तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड नेपालः थप ८६ सय जनामा कोरोना भाइरस सङ्क्रमण, ५८ जनाको मृत्यु
नेपालमा गत २४ घण्टामा थप ८,६०० जनाभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
तीमध्ये काठमाण्डू उपत्यकामा फेला परेका सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ।
मन्त्रालयका अनुसार उसले सो अवधिमा थप ५८ जनाको कोभिड-१९ सम्बन्धी कारणले मृत्यु भएको विवरण प्राप्त गरेको छ।
यो अहिलेसम्म पुष्टि भएको सर्वाधिक दैनिक वृद्धि र मृत्युको सङ्ख्या हो।
अहिले पुष्टि भएका सङ्क्रमितहरू पीसीआर विधिसहित एन्टिजन विधिबाट परीक्षण गर्दा पहिचान भएका हुन्।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा
सरकारले मङ्गलवार ७,६६० जनामा सङ्क्रमण र ५५ जनाको मृत्यु र सोमवार ७,४४८ जनामा सङ्क्रमण र ३७ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको थियो।
अहिलेको वृद्धिसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६६,३०० नाघेको छ।
तीमध्ये ४,४६४ जना संस्थागत आइसोलेशनमा र बाँकी ६१,५०० जनाजति घरममै आइसोलेशनमा बसेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
सङ्क्रमण पुष्टि हुने दर उच्च
मन्त्रालयले गरेको ब्रीफिङमा बोल्दै डा. गौतमले सोमवारयता नेपालमा ५३,५४५ वटा परीक्षण गर्दा २३,७१३ मा सङ्क्रमण पुष्टि भएको बताए। यसले सङ्क्रमण पुष्टि हुने दर उच्च भएको देखाउँछ।
उनका अनुसार सो अवधिमा ५,७८९ जना सङ्क्रमणमुक्त भएका छन्।
सरकारको तथ्याङ्कअनुसार बुधवार अपराह्णसम्म देशभरि ६६,३५२ जना पुष्टि भएका सक्रिय सङ्क्रमित छन्।
विगत २४ घण्टा पीसीआर विधिबाट २०,७५६ नमुनाको र एन्टिजन विधिबाट ६१६ जनाको परीक्षण गरिएकोमा क्रमशः ८,६०५ र ५४ गरी कुल ८,६५९ जनामा कोभिड-१९ पुष्टि भएको डा. गौतमले बताए।
युवामा उच्च सङ्क्रमण दर
मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा अहिले पुष्टि भएका सङ्क्रमितहरू विभिन्न उमेर समूहका देखिन्छन्।
त्यसमध्ये २० वर्षदेखि ४९ वर्षसम्मका मानिसको सङ्ख्या ५,७०७ अर्थात् झन्डै ६६ प्रतिशत छ।
काठमाण्डूमा धेरै सक्रिय सङ्क्रमित
मन्त्रालयका अनुसार अहिले काठमाण्डू उपत्यकामा तीन जिल्लामा कुल ३०,००० जनाभन्दा केही बढी पुष्टि भएका सक्रिय सङ्क्रमित छन्।
- काठमाण्डूः २२,८०८
- भक्तपुरः २,७४७
- ललितपुरः ४,६००
उपत्यकामा भएका सक्रिय सङ्क्रमितको सङ्ख्या देशभरि भएका सङ्क्रमितको कुल सङ्ख्याको ४५ प्रतिशतभन्दा बढी हो।
राजधानी उपत्यकामा अहिलेसम्म १,१९४ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको सरकारी तथ्याङ्क छ।
- काठमाण्डूः ८०३
- भक्तपुरः १६५
- ललितपुरः २२६
यो देशभरि कोभिड-१९ का कारण मृत्यु हुनेको कुल सङ्ख्याको एकतिहाइ हो।