कोरोना भाइरस: आनुवंशिक संरचना अध्ययनको निष्कर्ष, 'नेपालमा फैलिएको विषाणु भारत र साउदी अरबमा भेटिएको प्रकारसँग मिल्दोजुल्दो'

भिडिओ क्याप्शन सुरु हुँदैछ, वास्तवमा कोरोनाभाइरस के हो?

कोरोनाभाइरसको आनुवंशिक संरचनाको अध्ययनपछि नेपालमा भेटिएको भाइरसको प्रकृति भारत र साउदी अरबमा फैलिएको भाइरससँग मिल्दोजुल्दो रहेको निष्कर्ष नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) का विज्ञहरूले निकालेका छन्।

नेपालमा कोरोनाभारइस सङ्क्रमण पुष्टि भएको झन्डै सात महिनापछि जीन सिक्वन्सिङ गरेर आनुवंशिक अध्ययन थालिएको थियो।

उक्त अध्ययनमा वुहानबाट नेपाल फर्किएका व्यक्तिमा देखिएकोभन्दा SARS-CoV-2 भाइरसको प्रकृति फरक देखिएको परिषद्‌का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले बीबीसीलाई बताए।

परिषद्ले गत असारमा देशभरिबाट १५ वटा नमुना सङ्कलन गरेर कोरोनाभाइरसको आनुवंशिक अध्ययन थालेको थियो।

अधिकारीहरूका अनुसार स्वाबबाट नमुना सङ्कलन गर्दा फरक ठाउँ, उमेर र लिङ्ग अनि स्थलमार्ग र जहाजमार्फत् नेपाल भित्रिएका मानिसलाई संलग्न गराइएको थियो। जीवित सङ्क्रमितबाट मात्र हैन, कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिबाट पनि नमुना लिइएको थियो।

यो निष्कर्षले के सङ्केत गर्छ?

डा. ज्ञवालीका अनुसार उक्त अनुसन्धानका आधारमा सरकारलाई कोरोनाभाइरस नियन्त्रणका लागि अब के गर्नुपर्छ भनेर सुझाव दिइनेछ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्

तस्बिर स्रोत, NHRC

उनले भने, "यसको अर्थ के हुन्छ भने भारत र साउदी अरबतिरबाट आएका मानिसहरूबाट भाइरसको सङ्क्रमण फैलिएको छ भन्ने देखिन्छ।"

यो अनुसन्धानले सुरुमा देखिएको भाइरस र असारमा देखिएको भाइरसको क्षमतामा कस्तो फरक आयो र त्यसले सङ्क्रमण फैलाउन कति सहयोग गर्‍यो भन्ने अध्ययनका लागि सघाउ पुग्ने भाइरसविज्ञ डा. लुना भट्ट बताउँछिन्।

उनी भन्छिन्, "यसले के देखायो भने सुरुको स्पाईक प्रोटीन चाहिँ एस्पार्टिक एसिडबाट ग्लाइसिनमा परिवर्तन भयो। यो म्यूटेशन (उत्परिवर्तन) ले गर्दा भाइरस सजिलैसँग सर्न सक्ने र सङ्क्रमण फैलिन सक्ने भयो।"

कोरोनाभाइरसको सतहमा काँडाजस्तो देखिने भाग नै स्पाईक प्रोटीन हो।

कोरोनाभाइरस स्पाईक प्रोटीन

तस्बिर स्रोत, Science Photo Library

विज्ञहरूका अनुसार नयाँ अध्ययनहरूमा कोरोनाभाइरस प्रारम्भिक अवस्थाको भन्दा बढी सङ्क्रामक बनेको छ र जोखिम बढेको देखिएको छ।

उनी भन्छिन्, "पहिला स्पाईक प्रोटीन कम थियो। अहिले जीनमा यसरी परिवर्तन भएको छ कि स्पाईक प्रोटीनको सङ्ख्या पनि बढेको र यसको चलकता र घनत्व पनि बढेको छ। यसको अर्थ मानिसको कोषहरूमा भाइरस सजिलै टाँसिन र सङ्क्रमण पनि फैलाउन सक्ने क्षमता राख्छ।"

थप अध्ययन किन आवश्यक?

भाइरसको प्रकृतिमा आएको परिवर्तन हेर्न तथा कस्तो खालको खोप नेपाललाई सुहाउँछ थाहा पाउन आनुवंशिक संरचनाको अध्ययन नियमित गर्नुपर्ने आवश्यकता परिषद्का सदस्यसचिव ज्ञवालीले औँल्याए।

अध्ययन

तस्बिर स्रोत, Science Photo Library

उनका अनुसार प्रत्येक महिना नमुना सङ्कलन गरेर जीन सिक्वेन्सिङ गरी पुनः सङ्क्रमण भए नभएको पनि हेर्न सकिन्छ।

अहिले गरिएको अध्ययनले नेपालको क्षमता देखाएको र यसलाई निरन्तरता दिएर नेपाललाई कस्तो खालको खोप उपयुक्त हुन्छ भन्ने थप आधार पाइने उनको भनाइ छ।

सरकारले असारमै अनुसन्धान थाले पनि निष्कर्ष आउन समय लागेको थियो।

भाइरसविज्ञ डा. भट्ट पनि महामारीको बेला यस्तो अध्ययन समयसमयमा गरिनुपर्ने बताउँछिन्।

"विश्वव्यापी महामारीका बेला म्यूटेशनका बेला अवस्था गम्भीर बनेको हो कि अरू केही कारण हो भन्ने पत्ता लगाउन पनि सजिलो हुन्छ। यसले नेपाललाई मात्रै नभई विश्वव्यापी रूपमा भाइरस बलियो भएको हो कि मत्थर हुँदै गएको भनेर थाहा पाउन पनि मद्दत पुग्छ।"

कोरोनाभाइरस खोप

अहिले नेपालको अवस्था के छ?

नेपालमा कोरोनाभाइरस महामारीको पहिलो लहर देखिँदा अधिकांश सङ्क्रमितहरू विदेशबाट फर्किएका व्यक्ति थिए।

अधिकारीहरूका अनुसार अधिकांशमा सङक्रमितहरू अहिले पनि लक्षणरहित छन्।

तर केही समययता केही सङ्क्रमितमा जटिलता देखिएको र अस्पतालमा भर्ना हुने बिरामीको सङ्ख्या बढेको सरकारको तथ्याङ्कले देखाउँछ।

सङ्क्रमितको कुल सङ्ख्या दुई लाख २७ हजार कट्दा कोभिड-१९ का कारण मृत्यु हुनेको सङ्ख्या १,४०० को हाराहारीमा छ।

अर्थात् नेपालमा सङ्क्रमितको मृत्युदर ०.६ प्रतिशत जति छ।

नेपाल विश्वभरि कोरोनाभाइरस महामारीबाट प्रभावित देशमध्ये शीर्ष ४० स्थानभित्र पर्छ।

दक्षिण एशियामा भने भारत, बाङ्ग्लादेश र पाकिस्तानपछि नेपाल चौथो स्थानमा छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, के परिवर्तनले कोरोनाभाइरसलाई झन् घातक बनाउँछ?