नेपाल राजनीतिः 'राष्ट्रपतिलाई महाभियोग लगाउँदैनौँ, सहमति भएमा समय अगावै चुनाव'

प्रचण्ड

तस्बिर स्रोत, EPA

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले हालैका दिनमा विवादमा तानिएकी राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग लगाउने पक्षमा आफू नरहेको बताएका छन्।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गर्दै नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन आदेश दिएपछि उनले यस्तो बताएका हुन्।

यसअघि माओवादी सहितको नेपाली कांग्रेस, माधव नेपाल र उपेन्द्र यादव पक्ष सम्मिलित गठबन्धनले संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गत ओली नेतृत्वको सरकार गठन र प्रतिनिधिसभा विघटनमा राष्ट्रपतिको भूमिकामाथि गम्भीर प्रश्नहरू उठाएको थियो।

बीबीसीसँग कुरा गर्दै प्रचण्डले बताएका कुराहरू यस्ता छन्:

राष्ट्रपतिको भविष्यबारे

राष्ट्रपतिले संविधानविपरीत काम गरेको भन्दै आलोचना गर्दा आएका अध्यक्ष प्रचण्डले यही विषयलाई लिएर राष्ट्रपतिलाई महाअभियोग लगाउने बारेमा कुनै सोच नभएको बताएका छन्।

उनले भने "त्रुटि भएको ठाउँमा आलोचना गर्दै आएका छौँ। संविधानविपरीत काम भयो भन्ने सबैले भने यसलाई उहाँले महसुस गर्नुभयो वा भएन त्यो उहाँको कुरा भयो। तर अहिले हामीले महाअभियोग भन्ने विषयमा कुनै सोच र कुनै छलफल नै गरेका छैनौँ।"

भावी सरकार

शेरबहादुर देउवाको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रयास हुने र त्यो सम्भव नभए कम्तीमा हाल विपक्षी गठबन्धनमा भएको पाँचवटै दल सहभागी सरकारले बन्ने उनको भनाइ छ।

शीर्ष नेता

तस्बिर स्रोत, COMPOSITE PHOTO / RSS

एमालेका वास्तविक नेता माधव नेपाल नै भएको र "एमालेका साथीहरुले पनि त्यो कुरा बुझ्नुहुन्छ र माधव नेपाललाई नै नेतृत्व स्वीकार गर्नुहुन्छ" र उहाँ समेत सहभागी हुने उनले बताए।

केपी ओली समूह सहितको राष्ट्रिय सरकार बन्ने सम्भावना पनि रहेको र यो पटक सबैका बीचमा राम्रो समझदारी बनोस् भन्ने आफ्नो चाहना रहेको प्रचण्डको भनाइ छ।

शेरबहादुर देउवा नियुक्त भएर शपथ लिने बेलामा गठबन्धनमा रहेका सबै दलको प्रतिनिधित्व हुने उनले बताएका छन्।

चुनाव कहिले हुन्छ?

उनले भने, "वैशाख/जेठमा निर्वाचन गर्ने विषयमा चर्चा हुँदै आएको यहाँहरूलाई थाहा भएको कुरा हो। आज पाँच दलको बैठक बस्दैछ, त्यसमा छलफल गर्छौँ। तर वर्तमान प्रतिनिधिसभाको कार्यकाल धेरै समय नभएकाले पूरै कार्यकाल सरकार चलाउने केही राम्रा काम गर्ने अनि नियमित बेलामै चुनाव गर्नुपर्ने पक्षमा म छु।"

कोभिड-१९ को समस्या छ खोप सबै जनतालाई दिनुपर्ने छ। आर्थिक विकासका केही सकारात्मक सङ्केत आउन भन्ने जनचाहना छ। बाँकी समयमा जनभावनाअनुसार राष्ट्रको आवश्यकताअनुसार केही राम्रो काम गरेर चुनावमा गर्नु उचित हो भन्ने मलाई लाग्छ।