कोभ्याक्स: कोभिड खोप गरिब देशलाई पनि उपलब्ध गराउन यस्तो छ योजना

साइनोभ्याक

तस्बिर स्रोत, Reuters

द्रुत गतिमा विकास गरिएको कोभिड-१९ विरुद्धको खोप वैज्ञानिक प्रगतिको क्षेत्रमा विशिष्ट उपलब्धि थियो।

तर धनी देशहरूले खोपमा नियन्त्रण गर्ने र विपन्न देशहरू पछि पर्ने चिन्ताहरू व्यक्त भएका छन्।

कोभ्याक्स नाम गरेको एउटा महत्त्वाकाङ्क्षी अन्तर्राष्ट्रिय अभियानले खोपहरू धनी वा गरिब सबैलाई समान ढङ्गले वितरण गर्ने लक्ष्य लिएको छ।

कोभ्याक्स के हो?

एप्रिल २०२० मा घोषणा भएको कोभ्याक्स विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र खोपबारे पैरवी गर्ने दुई वटा समूहले नेतृत्व गरिरहेको विश्वव्यापी अभियान हो।

यसले खोपको विकास, विक्री र १८० भन्दा बढी देशमा पहुँच पुर्‍याउने लक्ष्य लिएको छ।

अहिलेको असमानतालाई चित्रण गर्दै डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले तीन करोड ९० लाख मात्राभन्दा बढी खोप उच्च आय भएका कम्तीमा ४९ देशमा दिइसकिएको बताए।

उनले कम आय भएको एउटा देशमा २५ वटा मात्रै खोप दिइएको जनाएका थिए।

नर्स

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अहिले खोपका लागि स्वास्थ्य

अहिलेसम्म कति प्रगति भएको छ?

यो अभियानअन्तर्गत फेब्रुअरी महिनाबाट खोप वितरण गर्न थालिने अपेक्षा गरिएको छ। त्यसरी बाँडिने अधिकांश खोपको भाग गरिब र मध्यम आय भएका देशमा पुग्नेछ।

कोभ्याक्सले सन् २०२१ को अन्त्यसम्ममा संसारभरि दुई अर्ब मात्रा खोप वितरण गरिसक्ने अपेक्षा राखेका छ।

त्यसमध्ये एक अर्ब ३० करोड मात्रा खोप अभियानमा संलग्न रहेका ९२ गरिब देशका लगभग २० प्रतिशत जनसङ्ख्यालाई पुग्नेगरी उपलब्ध गराइनेछ।

तर कोभ्याक्सले काम द्रुत गतिमा काम गर्न नसकेको भनेर आलोचना पनि भएको छ।

डब्ल्यूएचओका एक बोर्ड सदस्य अस्ट्रियाका डा. क्लीमीन्स मार्टिन आवरले खोप सुनिश्चित हुनेगरी सम्झौता गर्न र देशहरूसम्म खोपको पहुँच पुर्‍याउन कोभ्याक्सले ढिला गरिरहेको बताए।

खोप

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, केही खोपलाई निकै चिसो तापक्रममा राख्नुपर्छ

के कोभ्याक्सले महामारी समाप्त गर्न मद्दत गर्छ?

यदि कोभ्याक्सको लक्ष्य पूरा भयो भने पनि महामारी नियन्त्रणको लागि आवश्यक पर्ने प्रतिरोध क्षमता हासिल गर्न पर्याप्त नहुने विज्ञहरू बताउँछन्।

डब्ल्यूएचओले विश्वको जनसङ्ख्याको ७० प्रतिशतले खोप लगाइसकेपछि मात्रै कोभिड-१९ रोक्ने किसिमको प्रतिरोध क्षमता बन्न सक्ने जनाएको छ।

प्रत्येक वर्ष दुई अर्ब मात्रा खोपको हिसाब गर्दा विश्वको अनुमानित ७.८ अर्ब जनसङ्ख्यालाई खोप लगाउन वर्षौँ लाग्न सक्छ।

तर दुई अर्ब खोपको मात्राले स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिक र जोखिममा रहेका अरू समुदायलाई केही सुरक्षा दिन सक्छ।

खोप

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कोभ्याक्सले फेब्रुअरीदेखि खोप वितरण गर्ने अपेक्षा राखेको छ

देशहरूले कति खोप दान गरेका छन्?

संयुक्त अधिराज्यले ७३.४ करोड अमेरिकी डलर उपलब्ध गराउने वाचा गरेको छ। रुस र संयुक्त राज्य अमेरिकाले कुनै योगदान दिएका छैनन्।

यद्यपि अमेरिका नयाँ राष्ट्रपति जो बाइडेनको सरकारले उक्त अभियानमा आफू आबद्ध हुने उल्लेख गरेको छ।

तर अमेरिका र अरू धनी देशलाई कोभ्याक्समा आबद्ध भए पनि आफ्ना लागि खोप थुपारेको आरोप लागेको छ।

ड्यूक विश्वविद्यालयको ग्लोबल हेल्थ इन्स्टिट्यूटले गरेको अध्ययनले मध्य ज्यानुअरीसम्म गरेको अध्ययनले विश्वको जनसङ्ख्याको १६ प्रतिशत ओगट्ने धनी देशहरूको सानो समूहले विश्वव्यापी खोपको ६० प्रतिशत खरिद गरेको पाएको थियो।

बाँकी विश्व त्यसमा पनि विशेषतः कमजोर आय भएका देशहरूका लागि कोरोनाभाइरसबाट उम्किने एउटै बाटो कोभ्याक्स हुन सक्छ।

अहिलेसम्म कोभ्याक्सले २.४ अर्ब डलर जुटाएको छ र उसले सन् २०२१ को खोपको आफ्नो लक्ष्य पूरा गर्न कम्तीमा थप ४.६ अर्ब डलर अपर्याप्त हुने बताएको छ।

हङ्गेरी

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, धनी देशहरूमा खोप अभियान सुरु भइसकेको छ

कोभ्याक्सले कस्तो खोप सम्झौता गरेको छ?

कोभ्याक्सले अहिलेसम्म फाइजर-बायोएन्टेक र अक्सफर्ड-एस्ट्राजेनेकासँग खोप किन्ने सम्झौता गरेको जनाएको छ।

प्रयोगका लागि अनुमोदन नभइसकेका कतिपय खोपसँग पनि सम्झौता गरिएको भनिएको छ।

फाइजर-बायोएन्टेकको चार करोड खोप मात्रा खरिद गर्ने सम्झौता केही समयअघि भएको थियो।

डब्ल्यूएचओको नियामक निकायले उक्त खोपलाई अनुमोदन गरेसँगै त्यसलाई वितरण गर्न बाटो खुलेको छ।

कोभ्याक्स

कोभ्याक्सको महत्त्व कस्तो छ?

कोरोनाभाइरस महामारीले विश्वभरि मानिसहरूको जीवनयापन कष्टकर बनाउनुका साथै कैयौँ देशमा लकडाउन लगाउने स्थिति उत्पन्न गराइदिएको थियो।

विश्वभरि कोरोनाभाइरसका कारण २१ लाख भन्दा बढी मानिसले ज्यान गुमाएका छन्।

विश्वको जनसङ्ख्याको बहुसङ्ख्यक भागलाई भाइरसबाट सुरक्षित नबनाएसम्म जनजीवन साधारण अवस्थामा फर्किने सम्भावना देखिँदैन।

स्वास्थ्यविज्ञहरूले खोप समाधान भएको बताइरहेका छन्।

साथै त्यसलाई सबै देशको पहुँचमा पुर्‍याएर महामारी नियन्त्रणका लागि समन्वय गरिनुपर्नेमा जोड दिएका छन्।