कोरोना भाइरस खोप: नेपालको प्रारम्भिक आवश्यकता 'भारतबाट पूर्ति गराउन पहल'

राजदूत आचार्य र प्रकाश सिंह

तस्बिर स्रोत, Nepal Embassy

तस्बिरको क्याप्शन, यो साता दिल्लीस्थित नेपाली दूतावासमा आचार्यले सेरम इन्स्टिच्यूटका वरिष्ठ अधिकारी प्रकाश सिंहसँग कुराकानी गरेका थिए

भारतमा कोरोनाभाइरस खोपको परीक्षण र उत्पादन अन्तिम चरणमा प्रवेश गरेको खबर आएको छ। अबको एक महिनामा त्यहाँ कोभिड खोपको प्रयोग सुरु हुनसक्ने भारतीय स्वास्थ्यमन्त्रीले बताएका छन्।

त्यसैले नेपालले पनि आफ्नो प्रारम्भिक आवश्यकता भारतबाटै पूर्ति गराउने पहल भइरहेको दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले बीबीसीलाई बताएका छन्।

नेपालले खोप हासिल गर्ने पहलका क्रममा दिल्लीस्थित दूतावासले त्यहाँका खोप निर्माता तथा सरकारी अधिकारीहरूसँग थालेको संवाद आशलाग्दो रहेको राजदूत आचार्यले बताएका छन्।

पश्चिमी देशहरूमा कोरोनाभाइरस विरुद्ध बनेका खोपहरूको प्रयोग हुन थालिसकेको बेला नेपालमा त्यसको आपूर्ति कहिले र कताबाट होला भन्ने जिज्ञासा बढिरहेको छ।

यसै मेसोमा यही साता भारतको खोप निर्माता कम्पनी सेरम इन्स्टिच्यूटका वरिष्ठ अधिकारी तथा भारतको नीति आयोगका प्रमुखसँग राजदूत नीलाम्बर आचार्यले कुराकानी गरेका थिए।

यूकेको अक्सफर्ड यूनिभर्सिटीले एस्ट्राजेनेका औषधि कम्पनीसँग मिलेर विकास गरेको खोप सेरम इन्स्टिच्युटले बनाउँदैछ। उक्त खोपको प्रभावकारिता ७० देखि ९० प्रतिशत हुने बताइएको छ।

पुनेस्थित सेरम इन्स्टिच्यूट अफ इन्डियाको प्रयोगशालामा एस्ट्राजेनेकाको कोभिशील्ड खोप राख्ने सिसी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, पुनेस्थित सेरम इन्स्टिच्यूट अफ इन्डियाको प्रयोगशालामा एस्ट्राजेनेकाको कोभिशील्ड खोप राख्ने सिसी निकाल्दै एक कर्मचारी

"सेरम इन्स्टिच्यूटको क्षमता निकै ठूलो छ। नेपालको आवश्यकता पनि उसले सम्बोधन गर्न सक्छ," राजदूत आचार्यले भने।

उनका अनुसार भारतले आफ्नो आवश्यकताको निम्ति उत्पादन गर्ने जति खोप हुन्छ त्यसमा नेपालको आवश्यकता पनि थपे उत्पादन गर्ने कम्पनीलाई भन्न नेपाल पनि लाभान्वित हुनसक्छ।

"यही सन्दर्भमा सेरम इन्स्टिच्यूटसँग हाम्रो वार्ता भइरहेको छ। (सेरमका अतिरिक्त निर्देशक प्रकाश सिंह) सोमवार दूतावासमा आउनुभएको थियो। वहाँसँगको वार्ता आशादायी रह्यो," उनले भने।

भारतबाट कति परिमाणका खोप आउला?

गत महिना नेपाल भ्रमणमा आएका बेला भारतीय विदेशसचिव हर्ष शृंगलाले नेपालको खोप आवश्यकता भारतको प्राथमिकतामा रहने बताएका थिए।

बिहीवार राजदूत आचार्यले भारतको नीति आयोगका प्रमुख कार्यकारी अमिताभ कान्तसँग कोभिडविरुद्धको खोपको उत्पादन तथा उपलब्धताबारे कुराकानी गरेका थिए।

कान्तले पनि भारतको खोप सहयोगमा नेपाल प्राथमिकतामा पर्ने बताएको दूतावासले उल्लेख गरेको छ।

राजदूत आचार्यका अनुसार नेपालले सुरुमा आफ्नो जनसङ्ख्याको २० प्रतिशतलाई पुग्नेगरी खोप आपूर्ति गर्न खोजिरहेको छ जसमा अग्रमोर्चामा रहेर काम गर्ने तीन प्रतिशतलाई पहिलो चरणमा अनि जोखिम समूहमा रहेकाहरू १७ प्रतिशतलाई दोस्रो चरणमा खोप दिन खोजिएको छ।

"यो भनेको करिब ६० लाख मानिस वा एक करोड २० लाख मात्राको खोप हुन आउँछ। हामीले के आशा गरेका छौँ भने हाम्रो सुरुका यी आवश्यकता भारतबाटै सम्बोधन हुनसक्छ," उनले भने।

"तुरुन्तै सबै एकैचोटि आउने त होइन तर उत्पादन सुरु भएपछि त्यो परिमाण प्रष्ट हुँदै जान्छ।"

खोप

तस्बिर स्रोत, Bharat Biotech

भारतको खोप किन धेरै उपयोगी होला?

नेपालको निम्ति विभिन्न कारणहरूले गर्दा भारत वा छरछिमेकमा बनेका खोपहरू नै लाभदायक हुनसक्ने विज्ञहरूले बताउने गरेका छन्।

विशेषतः भारतमा बनेका खोप सस्तो पर्ने अनि आपूर्ति सजिलो हुने उनीहरू बताउँछन्।

"वास्तवमा कोभिड खोपका निम्ति नेपालले पर जानैपर्दैन। अक्सफर्ड यूनिभर्सिटी-एस्ट्रजेनेकाको खोप भारतकै सेरम इन्स्टिच्युटमा बन्दैछ। त्यसको मूल्य पनि दुई डोजको १,५०० रुपैयाँ हाराहारीमा आउँछ," सेन्टर फर मलेक्यूलर डायनामिक्सका अनुसन्धान निर्देशक डा. समीरमणि दीक्षितले बताए।

पैसा सस्तो हुनुका साथै उक्त खोपलाई सामान्य चिसो तापक्रममा सुरक्षित भण्डारण गर्न सकिनु पनि महत्त्वपूर्ण फाइदा भएको उनले बताए।

"यो खोपलाई हामीसँग अहिले नै उपलब्ध सामान्य कोल्ड चेनमा पनि भण्डारण गर्न सकिन्छ," उनले भने।

दीक्षितले नेपालको निम्ति भारतसहित चीनमा उत्पादन हुने खोपहरू पनि लाभदायी हुनसक्ने बताए।

भारतमा कुन खोप अन्तिम चरणमा छन्?

अक्सफर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनीले विकास गरेको खोपलाई भारतको पुनेस्थित विश्वकै अग्रणी खोप निर्माता कम्पनी सेरम इन्स्टिच्यूटले उत्पादन गर्दैछ।

एस्ट्राजेनेकाको कोभिशील्ड खोप राख्ने सिसी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सेरम इन्स्टिच्यूट अफ इन्डियाको प्रयोगशालामा एस्ट्राजेनेकाको कोभिशील्ड खोप राख्ने सिसी

कोभिशील्ड नाम दिइएको यो खोपको अन्तिम चरणका परीक्षणहरू भइरहेका छन् र यसले भारतीय सरकारसँग "आपत्कालीन प्रयोग" का लागि अनुमति मागेको छ।

भारतको हैदराबादस्थित कम्पनी भारत बायोटेकले इन्डियन काउन्सिल फर मेडिकल रिसर्च (आईसीएमआर)को सहयोगमा बनाइरहेको कोभ्याक्सीन नामक अर्को खोपको पनि तेस्रो चरणका क्लिनिकल परीक्षण जारी छ।

यसले पनि भारतीय सरकारसँग आपत्कालीन प्रयोगको अनुमति मागेको छ।

साथै क्याडिला हेल्थकेअरले बनाइरहेको जाइकोभ-डी नामक खोपको पनि तेस्रो चरणमा परीक्षण भइरहेको छ।

रुसी खोप स्पुत्निक-फाइभको परीक्षण भारतमा पनि भइरहेको छ। तीबाहेक अन्य केही खोपको परीक्षण जारी नै छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरसको खोप कहिले तयार हुन्छ?