कोरोना भाइरस नेपाल: आनुवंशिक संरचनाको अध्ययनले खोप चयनमा कसरी सघाउँछ

तस्बिर स्रोत, Science Photo Library
नेपालमा कोरोनाभाइरसको सङ्क्रमण पहिलोपटक देखिएको करिब ७ महिनापछि उक्त भाइरसको आनुवंशिक संरचनाको अध्ययन सुरु भएको छ।
अबको दुईदेखि तीन सातामा सकिने भनिएको उक्त अध्ययनले नेपालमा अहिले भइरहेको आरटीपीसीआर परीक्षणदेखि नेपालमा कोरोनाभाइरसविरुद्ध कस्तो खोप उपयुक्त हुन्छ भन्ने यकिन गर्नका लागि समेत सहयोगी हुने बताइएको छ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले देशभरबाट १५ वटा नमुना सङ्कलन गरी उक्त अध्ययनका लागि इन्ट्रेपिड नेपाल प्राइभेट लिमिटेडलाई जिम्मा दिएको छ।
भाइरसको जेनेटिक सिक्वेन्स अर्थात् आनुवंशिक संरचनाबारे अध्ययन गर्दा यसले नेपालीमा देखिएको भाइरसको प्रकृति अन्य देशमा देखिएको भन्दा के र कसरी फरक हो भन्नेबारे बुझ्न सहयोग पुग्ने उक्त अध्ययनमा सहभागी रहेका इन्ट्रेपिड नेपालका डाक्टर समीरमणि दीक्षितले बताए।
यो अध्ययनले के-के कुरामा मद्दत पुर्याउँछ?
खासगरी यो अध्ययनले पाँचवटा विषयहरू पत्ता लगाउन मद्दत गर्ने डाक्टर दीक्षितले बताए। ती विषय यसप्रकार छन्-
- भाइरसको आनुवंशिक पहिचान पत्ता लगाउन मद्दत गर्छ र विश्वका अन्य भागमा देखिएका भाइरसका आनुवंशिक पहिचानभन्दा कसरी फरक छ दाँजेर हेर्न मिल्छ
- नेपालमा आएको भाइरसको स्रोत कहाँ हो र कुन कुन चरणमा आयो भन्ने थाहा हुन्छ
- मृत्यु भएका व्यक्तिमा लागेको भाइरस र निको भएकाहरूमा लागेको भाइरसमा आनुवंशिक पहिचानमा फरक छ/छैन पत्ता लाग्छ
- विभिन्न देशले भाइरसविरुद्धको खोप बनाउन लागिरहेका बेला ती खोपहरू नेपालका लागि कति उपयुक्त छन् भन्ने हेर्न सकिन्छ
- अहिले सरकारले भाइरसको सङ्क्रमणका लागि गरिरहेको आरटीपीसीआर परीक्षणमा प्रयोग भइरहेको प्राइमर अर्थात् रसायन ठिक छ कि छैन जानकारी दिन्छ
भाइरसको आनुवंशिक पहिचानबारे अध्ययनका लागि स्वास्थ्य अनुसन्धान परिषद्ले विभिन्न पक्ष हेरेर नमुना सङ्कलन गरेको जनाएको छ।
परिषद्का सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीले भने, "हामीले नमुना सङ्कलन गर्दा फरक ठाउँ, फरक उमेर, फरक लिङ्ग, मृत्यु भएकाको र बाटो हुँदै वा जहाजमार्फत् नेपाल भित्रिएकाहरूको स्वाबको सङ्कलन लिएर अध्ययनका लागि दिएका छौं।"

तस्बिर स्रोत, NHRC
थप अध्ययन
कतिपय माइक्रोबायोलोजिष्टले जम्मा १५ वटा नमुनामाथिको अध्ययन अपर्याप्त हुने बताइरहेका छन्।
परिषद्का सदस्य सचिव डाक्टर ज्ञवालीले अहिलेको अध्ययन सकिएपछि आवश्यकता अनुसार १५० वटासम्म नमुना लिएर अध्ययन गर्ने सोचाइमा आफूहरू रहेको बताए।
"त्यतिबेलासम्म त हामीसँग अध्ययनका लागि सरकारी स्तरकै प्रयोगशाला पनि तयार भइसक्छ। यो अध्ययनले देखाएको परिणामपछि आवश्यकता अनुसार विविध नमुना लिएर हामी थप विश्लेषण गर्छौं," डाक्टर ज्ञवालीले भने।
उनका अनुसार सङ्क्रमण देखिएका व्यक्तिबाट नमुना सङ्कलन गरेर कोरोनाभाइरसको आनुवंशिक संरचनाको अध्ययन गरेपछि त्यसले बिरामीको प्रतिरक्षा विज्ञानबारे अनुसन्धान गर्न पनि मद्दत गर्नेछ।
यसरी गरिएको अध्ययनको 'क्रस भेरिफिकेसन' का लागि विश्व स्वास्थ्य सङ्गठनमार्फत् स्वाबहरू विदेश पठाइने परिषद्ले जनाएको छ।
नेपालमा भएको र विदेशमा गरिने क्रस भेरिफिकेसनबाट नतिजा एउटै आएपछि यस्ता खालका अध्ययनको क्षमता पनि बढ्ने परिषद्का सदस्यसचिव ज्ञवालीले बताए।
नेपालमा यो अध्ययन दुईदेखि तीनसातासम्ममा सकिने उनले बताए।
यसअघि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशलादेखि त्रिभुवन विश्वविद्यालय र काठमाण्डू विश्वविद्यालयलगायतसँग यो अध्ययनका लागि प्रयास गरिएको थियो।
तर अध्ययनका लागि त्यो स्तरको प्रयोगशाला तत्काल तयार नभएकाले निजी संस्थालाई दिएर परिषद्ले अध्ययन थालेको हो।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा









