कोरोनाभाइरस अपडेट: कोभिड खोप गर्भवती महिलालाई दिन हुन्छ कि हुँदैन? र अरू प्रश्न तथा तिनका उत्तर

खोप

तस्बिर स्रोत, Getty Images

हालै सार्वजनिक गरिएको जानकारी अनुसार कोरोनाभाइरस विरुद्धको एउटा खोपले ९०% मानिसलाई सुरक्षा प्रदान गर्न सक्छ। र, केही महिनाभित्रै त्यस्तो खोप सर्वसाधारणको प्रयोगकालागि उपलब्ध हुनसक्छ।

उक्त खोप र सम्बन्धित विषयका बारे बीबीसीका पाठकले पठाएका केही प्रश्न र बीबीसीकी स्वास्थ्य मामिलाकी अनलाइन सम्पादक मिशेल रोबर्टसले प्रस्तुत गरेको तिनका उत्तरहरू पढ्नुहोस्।

प्रश्न (स्टिभ, स्टकपोर्ट ): के कोरोनाभाइरस विरुद्धको खोपले गर्भवती महिला र उनको पेटमा रहेको बच्चालाई हानि गर्न सक्छ?

उत्तरः कुनै पनि औषधी वा खोप सर्वसाधारणको प्रयोगकालागि सुरक्षित छ भन्ने यकिन नभएसम्म सरकारी नियमनकर्ताहरूले त्यस्को सार्वजनिक प्रयोगका निम्ति अनुमति दिँदैनन्। त्यस्तो आधिकारिक अनुमति विना खोप सबैको उपचारका निम्ति उपलब्ध हुँदैन।

कोरोनाभाइरसले अन्यको दाँजोमा गर्भवती महिलालाई धेरै र गम्भीर असर गर्छ भनेर देखाउने कुनै प्रमाण छैन। तर पनि सावधानी स्वरूप तिनीहरूलाई "चिकित्सकीय दृष्टिले जोखिमपूर्ण" समूहमा राखिएको छ। फ्लु हुनबाट जोगाउन दिइने हाल प्रचलनमा रहेको खोप गर्भवती महिलालाई पनि दिने गरिएको छ।

प्रश्न (ब्रायन ग्रिमशो, प्रेस्टन): यो खोपले भाइरस फैलनबाट रोक्न सक्छ की सक्दैन?हाल विकासको चरणमा रहेका कुनै पनि खोपले त्यस्तो सुरक्षा दिन सक्छन् की सक्दैनन्?

उत्तरः यो प्रश्नको उत्तर दिइहाल्न अलि चाँडो नै हुन्छ। हाल विकासको क्रममा विभिन्न चरणहरूमा रहेका खोपहरूले कोरोनाभाइरसलाई एक व्यक्तिबाट अर्कोमा सर्नबाट रोक्न सक्छन् की सक्दैनन् भनेर भन्न पर्याप्त जानकारी उपलब्ध छैन।

कोरोनाभाइरस

यी मध्ये केही खोपले भाइरस सङ्क्रमण हुनै नदिने भन्दापनि भाइरसबाट हुने रोगको गहनतालाई कम तुल्याउने पनि गर्न सक्छन्।

प्रश्न ( वील हो, लण्डन): नयाँ खोप सबैले लगाउनै पर्ने गरे अनिवार्य नियम लागु नहुन पनि सक्छ, यस्तोमा कुनै देशमा प्रवेश गर्नु अघि त्यहाँका सरकारहरूले खोप लगाएको प्रमाणपत्र अनिवार्य चाहिने र्तहरू राख्न सक्छन् की सक्दैनन्?

उत्तर: हाल पनि केही देशहरूले पोलियो जस्ता रोग विरुद्ध खोप लगाइएको छ भन्ने प्रमाण प्रस्तुत गर्नुपर्ने प्रावधानहरू लागु गरेका छन्। कोरोनाभाइरसका सम्बन्धमा पनि त्यस्तो सर्त राख्ने कि नराख्ने वा खोप सम्बन्धी आफ्नै नीति बनाउने की नबनाउने र भविष्यमा यात्रुहरूका निम्ति खोप प्रमाणपत्र आवश्यक पर्छ की पर्दैन भन्ने कुरा सम्बन्धित देशहरूमा नै निर्भर हुन्छ।

ब्रिटिश प्रधानमन्त्रीले "मूनशट" योजना भनिएको द्रूत गतिको कोरोनाभाइरस परीक्षणको चर्चा गर्ने क्रममा मानिसहरूलाई थिएटर वा फुटबल खेल प्रतियोगिता हेर्न जान सहज हुने गरी एकै दिनमा नै नतिजा दिनसक्ने परीक्षणको व्यवस्था गर्ने र 'नेगेटिभ' नतिजा आएमा त्यस्ता सामूहिक गतिविधिमा संलग्न हुन दिन सकिने सुझाव पनि दिइएको थियो।

प्रश्न (प्याट बक्सली, ब्रिस्टल ): के कोरोनाभाइरस विरुद्धको खोप लगाउनु अनिवार्य नै होला?

उत्तरः अहँ, नहोला। ब्रिटेनमा यो खोप ऐच्छिक हुनेछ र सबैभन्दा पहिला यो खोपबाट सबैभन्दा धेरै फाइदा जस्लाई पुग्न सक्छ उनीहरूकालागि उपलब्ध हुनेछ। तिनमा बयोवृद्ध र स्वास्थ्य क्षेत्रमा काम गर्ने मानिसहरू पर्दछन्।

इङ्गल्याण्डका स्वास्थ्यमन्त्री म्याट ह्यानककले भनेका छन्, "हामी यो खोप सबैकालागि अनिवार्य हुनुपर्छ भन्दैनौँ किनभने मेरो विचारमा देशका धेरैभन्दा धेरै मानिसहरू यसै पनि यो खोप लगाउन चाहने नै छन्।"

खोप उपलब्ध भएपछि बालबालिकाकालागि नियमित हिसाबमा यो उपलब्ध गराइने छैन, किनभने तिनीहरू सबैभन्दा कम जोखिमपूर्ण समूहमा पर्दछन्।

प्रश्न (ज्याक ): नयाँ खोप अति चिसो तापक्रममा सुरक्षित भण्डारण गरेर राख्नु पर्ने भनिएको छ, यस्तो अवस्थामा मानिसहरूसम्म खोप पुर्‍याउन धेरै ठूलो व्यवस्थापकीय चुनौती खडा नहोला र?

उत्तरः यो खोपमा रहेका तत्वहरू स्थिर प्रकृतिका छैनन् त्यही भएर तिनीहरूलाई प्रयोग गर्नुभन्दा पहिले माइनस ७० डिग्रि सेल्सियसको अति चिसो तापक्रमभन्दा कममा राख्नुपर्छ।

यस्को अर्थ यो खोपलाई विभिन्न स्थानमा ओसारपसार गर्दा एकदमै ध्यान पुर्‍याउनु पर्छ। विरामीलाई दिइनुभन्दा अघि खोपलाई त्यस्तो अति चिसो अवस्थाभन्दा केही तातो अवस्थामा ल्याउनु पर्छ। र, खोप निर्माण गर्ने कम्पनी फाइजरले भनेको छ उक्त खोपलाई अति चिसो अवस्थाबाट बाहिर ल्याइसकेपछि पाँच दिनसम्म सामान्य फ्रिजमा नै भण्डार गरेर विरामीलाई दिन सकिन्छ।

कोरोनाभाइरस

प्रश्न (डेब्रा फ्लेचर): कोभिडबाट निको भसकेको व्यक्तिले पनि यो खोप लगाउन हुन्छ की हुँदैन?

उत्तर: सर्वसाधारणमा व्यापक प्रयोगकालागि कुनै कोरोनाभाइरस खोपले अनुमति पाएमा, त्यो खोप विगतमा कोभिड-१९ भएर निको भएकाहरूले पनि लगाउन पाउने छन्। किनभने एक पटक कोभिड-१९ भएर निको भइ प्राकृतिक रूपमा नै उक्त रोगको भाइरसविरुद्ध प्रतिरोधी क्षमता हासिल भएको व्यक्तिमा त्यस्तो रोग प्रतिरोधी क्षमता लामो समयसम्म कायम नरहन सक्छ। त्यस्तो व्यक्तिले पनि खोप लगाएमा भारइस सङ्क्रमण विरुद्ध थप सुरक्षा प्राप्त हुनसक्छ।

हाल विकासको चरणमा रहेका कोरोनभाइरस विरुद्धका खोपहरूले सार्वजनिक प्रयोगको अनुमति प्राप्त गर्न अझै धेरै अध्ययन, अनुसन्धान र तथ्याङ्कहरूको आवश्यकता पर्दछ।

फाइजर कम्पनीले गरेको परीक्षणमा पहिले कोभिड नभएका स्वयंसेवीहरू मात्र संलग्न थिए। त्यसैले उक्त परीक्षणबाट प्राप्त नतिजामा पहिले कोभिड-१९ भएर निको भएकाहरूमा त्यस्तो खोपको प्रभाव कस्तो हुन्छ भन्ने जानकारी संलग्न छैन।

प्रश्न (नीलम,एनफिल्ड): वैज्ञानिकहरूको विचारमा यो खोपले कति समयकालागि कोरोनाभाइरसबाट सुरक्षा दिन्छ? यो खोप एकपटक लगाएपछि जिन्दगीभरलाई सुरक्षा प्राप्त हुन्छ की फ्लुको खोपजस्तै हरेक वर्ष नयाँ खोप लगाइरहनु पर्छ?

उत्तरः हालसम्म उपलब्ध जानकारी अनुसार कोभिड-१९ बाट जोगिन मानिसहरूले यो खोपको बुस्टर अथवा दोस्रो मात्रा वा बारम्बार यो खोप लगाइरहनु पर्ने जस्तो बुझिन्छ।

यो खोपले प्रदान गर्ने रोग प्रतिरोधी क्षमता शरीरमा कति लामो समयसम्म रहन्छ भन्नेमा विज्ञहरूलाई यकिन जानकारी छैन। तिनीहरूको अनुमानमा केही महिनापछि नै खोपले दिने रोग प्रतिरोधी क्षमता कमजोर हुँदै जानेछ। यस्को अर्थ वर्षैपिच्छे कोभिड खोप लिइरहनुपर्ने हुनसक्छ, केही हदसम्म हाल प्रचलित फ्लु विरुद्धको खोप जस्तै।

कोरोनाभाइरस ब्यानर