कोरोना भाइरस: डेक्सामेथासोन के हो र यसले कोभिड-१९ विरुद्ध कसरी काम गर्छ

डेक्सामेथासोन

तस्बिर स्रोत, Getty Images

गम्भीर बिरामीहरूको दुखाइ कम गराउने औषधि डेक्सामेथासोनले यूकेमा कोरोनाभाइरस सङ्क्रमणबाट गम्भीर बिरामीहरूको उपचारमा प्रभावकारी भूमिका खेलेको दाबी गरिएको छ।

यूकेमा गरिएको परीक्षणले उक्त औषधिले कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान जोगाउन सक्ने देखाएको छ।

यसलाई यूकेको स्वास्थ्यसम्बन्धी निकाय न्याश्नल हेल्थ सर्भिस एनएचएसले तुरुन्तै प्रयोग गर्न सकिने बताएको छ।

तर यो औषधि कस्तो हो? यसले कसरी काम गर्छ?

डेक्सामेथासोन के हो?

डेक्सामेथासोन स्टेरोइड हो।

यो एक प्रकारको औषधि हो जसले शरीरमा दुखाइ कम गर्ने हर्मोनले जस्तै काम गर्छ।

यसले कसरी काम गर्छ?

यो औषधिले शरीरको प्रतिरक्षा प्रणालीलाई ओसिलो बनाउँछ।

शरीरले कोरोनाभाइरस लड्ने क्रममा उक्त सङ्क्रमणले जलन उत्पन्न गराउँछ।

तर कहिलेकाहीँ प्रतिरक्षा प्रणाली अत्यधिक सक्रिय भइदिन्छ र यो प्रतिक्रिया घातक सिद्ध हुन सक्छ।

सङ्क्रमणसँग जुझ्नका बनेका प्रतिरक्षाले नै शरीरका कोषलाई आक्रमण गरिदिन्छ।

डेक्सामेथासोनले यसको प्रभावलाई न्यूनीकरण गर्छ।

चिकित्सक

तस्बिर स्रोत, Getty Images

यो अस्पतालमा भर्ना गरिएका र अक्सीजन अनि भेन्टीलेटरको सहायता लिइरहेकाहरूका लागि मात्रै उपयुक्त छ।

सामान्य लक्षण देखिएका व्यक्तिमा यो औषधिले काम गर्दैन।

यो कत्तिको प्रभावकारी छ?

परीक्षणमा संलग्न वैज्ञानिकहरूका अनुसार औसतमा भेन्टीलेटरमा उपचारार्थ २५ जनामध्ये एकको मृत्यु हुनबाट जोगाउन सकिन्छ।

यो औषधिले अक्सिजन दिइएका आठ जनामा एक जनाको जीवन जोगाउने देखिएको छ।

श्वासप्रश्वासमा समस्या नदेखिएका बिरामीहरूमा भने खासै फाइदा देखिएको छैन।

औषधि

परीक्षण कस्तो थियो?

अक्सफोर्ड विश्वविद्यालयले गरेको परीक्षणबाट यो नतिजा प्राप्त भएको हो।

उक्त अध्ययनले अन्य रोगका लागि प्रयोग गरिएका विद्यमान औषधि कोभिड-१९ सङ्क्रमणको उपचारका लागि उपयोगी हुन सक्छ कि सक्दैन भनेर परीक्षण गरिरहेको छ।

परीक्षणका क्रममा करिब २,१०० बिरामीहरूले १० दिनसम्म छ मिलिग्राम डेक्सामेथासोन दिइएको थियो।

उनीहरूको अवस्थालाई थप उपचार नगरिएका ४,३०० जनाबाट सङ्कलन गरिएको नमुनासँग तुलना गरिएको थियो।

वैज्ञानिकहरूले क्रमिक रूपमा डेक्सामेथासोनलाई अन्य औषधिहरूसँगै प्रयोग गर्न सकिने र त्यसले मृत्युदर घटाउन सक्ने आशा गरेका छन्।

यो औषधि वयस्कहरूका लागि पनि सिफारिस गरिएको छ।

तर गर्भवती वा स्तनपान गराइरहेका आमाहरूले भने यसको प्रयोग गर्न नहुने बताइएको छ।

औषधिको उपलब्धता कस्तो छ?

डेक्सामेथासोन सस्तो औषधि हो र यसको उत्पादन पनि राम्रै स्तरमा भइरहेको छ।

यूकेको सरकारले आफूसँग यसको पर्याप्त मौज्दात रहेको र त्यसले २००,००० मानिसको उपचार गर्न पुग्ने बताएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस उपचार: चिकित्सकको सिफारिसबिना डेक्सामेथासोन प्रयोग नगर्न चेतावनी

नेपालमा भारतबाट धेरै आयात गरिए पनि एउटा स्वदेशी औषधि कारखानाले पनि उत्पादन गरिरहेको औषधि व्यवस्था विभागले जनाएको छ।

डेक्सामेथासोन सन् १९५७ मा बनाइएको थियो।

लामो समयदेखि यो औषधि प्रयोगमा रहेका कारण यसको सर्वाधिकार कसैसँग पनि छैन।

यसको अर्थ विभिन्न कम्पनीहरूले यसको उत्पादन गर्ने सक्छन् र यो औषधि विश्वभरि उपलब्ध छ।

विश्व स्वास्थ्य सङ्गठनले परीक्षणको नतिजालाई स्वागत गरेको छ।

डेक्सामेथासोन

तस्बिर स्रोत, JUSTIN TALLIS/AFP

यसको प्रयोग के-के मा हुन्छ?

डेक्सामेथासोन विभिन्न रोगको उपचारमा प्रयोग हुन्छ।

शरीर सुन्निनेदेखि दम र जोर्नीको दुखाइ कम गर्न यसको प्रयोग हुँदै आएको छ।

के यसका साइड इफेक्ट छन्?

डेक्सामेथासोनका निन्द्रा लाग्न गाह्रो हुने, तौल बढ्ने र शरीरमा तरल पदार्थ कम नहुने साइड इफेक्ट छन्।

कुनैकुनै अवस्थामा आँखामा समस्या देखिन सक्छ। दृष्टि कमजोर हुनुका साथै रक्तस्राव हुन सक्छ। तर यी दुर्लभ छन्।

कोरोनाभाइरस सङ्क्रमितहरूले भने यसको कम मात्रा लिने हुँदा साइड इफेक्ट कम हुन्छ।

इङ्गल्यान्डका प्रमुख स्वास्थ्य अधिकृत भन्छन्: "बिरामीहरूमा डेक्सामेथासोनको यो मात्रा प्रयोग गर्दा खासै हानि देखिएको छैन।"

कोरोनाभाइरस ब्यानर