कोरोना भाइरस नेपाल: दीर्घ रोगीको उपचार र औषधिको व्यवस्था जटिल

तस्बिर स्रोत, .
- Author, उमाकान्त खनाल
- Role, बीबीसी न्यूज नेपाली, झापा
कोरोनाभाइरसको सङ्क्रमण बढ्दै जाँदा सार्वजनिक यातायातका साधन नचलेको तथा हवाई उडानसमेत नहुँदा राजधानी काठमाण्डूका विभिन्न अस्पताल तथा देश बाहिर गएर उपचार गराएका बिरामीले फलोअप उपचार गर्न र औषधिको व्यवस्था गर्न पाएका छैनन्।
अहिले आकस्मिक तथा अत्यावश्यक सेवाका लागि दिइने सवारी साधनको पास पनि गृह मन्त्रालयले बन्द गरेको छ।
खासगरि मुटु, मृगौला तथा क्यान्सरका बिरामीहरू प्रत्यक्ष मारमा परेका छन्।
विश्व नै कोरोनाभाइरसको सङ्क्रमणको चपेटामा परेका बेला त्यस्ता दीर्घ रोगीले सम्भव भएसम्म स्थानीय क्षेत्रकै चिकित्सकसँग सल्लाह लिएर उपचार तथा औषधिको व्यवस्था गर्न चिकित्सकहरूले सुझाव दिएका छन्।
मिर्गौला रोगीका पीडा
झापाको भद्रपुर नगरपालिकाकी माया पकुवालले दुई बर्ष अघि काठमाण्डूमा मिर्गौला प्रत्यारोपण गराएकी थिइन्।
उनकै जेठाजुले उनका लागि मिर्गौला दान दिएका थिए।
मिर्गौला प्रत्यारोपण गरेको केही महिना पश्चात उनको प्रत्योरोपण गरिएको मिर्गौलामा पुनः एक प्रकारको भाइरसको सङ्क्रमण देखिएपछि उनी भारतको दिल्ली गइन् र उपचार गराइन्।
त्यसपछि महिनाको एक पटक दिल्ली जानुपर्ने अवस्था आयो।

तस्बिर स्रोत, .
जब सङ्क्रमण निको भयो त्यहाँका चिकित्सकले तीन महिनामा एक पटक दिल्ली जान सल्लाह दिए जुन अहिले सम्भव भएको छैन।
दैनिक रूपमा खानुपर्ने औषधि त खाइरहेको भए पनि मिर्गौलाको एउटा विशेष जाँच जुन काठमाण्डु वा दिल्लीमा गराउँदै आएको उनले बताइन्।
पकुवालले भनिन्, 'गाडी नचलेकाले काठमाण्डू त जान सकिएको छैन दिल्लीको के कुरा। औषधि खाएकै छु यहाँ गर्न नमिल्ने मिर्गौलाको एउटा जाँच छ, त्यो गराउन पाएकी छैन।'
देशमा पकुवालजस्ता कैयौँ मिर्गौला रोगी छन् जसले आफूले देखाउँदै आएका चिकित्सक भेट्न पाएका छैनन्।
क्यान्सर रोगी
क्यान्सर रोग भएकाजस्ता दीर्घ रोगीहरूका लागि आफूले देखाउँदै गरेका चिकित्सक भेट्न पाउँदा धेरै सहज अनुभूति गर्ने गरेको उनीहरू बताउँछन्।
नयाँ चिकित्सकसँग भेट्दा पहिला उपचार गराएका कुरा सबै बुझाउनुपर्ने र कतिपय कुरा ती चिकित्सकहरूलाई थाहा नहुने उनीहरूको अनुभव छ।
देशका विभिन्न स्थानका अस्पतालमा क्यान्सरका रोगीको उपचारको व्यवस्था निजी तथा सरकारी अस्पतालहरूले गरे पनि उनीहरू आफूले देखाउँदै आएका चिकित्सककहाँ जान रुचाउँछन्।
झापाको बुद्धशान्ति गाउँपालिका वार्ड नं २ की इन्द्रकुमारी न्यौपाने पनि आफूलाई उपचार गर्ने चिकित्सक भेट्न नपाउने हो कि भन्ने चिन्ताले राति निद्रा नलाग्ने गरेको बताउँछिन्।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा

करिब तीन बर्ष अघि ललितपुरको एउटा अस्पतालमा घाँटीको क्यान्सरको शल्यक्रिया गराएकी न्यौपाने अब सोही अस्पताल जानुपर्ने अवस्था छ।
चिकित्सकले दिएको समय अब हुँदैछ। तर कसरी जाने भन्ने उनलाई चिन्ता छ।
उनले भनिन्, 'यस्तो हुन्छ भन्ने नै भएन। खुलिहाल्ला भन्ने लाग्यो। अब के गर्ने भन्ने थाहा छैन।'
न्यौपाने जस्ता धेरै क्यान्सरका रोगी अहिले घरमै पिरोलिन बाध्य छन्।
नेपालमा नपाउने औषधि ल्याउन गाह्रो
कतिपय दीर्घ रोगीले नेपालमा दर्ता नभएका र बजारमा नपाइने औषधि भारतबाट ल्याएर खाँदै गरेको अवस्था छ।
त्यस्ता औषधि ल्याएर खानेहरूका लागि पनि अहिलेको लकडाउन निकै ठूलो चिन्ता बनेको छ।
कतिपय बिरामीले नेपालमा पाइने अरू नै औषधि खान थालेका छन् तर कतिपयका लागि भारतबाटै मगाउनुपर्ने अवस्था छ।

तस्बिर स्रोत, .
मुटु तथा उच्च रक्तचापका कारण १२ बर्ष अघि टाउकोमा रगत जमेको बेला भारतको सिलिगुडीमा शल्यक्रिया गराएर त्यहीँको औषधि नियमित खाँदै गरेकी झापा बुद्धशान्ति १ की गोमा उप्रेतीलाई अहिले औषधि ल्याउन गाह्रो भएको छ।
लकडाउन सुरु भए यता एक पटकमा तीन महिनाका लागि औषधि मगाएकी उनी अब कसरी ल्याउने भन्ने चिन्तामा छन्।
'जताततै स्थानीय तहले लकडाउन गरेका छन्। घर बाहिर निस्कन पाइएको छैन, औषधि कसरी ल्याउने?' उनले पीडा सुनाइन्।
'स्थानीय चिकित्सकसँगै परामर्श लिँदा राम्रो'
अहिलेको बढ्दो सङ्क्रमणका बेला राजधानी वा अन्य कुनै ठूला शहरमा त्यस्ता दीर्घ रोगी नजानु नै राम्रो हुने चिकित्सकहरूले बताएका छन्।
ठूला शहरमा कोरोनाभाइरसको सङ्क्रमण बढ्दै गएकाले दीर्घ रोगीहरूका लागि अझ जोखिम हुने मेची अस्पताल भद्रपुरका फिजिसियन डा. गोविन्द कँडेलले बताए।
उनले भने, 'अब कतिपय विरामीको स्थानीय अस्पतालमा परीक्षण नै नहुने स्थितिमा त के गर्नु र। तर स्थानीय क्षेत्रमै उपलब्ध फिजिसियन वा सम्बन्धित रोगका विशेषज्ञसँग परामर्श लिनुको विकल्प छैन।'
उनले फोन, इमेल वा सामाजिक सञ्जालबाट आफ्ना चिकित्सकसँग परामर्श गर्न दीर्घ रोगीलाई सुझाव दिएका छन्।








