कोरोना भाइरस सङ्क्रमण: गर्भ जाँचे जसरी कोरोनाभाइरस परीक्षण गर्ने 'सस्तो र विश्वसनीय विधि'

फेलुदा परीक्षण
    • Author, सौतिक विश्वास र कृतिका पाथी
    • Role, बीबीसी न्यूज

भारतमा वैज्ञानिकहरूको एउटा समूहले कोरोनाभाइरस परीक्षणका लागि गर्भ जाँच्न प्रयोग गरिने विधिले जस्तै तत्काल परिणाम दिन सक्ने सस्तो प्रविधिको विकास गरेका छन्। तर त्यसले कसरी काम गर्छ त?

परीक्षण उपकरणलाई एउटा चर्चित भारतीय काल्पनिक अनुसन्धानकर्ताको नाम दिइएको छ जुन क्रिस्पर भनिने जीन सम्पादन प्रविधिमा आधारित छ।

वैज्ञानिकहरूले 'फेलुदा' नामको उक्त उपकरणले एक घण्टाभित्र परिणाम दिने र खर्च ५०० भारतीय रुपैयाँ पर्ने अनुमान गरेका छन्। फेलुदाको उत्पादन भारतको अगुवा कम्पनी टाटाले गर्नेछ र कोभिड-१९ को परीक्षणको निम्ति कागजमा आधारित विश्वकै पहिलो परीक्षण विधि बजारमा उपलब्ध हुनेछ।

भारत सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार प्राध्यापक के विजय राघवनले बीबीसीसँग भने, "यो सजिलो, विश्वसनीय, पहुँचयुक्त र मितव्ययी परीक्षण हो।"

फेलुदाको विकास गरिएको दिल्लीस्थित सीएसआईआरअन्तर्गत रहेको इन्स्टिट्यूट अफ जीनोमिक्स एन्ड इन्टिग्रेटिभ बायोलोजी (आईजीआईबी) अनुसन्धानकर्ताहरू र निजी प्रयोगशालाहरूले करिब २,००० बिरामीबाट सङ्कलित नमुना परीक्षण गरेका छन्।

तीमध्ये पहिला कोरोनाभाइरस सङ्क्रमण देखिएका व्यक्तिहरू पनि छन्। उनीहरूले नयाँ परीक्षणमा ९६ प्रतिशत संवदेनशीलता (सेन्सटिभिटी) र ९८ प्रतिशत विशेषता (स्पेसफसटी) फेला पारेका छन्।

परीक्षणको सुनिश्चितता यही दुईवटा आधारित हुन्छ। कुनै परीक्षणमा संवेदनशीलता धेरै छ भने त्यसले करिब सबैजसोको रोग पत्ता लगाउँछ।

धेरै विशेषता भेटिएमा लगभग सबै नमुनामा रोग नभएको ठिक ढङ्गले पत्ता लगाउँछ। पहिलोले धेरै गलत नेगटिभ परिणाम नआओस् भन्ने सुनिश्चित गर्छ भने दोस्रोले धेरै गलत पोजटिभ नदेओस् भन्ने निश्चित गर्छ।

भारतको औषधिसम्बन्धी नियामक निकायले व्यावसायिक प्रयोगको निम्ति उक्त उपकरणलाई अनुमति दिइसकेको छ।

विश्वमै दोस्रो बढी सङ्क्रमित भएको देशको रूपमा भारतमा ६० लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ। अहिलेसम्म एक लाखभन्दा धेरै सङ्क्रमितको मृत्यु भइसकेको छ।

सुरुमा परीक्षणगको गति सुस्त रहेको भएको पनि अहिले देशभरि रहेका १,२०० भन्दा बढी प्रयोगशालामा दैनिक १० लाख नमुना जाँच्छन्।

स्वाव निकाल्दै

तस्बिर स्रोत, EPA

त्यहाँ दुईथरी परीक्षण गरिन्छ। पीसीआर परीक्षणमा रसायनको प्रयोग गरिन्छ। त्यो सामान्यतया भरपर्दो छ र त्यसको निम्ति करिब २,४०० भारु शुल्क लाग्छ। त्यसले गलत परिणाम दिने सम्भावना कम हुन्छ।

दोस्रो परीक्षण एन्टिजनमा आधारित छ। त्यो केही सस्तो छ। तर पोजटिभ पत्ता लगाउने त्यो परीक्षणले नेगटिभ नतिजा पीसीआरभन्दा धेरै मात्रामा गलत दिन्छ।

ग्लोबल हेल्थ एन्ड हेल्थ पोलिसीका अनुसन्धानकर्ता डा. अनन्त भानका भनाइमा भारतमा परीक्षण बढाउन अहिले पनि सजिलो छैन।

उनले बीबीसीसँग भने, "अहिले पनि लामो समय कुर्नुपर्छ र उपकरण कम उपलब्ध छन्। हामीले व्यापक रूपमा एन्टिजन परीक्षण गरिरहेका छौँ। त्यसले लगत नेगटिभ नतिजा दिने समस्या छ।"

फेलुदा तुलनात्मक रूपमा सस्तो र थप विश्वसनीय रहेकाले त्यसले एन्टिजेन परीक्षणलाई विस्थापपित गर्नसक्ने उनको विश्वास छ।

आईजीआईबीका निर्देशक डा. अनुराग अग्रवालले बीबीसीसँग भने, "नयाँ परीक्षण पीसीआर जस्तै विश्वासनीय छ, यो छिटो र सुविधासम्पन्न मिशिन नभएका प्रयोगशालामा पनि गर्न सकिन्छ।"

फेलुदा परीक्षणको निम्ति नमुना सङ्कलन गर्ने विधि पनि पीसीआरको जस्तै छ। नाकको भित्री भागबाट स्वाब प्रयोग गरेर नमुना निकालिन्छ। भारतमा थुकको नमुनाको परीक्षण गरिँदैन।

फेलुदा
तस्बिरको क्याप्शन, नयाँ परीक्षण प्रविधिमा भूमिका निर्वाह गरेको समूह

अनुसन्धानकर्ताहरूका अनुसार जीन-एडिटिङले कम्प्युटरमा कुनै शब्द बिग्रिँदा कर्सरको भरमा सच्याउने वा थपघट गर्ने गरिए जस्तै काम गरिन्छ।

त्यसको प्रयोग खासगरी सिकलसेल रोगमा जस्तै कोशिकासँग सम्बन्धित रोगको उपचार र सङ्क्रमण रोकथाममा गरिन्छ।

फेलुदा जस्ता उपकरणको प्रयोगमा क्रिस्पर प्रविधिले कर्सरले जस्तै कागजमा भाइरसको सङ्केत दिन्छ। कागजमा दुईवटा नीला रेखाले पोजटिभ सङ्केत गर्छ र एउटा रेखाले नेगटिभ।

हार्भर्ड मेडिकल स्कूलका डा. स्टीभन किस्लर भन्छन्, "परीक्षण अझै सीमित छ र कहिलेकाहीँ त्यसको उपलब्धता सुधार गर्न हामीले सक्ने जेसुकै गर्नुपर्छ। त्यसैले फेलुदा त्यस दिशामा महत्त्वपूर्ण कदम हो।"

अमेरिका र ब्रिटेनमा कैयौँ कम्पनी र अनुसन्धान प्रयोगशालाहरूले त्यस्तै खालको कागजमा आधारित परीक्षणको विकास गरिरहेका छन्। त्यो सस्तो हुन्छ र ठूलो मात्रामा उत्पादन हुनसक्छ। अमेरिकाको सर्लक बायोसाइन्सले पनि एउटा कागजमा आधारित प्रविधि बनाएको छ। त्यसको चर्चा व्यापक छ।

हार्भर्ड ग्लोबल हेल्थ इन्स्टिट्यूटका डा. टमस साईका अनुसार उपयुक्त र प्रमुख परीक्षण घरमै गर्न सकिने कागजमै आधारित हुनेछ।

भारत

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, भारतमा विश्वकै दोस्रो बढी सङ्क्रमित छन्

उनी भन्छन्, "तर पक्कै पनि प्राविधिक केही सीमितताहरू छन्। हामीले घर बसेका मानिसहरूको आएएनए निकाल्ने र त्यसमा काम गर्ने कल्पना गर्न सक्दैनौँ।"

फेलुदा परीक्षणले त्यसमा ठूलो फरक पार्न सक्छ।

सीएसआईआर-आईजीबीएमआर का मलेक्यूलर वैज्ञानिक तथा फेलुदाको विकास गरेको समूहमा संलग्न डा. देवोज्योति चक्रवर्तीले बीबीसीलाई भने, "यन्त्र र जनशक्तिका कारण परीक्षण सीमित नहोस् भनेर हामीले सरल, सस्तो र ठिक परीक्षणको निम्ति प्रयास गरिरहेका छौँ।"

हार्भर्ड मेडिकल स्कूलका डा. स्टीभन किस्लरका विचारमा ठूलो जनसङ्ख्या भएको देश भएकाले भारतसँग परीक्षण कति मूल्यवान् छ भन्ने देखाउने अवसर छ र खाँचो परेका बेला उचित समयमा त्यो आउँदैछ।

उनी भन्छन्, "यदि यसको क्षमता प्रदर्शन गर्न सकियो भने त्यसको लाभ विश्वभरिलाई हुनेछ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, के परिवर्तनले कोरोनाभाइरसलाई झन् घातक बनाउँछ?