कोरोना भाइरस खोप: यूकेमा ९० वर्षीया महिलाले लगाइन् कोभिड -१९ विरुद्धको पहिलो खोप

मार्गरेट कीनन

तस्बिर स्रोत, Reuters

Published

एक ९० वर्षीया महिला यूकेमा देशव्यापी कोरोनाभाइरस विरुद्धको खोप अभियान अन्तर्गत खोप लगाउने पहिलो महिला बनेकी छन्।

आगामी साता ९१ वर्ष पुग्ने मार्गारेट कीननले खोपलाई 'सबैभन्दा राम्रो जन्मदिनको उपहार' बताएकी छन्।

उनलाई स्थानीय समयअनुसार ६ बजेर ३१ मिनेटमा फाइजर/बायोएनटेकले विकास गरेको खोप दिइएको थियो। सो खोपको आठ लाख मात्रा आगामी केही सातामा यूकेमा लगाइने योजना छ।

यो महिनाको अन्त्यसम्ममा यूकेमा ४० लाखलाई खोप लगाइने बताइएको छ।

सुरुमा ८० वर्षभन्दा माथिका र केही स्वास्थ्यकर्मीहरूलाई यो खोप दिइने छ।

कीननले भनिन्, "म कोभिड-१९ विरुद्धको खोप लगाउने पहिलो व्यक्ति हुन पाउँदा आफूलाई भाग्यमानी सम्झन्छु। मेरो लागि यो सबैभन्दा राम्रो जन्मदिनको उपहार हो। किनभने यसको अर्थ म अन्ततः परिवार र साथीसँग समय बिताउन सक्छु भन्ने हो।"

यूके फाइजरको खोपलाई अनुमति दिने पहिलो राष्ट्र हो।

यूकेले सो खोपको चार करोड मात्रा किन्न फाइजरसँग सहमति गरेको छ।