कोभिड-१९ उपचारः अक्सफर्ड यूनिभर्सिटीको खोपले कोरोनाभाइरस सङ्क्रमणविरुद्ध ७०% सुरक्षा दिने

अक्सफर्ड यूनिभर्सिटीको खोप

तस्बिर स्रोत, Oxford University/John Cairns

    • Author, जेम्स ग्यालहर
    • Role, स्वास्थ्य तथा विज्ञान संवाददाता

यूनिभर्सिटी अफ अक्सफर्डले कोरोनाभाइरसविरुद्ध बनाएको खोपले ७० प्रतिशत मानिसमा कोभिडको लक्षण बन्न नदिने एउटा ठूलो परीक्षणले देखाएको छ।

यसअघि फाइजर र मोडर्ना कम्पनीले बनाएका दुई छुट्टाछुट्टै खोपले ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने घोषणा गरिएको थियो।

तर ती दुई खोपभन्दा अक्सफर्डको खोप धेरै सस्तो हुने, सजिलै भण्डारण गर्न सकिने तथा संसारमा जहाँ पनि सहज रूपमा लैजान सकिने देखिएको छ।

नियामक निकायबाट प्रयोग गर्न अनुमति प्राप्त भएमा यो खोपले कोरोनाभाइरसको वैश्विक महामारी नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।

खोप विकासका लागि प्रायः एक दशक लाग्ने प्रक्रिया अक्सफर्डका वैज्ञाननिकहरूले १० महिनामा सम्पन्न गरेका थिए।

"आजको घोषणाले हामीलाई खोपको प्रयोगबाट कोरोनाभाइरसका कारण सिर्जित विनाश अन्त्य गर्न अर्को पाइला अगाडि लगिदिएको छ," उक्त खोप निर्माणकी योजनाकार प्राध्यापक सारा गिल्बर्टले भनिन्।

यूके सरकारले अक्सफर्ड खोपको १० करोड मात्रा लिने बताइसकेको छ। त्यो परिमाणको खोप पाँच करोड मानिन्छलाई पर्याप्त छ।

खोप

यो परीक्षणले के देखायो?

यो खोप परीक्षणमा २०,००० स्वयंसेवकहरू सहभागी भएका थिए। तीमध्ये आधाभन्दा बढी यूकेमा र बाँकी ब्रजिलमा थिए।

दुई मात्रा खोप दिइएकामध्ये ३० जनालाई कोभिड भयो तर डमी अर्थात् नक्कली खोप दिएका १०१ जनालाई कोरोनाभाइरस सङ्क्रमण भयो।

अनुसन्धानकर्ताहरूका अनुसार यो खोपले ७० प्रतिशत सुरक्षा दिन्छ।

स्वयंसेवकहरूलाई दुई चोटि उच्च मात्रामा खोप दिइँदा ६२ प्रतिशत सुरक्षा भएको देखियो। तर पहिलो पटक कम मात्रा र दोस्रो पटक उच्च मात्रामा खोप दिँदा सुरक्षा ९० प्रतिशतसम्म पुग्यो।

के कारणले त्यत्रो भिन्नता देखियो भन्ने कुरा स्पष्ट भएको छैन।

अक्सफर्ड यूनिभर्सिटीको खोप

तस्बिर स्रोत, University of Oxford

"हामी परिणामबाट साँच्चै सन्तुष्ट छौँ," प्रमुख अनुसन्धानकर्ता एन्ड्रू पोलर्डले बीबीसीलाई बताए।

उनका अनुसार ९० प्रतिशत प्रभावकारिताको तथ्याङ्क उत्साहवर्धक छ अनि त्यसबाट वितरण गर्न धेरै मात्रामा खोप हुनेछ।

अरू कुन खोप विकास भइरहेको छ?

आगामी साता वा महिनामा परीक्षणको अन्तिम चरणमा रहेका अन्य खोपको तथ्याङ्कहरू पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ।

अन्य खोपहरू पनि तेस्रो चरणको परीक्षणमा रहेका छन्।

ती यस प्रकार छन्:

  • क्यान्सिनो, चीन
  • गामालेया रिसर्च इन्स्टीट्यूट, रुस
  • जान्ससेन
  • बेइजिङ् इन्स्टिट्यूट अफ बायोलजिकल प्रोडक्ट्स र सिनोफार्म, चीन
  • सिनोभाक र बुटानटान, ब्रजिल
  • वुहान इन्स्टिट्यूट अफ बायोलजिकल प्रोडक्ट्स र सिनोफार्म, चीन
  • नोभाभाक्स, अमेरिका
भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरसको खोप कहिले तयार हुन्छ?
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर