका छन्।

अहिले त्यहाँ नयाँ भेरिअन्टका ६५३ सङ्क्रमण पुष्टि भएका छन्।

नयाँ अनुमति दिइएका खोपहरू बुस्टर मात्राका रूपमा लगाइन्छ कि पुरानै खोप लगाइन्छ भन्ने स्पष्ट छैन।

नयाँ खोपले कसरी काम गर्छ?

भारत खोप अभियान

तस्बिर स्रोत, Getty Images

कोर्बेभ्याक्स अमेरिकी कम्पनी डाइनाभ्याक्स र बेलर कलेज अफ मेडीसीनसँग मिलेर विकास गरिएको हो।

स्वास्थ्यमन्त्री मनसुख मन्दाभीयले कोरोनाभाइरसको स्पाइक प्रोटिनबाट निर्मित भारतीय खोप भएको बताएका छन्।

खोप लगाएपछि त्यसले शरीरमा रोगप्रतिरोधी क्षमतालाई सक्रिय बनाउँछ।

कोभोभ्याक्स चाहिँ नोभाभ्याक्सको स्थानीय नाम हो। यो कोभिशील्डको नाममा आस्ट्राजेनेका खोप बनाइरहेको सीरमले उत्पादन गर्छ।

कम्पनीका अनुसार यो खोप अमेरिकाको परीक्षणमा ९० प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको छ।

कोभ्याक्सिन

तस्बिर स्रोत, Getty Images

भारतले अहिलेसम्म अन्य छ खोपलाई अनुमति दिए पनि तीन प्रकारका खोप मात्रै प्रयोग गरिरहेको छ।

कोभिशील्ड, भारत बायोटेकको कोभ्याक्सिन र रुसी स्पुत्निक भी खोप प्रयोग गरे पनि ९० प्रतिशतभन्दा बढी खोप कोभिशील्ड प्रयोग गरेको तथ्याङ्क छ।

क्याडीला नामक भारतीय कम्पनीले बनाएको कोभिड विरुद्धको विश्वकै पहिलो डीएनए खोप जाईकोभ-डी खोपलाई पनि भारतले अनुमति दिएको छ। तर यो उपलब्ध छैन।

जोनसन एन्ड जोनसनको खोप र मोर्डना खोपलाई पनि भारतमा अनुमति दिइएको छ। ती दुवै खोप आयातका लागि दुई कम्पनीलाई अनुमति दिइएको भए पनि ती कहिले त्यहाँ उपलब्ध हुन्छन् स्पष्ट छैन।

भारतमा अन्य दुई खोप पनि परीक्षणको विभिन्न चरणमा रहेका छन्:

  • एचजीसीओ १९ भारतको पहिलो एमआरएनए खोप हो जुन पुणेस्थित जेनोभाले अमेरिकी एचडीटीसँग मिलेर विकास गरिरहेको छ।
  • भारत बायोटेकले नाकमा थोपा राख्ने खोप पनि विकास गरिरहेको छ।