कोरोना भाइरस उपचार: नेपालमा कोभिड-१९ भएका बिरामीलाई के औषधि दिइन्छ?

कोरोनाभाइरस औषधि

तस्बिर स्रोत, EPA

अहिलेसम्म औषधि वा खोप पत्ता लाग्न नसकेको कोरोनाभाइरसबाट बिरामी भएकाहरूलाई स्वास्थ्य अवस्था हेरेर प्यारासिटामोलदेखि भिटामिनहरू र निमोनियाका वा श्वासप्रश्वासका बिरामीलाई त्यसैअनुसार औषधि दिने गरिएको चिकित्सकहरूले बताएका छन्।

कोभिड-१९ भएका बिरामीलाई कस्तो औषधि दिने भनेर विश्व स्वास्थ्य सङ्गठनले निर्देशिका बनाएको छ। नेपाल मेडिकल काउन्सिलले पनि गत एप्रिलमा कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिलाई स्वास्थ्यसंस्थामा दिइने सेवाबारे एउटा अन्तरिम निर्देशिका जारी गरेको थियो।

उक्त निर्देशिकाअनुसार कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्ति कुन वर्गको बिरामी हो त्यो छुट्याउन छवटा आधार तोकिएको छ।

कोभिडका बिरामीहरूमा सामान्य ज्वरो, निमोनिया, गम्भीर निमोनिया, एआरडीएस, सेप्सिस वा सेप्टिक शक भएको हुनसक्छ।

साठी वर्षभन्दा माथिका, दमका बिरामी, मधुमेह वा मुटुरोग भएका व्यक्तिहरूलाई सङ्क्रमण भए उच्च जोखिममा पर्ने हुनाले विशेष निगरानी आवश्यक पर्ने बताइन्छ।

'सामान्य औषधिदेखि एन्टीबायोटिकसम्म'

सङ्क्रमण देखिएर उपचार गरिरहेका बिरामीको स्वास्थ्यस्थिति, उमेर, अन्य रोग हेरेर त्यहीअनुसार औषधि दिने गरिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता डा. अनुप बास्तोलाले बताए।

"अक्सिजन नै चाहिने अवस्थाको मानिसलाई डेक्सामेथासेन भन्ने स्टेरोइड प्रयोग गर्छौं अथवा अवस्था हेरेर मिथाइलप्रेड्निसोलोनको पनि प्रयोग गर्छौं," उनले भने।

उनका अनुसार शरीरमा रगत जम्ने समस्या देखियो भने हेपारिन नामक औषधि पनि दिने गरिएको छ।

औषधि

तस्बिर स्रोत, Getty Images

कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका अधिकांश व्यक्तिमा सामान्य लक्षण पनि नदेखिएको सरकारको भनाइ छ। तर लक्षण देखिएका र बिरामी परेकामध्ये आठदेखि १० प्रतिशतलाई अरू सङ्क्रमण देखिएको अवस्थामा एन्टीबायोटिक दिने गरेको डा. बास्तोलाले बताए।

उनी भन्छन्, "मुख्य कुरा भनेको अक्सिजन हो। त्यसबाहेक हामी सामान्य ज्वरो छ भने सिटामोल दिन्छौँ। खोकी छ भने कफ सिरप दिन्छौँ।"

उनका अनुसार अहिले बिरामीलाई दिइँदै आएको औषधिहरू सहज रुपमा उपलब्ध हुने औषधि हुन्।

DEXAMETHASONE

तस्बिर स्रोत, Getty Images

त्यसबाहेक विदेशतिर रेम्डिसिभिर नामक एन्टीभाइरल औषधिको प्रयोग हुने गरेको छ। नेपालमा भने त्यो उपलब्ध भइनसकेको जानकारी उनले दिए।

आयुर्वेदिक उपचार

कतिपय क्षेत्रमा भने बिरामीहरूलाई आयुर्वेदिक औषधि दिएर पनि उपचार गरिने गरेको ती क्षेत्रका चिकित्सकहरूले बताएका छन्।

प्रदेश आयुर्वेद अस्पताल सुर्खेतका प्रमुख डा. शङ्करप्रसाद रिजालले उपचार गरिरहेका कोरोनाभाइरस सङ्क्रमित बिरामीहरूलाई आयुवेर्दिक औषधि खुवाउने गरिएको बताए।

"लक्षण नदेखिएका सङ्क्रमितहरूलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन गुर्जो, अश्वगन्धा, जेठीमधुजस्ता औषधि खुवाउने गरिएको छ," उनले भने।

यस्तै लक्षण देखिएका सङ्क्रमित बिरामीलाई भने सितोपलादि, त्रिकटु, मृगमदासव, कनकासव, कस्तूरीभूषणजस्ता औषधि दिने गरिएको जानकारी उनले दिए।

बिरामीको स्वास्थ्य अवस्था हेरेर औषधि

सुर्खेतस्थित कर्णाली प्रदेश अस्प्तालका वरिष्ठ चिकित्सक के.एन. पौडेलले कोरोनाभाइरस सङ्क्रमित बिरामीलाई लक्षणअनुसारको उपचार गरिँदै आएको बताए।

औषधि

तस्बिर स्रोत, Getty Images

उनका अनुसार कोरोनाभाइरसबाट बिरामी भएकालाई ज्वरो आउँदा सिटामोल, पेट दुख्दा पीडा कम गर्ने औषधि र बिरामीको रोग प्रतिरोधात्मक शक्ति बढाउन भिटामिनहरू दिने गरिएको छ।

त्यस्तै पछिल्लो समय सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको प्रदेश नं २ स्थित नारायणी अस्थायी कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंहका लक्षणविहीन व्यक्तिलाई कुनै औषधि दिने गरिएको छैन। लक्षण भएका बिरामीलाई मात्र औषधि दिने गरिएको उनले बताए।

बिरामीको अवस्था कस्तो छ र समस्या केके देखिएका छन् त्यसैअनुसार औषधि दिने गरिएको उनले बताए।

"जीउ दुखेको वा ज्वरो आएको बिरामीलाई प्यारासिटामोल दिन्छौँ। प्रायः सबै बिरामीलाई दिने चाहिँ रोगप्रतिरोधी क्षमता बढाउने र एन्टीअक्सिडन्ट गुण भएको औषधि हो," डा. सिंहले भने।

त्यस्ता औषधिमा भिटामिन बी कम्प्लेक्स, क्याल्सीअम र भिटामिन सी पर्ने उनले बताए।

अलि गम्भीर खालका बिरामीलाई अवस्था हेरेर आवश्यकताअनुसार डेक्सामेथासोन, विभिन्न एन्टीबायोटिक र अन्य औषधि दिने गरिएको उनले बताए।

सरकारी तथ्याङ्कअनुसार देशभरि कोरोनाभाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ५,००० भन्दा बढी छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस नेपाल: बिरामीका लागि औषधि र खाना ओसार्ने ‘सिस्टर रोबट’
Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर