कोरोना भाइरस: के अन्ततः कोभिड-१९ को खोप तयार भएकै हो?

तस्बिर स्रोत, Getty Images
- Author, जेम्स ग्यालहर
- Role, स्वास्थ्य तथा विज्ञान सम्वाददाता
कोरोनाभाइरसविरुद्ध खोप विकासमा 'कोशेढुङ्गा' भनिएको नतिजा कोभिड-१९ को प्रभावकारी खोपको खोजमा महत्त्वपूर्ण कदम बनेको छ।
फाइजर र बायोएनटेकले विकास गरेको खोपको प्रारम्भिक परीक्षणमा यसले ९० प्रतिशत मानिसलाई जोगाउने देखिएको छ।
तेस्रो चरणको परीक्षणको तथ्याङ्क सार्वजनिक गर्ने फाइजर र बायोएनटेक पहिलो समूह बनेको छ।
परीक्षणमा रहेका केही खोपहरू असफल पनि हुने भएकाले यो खोप विकासमा महत्त्वपूर्ण अवस्था हो।
फाइजर र बायोएनटेकको खोपमा प्रयोगात्मक प्रक्रिया अपनाएर मानव शरीरको रोग प्रतिरोधी क्षमतालाई कोरोनाभाइरसविरूद्ध लड्न अभ्यस्त तुल्याउन भाइरसको जेनेटिक कोडको एक भागलाई सुई मार्फत शरीरमा प्रवेश गराउने विधि संलग्न छ।
सो खोप ४३ हजारभन्दा बढी व्यक्तिमा परीक्षण गरिएको र कुनै सुरक्षासम्बन्धी जोखिमको कुरा नउठेको बताइएको छ।
खोप कहिले उपलब्ध हुन्छ?

फाइजरले यो वर्षको अन्त्यसम्ममा पाँच करोड खोप उपलब्ध गराउन सक्ने र सन् २०२१ को अन्त्यसम्ममा एक अर्ब ३० करोड मात्रा खोप आपूर्ति गर्न सक्ने बताएको छ।
धेरै विज्ञहरूले यो खोप सन् २०२१ को मध्यतिर मात्रै सहजै उपलब्ध हुनसक्ने अवस्था बन्ने आकलन गरेका छन्।
अरू कुन खोप विकास भइरहेको छ?
आगामी साता वा महिनामा परीक्षणको अन्तिम चरणमा रहेका अन्य खोपको तथ्याङ्कहरू पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ।
अन्य १० खोपहरू पनि तेस्रो चरणको परीक्षणमा रहेका छन्।
ती यसप्रकार छन्:
- अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका, यूके
- मोडेर्ना, अमेरिका
- क्यानसिनो, चीन
- गामालेया रिसर्च इन्स्टीट्यूट, रुस
- जान्ससेन
- बेइजिङ् इन्स्टीट्यूट अफ बायोलोजिकल प्रोडक्ट्स र सिनोफार्म, चीन
- सिनोभाक र बुटानटान, ब्रजिल
- वुहान इन्स्टीट्यूट अफ बायोलोजिकल प्रोडक्ट्स र सिनोफार्म, चीन
- नोभाभाक्स, अमेरिका
मानिसमा रुघाखोकीको लक्षण देखाउने अन्य चार प्रकारका कोरोनाभाइरस पहिल्यैदेखि नै संसारमा अस्तित्वमा रहेका छन्। ती कुनैको विरूद्ध पनि खोप विकास भएको छैन।

तस्बिर स्रोत, Reuters
के खोपका फरक प्रकार छन्?
खोपको काम मानव शरीरमा भाइरसको हानि नगर्ने मात्रा प्रवेश गराएर रोग प्रतिरोधी क्षमतालाई भाइरससँग लड्न सिकाउने हो।
तर यो सिकाउने विधि धेरै छ र अध्ययनकर्ताहरू फरक तरिका प्रयोग गरिरहेका छन्।
फाइजर र मोर्डेर्नाको खोपले कोरोनाभाइरसको जेनेटिक कोडको एक भागलाई सुईमार्फत् शरीरमा प्रवेश गराउने विधि प्रयोग गरेका छन्।
शरीरभित्र यसले भाइरसको प्रोटिन बनाएर रोग प्रतिरोधी क्षमतालाई लड्न सिकाउँछ। यो पूरै नयाँ प्रविधि हो।
अक्सफोर्ड र रुसी खोपले चिम्पाजीमा हुने खतरारहित भाइरसलाई अनुवंशिक परीवर्तन गरेर कोरोनाभाइरसजस्तै बनाएर शरीरमा रोग प्रतिरोधी क्षमतालाई सक्रिय बनाउन सकिने आशा गर्छ।
चीनमा बनेका दुई खोप भने कोरोनाभाइरस नै सङ्क्रमण गर्न नसक्ने बनाएर शरीरमा प्रवेश गराउने विधिमा आधारित छन्।
यीमध्ये कुन विधिले काम गर्छन भन्ने ज्ञान महत्त्वपूर्ण हुन्छ र त्यसका लागि 'चुनौती परीक्षण' भनिने जानाजान सङ्क्रमण गराएर अध्ययन गरिन्छ।

तस्बिर स्रोत, Getty Images
के गर्न अझै बाँकी छ?
खोपको अर्बौँ मात्रा उत्पादन गर्ने बाटो खोज्न बाँकी छ।
खोपलाई सर्वसाधारणको प्रयोगका निमित्त खुला गर्नु अगाडि सम्बन्धित निकायको स्वीकृति प्राप्त हुनुपर्छ।
र अन्तत: विश्वका अधिकांश मानिसलाई खोप लगाउने कार्यका सामु ठूला चुनौतीहरू छन्।
कति मानिसलाई खोप दिनुपर्छ?
यो कुरा खोप कत्तिको प्रभावकारी छ भन्ने कुरा थाहा नभई भन्न कठिन छ।
सामान्यतया ६० देखि ७० प्रतिशत मानिसलाई खोप दिएपछि समुदायमा रोग नफैलने मानिन्छ। यसको अर्थ अर्बौँ मानिसलाई खोप दिनु आवश्यक छ।

तस्बिर स्रोत, Science Photo Library
किन खोप चाहियो?
यदि हाम्रो जीवन पहिलेजस्तै सामान्य बनाउने हो भने खोप चाहिन्छ।
अहिलेपनि धेरै ठूलो सङ्ख्यामा मानिसहरू कोरोनाभाइरस सङ्क्रमणको जोखिममा छन्।
अहिले जारी प्रतिबन्धहरूका कारण मात्रै हजारौँ मानिसको ज्यान जोगिएको छ।
खोपले सुरक्षित तरिकाले हाम्रो शरीरलाई सङ्क्रमणविरुद्ध लड्न सिकाउँछ।
यसले कि कोरोनाभाइरस सङ्क्रमण नै नहुने बनाउँछ कि कम्तीमा यसको प्रभावलाई कम घातक बनाउँछ।
कोरोनाभाइरसबाट बच्न खोप र सुधारिएको उपचारको अवसर नै उपयुक्त उपाय हो।





















