कोभिड नेपालः थप नौ हजारभन्दा बढीमा सङ्क्रमण, १३९ जनाको मृत्यु पुष्टि

नेपालमा गत २४ घण्टामा थप ९,२७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै मन्त्रालयले थप १३९ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको सोमवार पुष्टि गरेको छ।

पीसीआर विधि र एन्टिजन विधिबाट १८,४११ जनाको परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।

चौबीस घण्टाको अवधिमा ४,००७ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

अहिले देशभरि ९३,१४१ भन्दा बढी मानिसमा सक्रिय सङ्क्रमण छ।

तीमध्ये काठमाण्डू उपत्यकाका तीन जिल्लामा हुनेको सङ्ख्या सर्वाधिक भएको सरकारको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा केही सातादेखि परीक्षण गर्न गएका मानिसमा सङ्क्रमण पुष्टि हुने दर उच्च भएको देखिन्छ।

सङ्क्रमितहरू विभिन्न उमेर समूहका भए पनि २० वर्षदेखि ४९ वर्षसम्मका मानिसको सङ्ख्या सर्वाधिक छ।

अहिले कोरोनाभाइरसबाट प्रभावित विभिन्न जिल्लामा निषेधाज्ञा वा अन्य प्रतिबन्धात्मक आदेशहरू जारी गरिएको छ।

निषेधाज्ञा १५ दिन थप्न सिफारिस

काठमाण्डू उपत्यकामा अझ १५ दिन निषेधाज्ञा थप गर्न जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीले सोमवार सिफारिस गरेको काठमाण्डू जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन्।

डीसीसीएमसीमा काठमाण्डू उपत्यकाका नगरपालिकाका प्रमुख र तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी समाविष्ट छन्।

कोरोनाभाइरस सङ्क्रमण फैलिने गति तीव्र हुँदै गएपछि गत वैशाख १६ गते एक हप्ताका लागि निषेधाज्ञा लगाइएको थियो।

पराजुलीका अनुसार डीसीसीएमसीको सिफारिसबारे तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निर्णय गर्नेछ।

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।