कोभिड-१९ खोपः नेपालको खोप अभियानबारे अहिलेसम्म हामीलाई के थाहा छ

तस्बिर स्रोत, Surya thapa facebook
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा खोप लगाएर दोस्रो चरणको कोभिड-१९ खोप अभियान शुभारम्भ गरेका छन्।
यो चरणमा १५ हिमाली जिल्लाका ५५ वर्षभन्दा माथि र बाँकी जिल्लाका ६५ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए।
मन्त्रालयका अनुसार दोस्रो चरणको अभियानका लागि ६ हजार खोप केन्द्र स्थापना गरिएको छ।
दोस्रो चरणको खोप अभियान पहिलो चरणको भन्दा लामो हुने अधिकारीहरूले बताएका छन्।
पहिलो चरणमा स्वास्थ्यकर्मी एवम् कोरोनाभाइरस उपचार तथा व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिएका मानिसहरूलाई खोप लगाइएको थियो।
भारत सरकारले दश लाख मात्रा कोभिशिल्ड अनुदानमा दिएपछि माघ १४ गतेदेखि नेपालमा खोप अभियान शुरू भएको थियो।

तस्बिर स्रोत, RSS
अक्सफर्ड आस्ट्राजेनेकाद्वारा विकास गरिएको कोभिशील्ड भारतको पुनेस्थित सीरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको हो।
सीरम इन्स्टिट्युटबाटै नेपाल सरकारले कोभिड-१९ खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ र केही साताभित्रै खोप आइपुग्ने अधिकारीहरूले बताएका छन्।
उत्तरी छिमेली मुलुक चीनले पनि अनुदान स्वरूप नेपाललाई कोभिड-१९ खोपको आठ लाख मात्रा उपलब्ध गराउने घोषणा गरिसकेको छ।
कोभ्यासअन्तर्गत पहिलो खेप आइतवार
कोभ्याक्स अभियानअन्तर्गत नेपालले कोभिड-१९ खोपको तीन लाख ४८ हजार मात्रा आइतवार प्राप्त गरेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारीले बताएका छन्।
नेपालले दोस्रो चरणको खोप अभियान शुरू गरेकै दिन कोभ्याक्स अभियानअन्तर्गत खोप पाएको हो।
सहप्रवक्ता अधिकारीका अनुसार कोभ्याक्स अभियानले नेपाललाई कोभिड-१९ खोपको एक करोड ३० लाख मात्रा उपलब्ध गराउने वाचा गरेको छ।
"चरणबद्ध रूपमा नेपालले कोभ्याक्समार्फत् खोपको मात्रा प्राप्त गर्नेछ," उनले थपे।

तस्बिर स्रोत, EPA
के हो कोभ्याक्स?
सन् २०२० को एप्रिलमा घोषणा भएको कोभ्याक्स विश्व स्वास्थ्य सङ्गठन र खोपसम्बन्धी पैरवी गर्ने दुईवटा समूहले नेतृत्व गरेको विश्वव्यापी अभियान हो।
अभियानले विश्वका १८० भन्दा बढी देशमा खोपको पहुँच पुर्याउने लक्ष्य लिएको छ।
कोभ्याक्सले सन् २०२१ को अन्त्यसम्ममा संसारभरि दुई अर्ब खोपको मात्रा वितरण गरिसक्ने अपेक्षा गरेको छ।
त्यसमध्ये १ दशमलब ३ अर्ब खोप अभियानमा संलग्न ९२ गरीब देशका करिब २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने गरी उपलब्ध गराइनेछ।









