कोरोना भाइरस नेपाल: थप तीन जनाको मृत्यु, ५८१ सङ्क्रमित फेला परे

तस्बिर स्रोत, EPA
विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको र ५८१ नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १०७ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या २७,२४१ पुगेको छ।
सोमवार अपराह्न आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले देशभरि ९,६३९ जनामा सक्रिय सङ्क्रमण भएको जानकारी दिए।
तीमध्ये २,६०१ जना होम आइसोलेशनमा छन् भने बाँकी ७,०३८ जना संस्थागत आइसोलेशनमा छन्।
अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।

मृतकहरू रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाण्डूकी ५८ वर्षीया महिला हुन्।
को हुन् सङ्क्रमित?
सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्।
काठमाण्डू उपत्यकाका १६८ सङ्क्रमित थपिएका छन्। तीमध्ये काठमाण्डू जिल्लाका १३९, ललितपुरका १५ र भक्तपुरका १४ जना छन्।
त्यसैगरी पर्सामा ७७ , बारामा ५७, मोरङमा ४० र सुनसरीमा ३१ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार अहिले काठमाण्डू उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्खया २,१३४ पुगेको छ।
मन्त्रालयका अनुसार मोरङ, पर्सा, रौतहट, महोत्तरी सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी छ।
सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य छ।
के छ अरू तथ्याङ्क?
विगत २४ घण्टामा ११,५२० वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ।
सोही अवधिमा १५६ जना भाइरसमुक्त प्रमाणित भए।
मन्त्रालयका अनुसार अहिलेसम्म १७,४९५ सङ्क्रमित निको भएका छन्। अर्थात् ६४.२ प्रतिशत सङ्क्रमितहरू रोगमुक्त भएका छन्।
अहिले देशभरि क्वारन्टीनमा १५,१९८ जना छन्।
अहिले विभिन्न अस्पतालमा ११३ जना गम्भीर लक्षण भएका सङ्क्रमित आईसीयूमा र छ जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ।



- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा











