कोरोना भाइरस उपचार : विश्व स्वास्थ्य सङ्गठन अप्रमाणित 'औषधि'बारे किन बन्यो चिन्तित

विद्यार्थी

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, माडागास्करका विद्यार्थीहरूलाई राष्ट्रपतिले उद्घाटन गरेको हर्बल टनिक प्रयोग गर्न प्रोत्साहित गरिएको छ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको सङ्क्रमणसँग जुध्न मानिसहरूले गरिरहेको अप्रमाणित 'औषधि'को प्रयोगविरुद्ध चेतावनी जारी गरेको छ।

उसले अफ्रिकीहरू परम्परागत उपचारहरूमा धेरै नै आश्रित भए पनि उचित परीक्षण भएका औषधीहरूमा उनीहरूको पहुँचको अधिकार रहेको बताएको छ।

माडागास्करका राष्ट्रपतिले कोभिड-१९ का बिरामीहरूको उपचारका निम्ति शक्तिबर्धक 'हर्बल टनिक'लाई प्रोत्साहित गरेपछि डब्ल्यूएचओको वक्तव्य आएको हो।

अफ्रिकी युनियन (एयू) ले उक्त उत्पादनको 'सुरक्षा र क्षमता'को वैज्ञानिक आधार हेर्न चाहेको जनाएको छ।

राष्ट्रपतिका सल्लाहकारले तीन सातामा २० जनाभन्दा कम मानिसमा 'कोभिड-अर्ग्यानिक्स' भनिने उक्त टनिकको परीक्षण गरिएको बीबीसीलाई जानकारी दिए। जुन डब्ल्यूएचओको चिकित्सकीय परीक्षण सम्बन्धी निर्देशिका अन्तर्गत पर्दैन।

सानो सङ्ख्यामा बिरामीहरूबाट सुरु गरेर त्यसलाई देशव्यापी बिस्तार गरिने सम्भावित औषधीको चार चरणको परीक्षणले लामो समय लिनसक्छ।

डब्ल्यूएचओको आपत्तिकाबीच गिनी-बिसाऊ, इक्वटोरियल गिनी र लाइबेरिया जस्ता कैयौँ अफ्रिकी देशहरूले कोभिड-अर्ग्यानिक्स मगाइसकेका छन्।

गत साता माडागास्कर का राष्ट्रपति एन्ड्री राजोलिनाले टनिकको बारेमा अफ्रिकी नेताहरूसँग अनलाइन बैठकमा कुराकानी गरेका थिए।

बैठकपछि एयूले कोभिड-अर्ग्यानिक्सका बारेमा थप बिस्तारमा जान्न चाहेको बताएको छ। अफ्रिका सेन्टर्स् फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनबाट त्यसको पुनरवलोकन हुनसक्छ।

परीक्षण

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, खोप नबन्दासम्म परीक्षण र सङ्क्रमितको सम्पर्कमा पुगेका मानिसको पहिचान गर्नु भाइरस रोकथामको राम्रो उपाय हुने डब्ल्यूएचओले जनाएको छ

डब्ल्यूएचओले परम्परागत उपचार र वनस्पतिमा आधारित खोजको स्वागत गरेको छ तर त्यसको 'प्रभावकारिता र प्रतिकूल प्रभावको परीक्षण हुनुपर्ने' बताएको छ।

उसको वक्तव्यमा भनिएको छ, "अफ्रिकीहरू बाँकी विश्वका मानिसहरूले जस्तै परीक्षणको समान मापदण्ड पूरा गरेका औषधी प्रयोग गर्ने अधिकार राख्छन्।"

विश्वभरी खोप पत्ता लगाउन दर्जनौँ अनुसन्धान योजनाहरू चलिरहेका छन्।

धेरै विशेषज्ञहरूले खोप उपलब्ध हुन भाइरस पहिलो पटक देखिएको मितिदेखि १२ देखि १८ महिना अर्थात् सन् २०२१ को मध्यसम्म समय लाग्न सक्ने ठानेका छन्।

कैयौँ अफ्रिकी देशहरूले कोरोनाभाइरसको बिस्तार रोकथामको निम्ति तत्कालै लकडाउन वा कर्फ्यू लगाएका थिए।

तर आर्थिक र स्वास्थ्यसम्बन्धी स्वार्थबीच सन्तुलन ल्याउने सरकारी प्रयास स्वरूप ती अहिले फिर्ता लिन सुरु गरिएको छ।

राष्ट्रपतिले तीन ठूला सहरहरूमा लकडाउन जारी गरेको तर अहिले खुकुलो बनाइएको समाचार संस्था एएफपीले जनाएको छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर