कोरोना भाइरस नेपाल: सङ्क्रमणका कारण अस्पतालका स्वास्थ्य सेवा प्रभावित हुँदा बिरामी मर्कामा

तस्बिर स्रोत, RSS
कोरोनाभाइरसबाट सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या बढिरहेका बेला राजधानीसहित देशभरिका थुप्रै अस्पतालका सेवा प्रभावित भएका छन्।
स्वास्थ्यकर्मीमा कोरोनाभाइरस सङ्क्रमण देखिएका कारण कतिपय अस्पतालहरू सिल हुँदा स्वास्थ्य सेवा प्रभावित बनेका हुन्।
नेपाल मेडिकल काउन्सिलले 'अस्पतालहरू सावधानीका उपाय नअपनाइदिँदा' सिल हुने अवस्था आउनुचिन्ताजनक रहेको बताएको छ।
यसैबीच स्वास्थ्य मन्त्रालयले भने स्वास्थ्यकर्मीहरू सङ्क्रमित हुँदा पनि उपचार कायम राख्ने गरी तयारी गरेको बताएको छ।
कुन-कुन अस्पताल बन्द?
काठमाण्डूको गंगालाल हृदयरोग केन्द्रमा सङ्क्रमण देखिएपछि नयाँ बिरामीहरूले उपचार पाउन समस्या बेहोरेका छन्।
त्यस्तै केही दिनअघि वीर अस्पताल पनि आंशिक रूपमा सिल गरिएको थियो।
बिहीवारदेखि धुलिखेल अस्पतालको आकस्मिक बाहेकका सबै सेवाहरू अनिश्चित कालका लागि बन्द गरिएको अस्पतालले जनाएको छ।
चितवनको भरतपुर अस्पतालमा पनि आकस्मिक कक्षमा कार्यरत नर्समा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि आकस्मिक कक्ष सिल गरिएको छ।
धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि अर्को सूचना नहुन्जेलसम्मका लागि भन्दै बाहिरका बिरामीलाई दिइने सेवा पूर्ण रूपमा बन्द गरिएको सूचना बुधवार निकालेको छ।

तस्बिर स्रोत, RSS
बन्द गरिएका अस्पताल सञ्चालनमा
सङ्क्रमण धेरै देखिएको प्रदेश २ को वीरगञ्जस्थित अधिकांश अस्पतालहरू सिल गरिएका थिए।
अहिले एडभान्स अस्पताल बाहेक बाँकी अस्पताल सञ्चालनमा आएको नारायणी अस्पतालका संयोजक डा. उदायनारायण सिंहले बताए।
त्यस्तै प्रदेश नम्बर १ को विराटनगरमा सबैभन्दा ठूलो सरकारी अस्पताल कोशी अस्पताल अहिले सञ्चालनमा छ।
उक्त अस्पतालका प्रमुख डा. चुमनलाल दासका अनुसार एक चिकित्सकसहित १८ जना स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएपछि केही दिनका लागि बहिरङ्ग सेवा बन्द गरिएको थियो।
विराटनगरका धेरैजसो निजी अस्पतालहरूमा भने आकस्मिक बाहेकका सेवा बन्द गरिएको हाम्रा सम्वाददाता विक्रम निरौलाले जानकारी दिए।
तर आकस्मिक सेवा सञ्चालनमा रहेको बताइए पनि कोरोनाभाइरसको सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीहरूको उपचारमा भने ती अस्पतालले आनाकानी गर्दा सरकारी अस्पतालमा चाप बढेको छ।
कर्णालीमा अस्पताल पुन: सञ्चालनमा
कर्णाली प्रदेशमा अहिले कुनै अस्पताल सिल नगरिएको भए पनि विगतमा सुर्खेतस्थित प्रदेश अस्पताल र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सिल गरिएको थियो।
कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार अहिले सिल गर्नुपर्ने अवस्था नरहेको र यदि स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिए पुन: सिल गरिने बताए।
कतिपय स्थानमा अस्पताल सिल नगरिए पनि लकडाउनका कारण बिरामीलाई अस्पतालसम्म पुग्न असहज भएको बताइन्छ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सुर्यबहादुर भट्टराईका अनुसार अस्पतालका सेवाहरू पूर्ववत् अवस्थामै सञ्चालन भइरहेका छन्।
कोरोनाभाइरसबाट सङ्क्रमित भएका मानिसहरूलाई भने अस्थायी रूपमा बनाइएका दुईवटा अस्पतालमा उपचार गरिँदै आएको बीबीसी सम्वाददाता माधव नेपालले जानकारी दिए।
यसअघि नेपालगञ्ज मेडिकल कलेज पनि सिल गरिएको थियो। अहिले भने प्रभावित विभागमात्रै परिस्थिति अनुसार केही घण्टा सिल गर्ने गरिएको अस्पतालले जनाएको छ।
“कहिले एकै पटक दुई-तीनवटा विभाग सिल गर्नुपर्ने अवस्था आउँछ। कहिले पूरै अस्पताल। तर अहिले अस्पतालका सबै विभागबाट सेवा सञ्चालमा रहेको छ," शिक्षण अस्पताल कोहलपुरका उप-निर्देशक नितेशकुमार कनोडियाले भने।
अहिले अस्पतालका कतिपय विभागमा स्वाथ्यकर्मीको अभावका कारण सेवा दिन असहज भएको पनि उनले बताए।

तस्बिर स्रोत, RSS
'चिन्ताजनक अवस्था'
अस्पतालमा आउने बिरामी वा स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएपछि त्यसको मारमा अन्य रोगको उपचार गर्ने बिरामीमा पर्ने गरेको चिकित्सक तथा जनस्वास्थ्यविद्हरूले बताउने गरेका छन्।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले अस्पतालहरू सिल हुने अहिलेको अवस्था नै चिन्ताजनक रहेको बताए।
कोइरालाले भने, “अस्पतालहरूले सावधानीका उपाय नअपनाइदिँदा कोभिड नभएका बिरामीलाई पनि उल्लेख्य धक्का पुगेको छ।"
"उपचारमा आएका बिरामीलाई पछि सङ्क्रमण देखिने र त्यतिबेलासम्म धेरै सङ्क्रमित भइसक्ने कारणले समस्या बढ्दै गएको देखिन्छ।”
अहिलेको चुनौती कोभिड-१९ भएका स्वास्थ्यकर्मीबाट बिरामीलाई नसर्ने व्यवस्था गर्नुपर्ने उनले बताए।
अझै पनि थुप्रै अस्पतालहरूले सङ्क्रमणबाट जोगिन र त्यसबारे अपनाउनुपर्ने सावधानी नअपनाएका कारण अवस्था खराब हुनसक्ने उनले बताए।
काउन्सिलकै अर्का सदस्य डा. ढुण्डीराज पौडेलले समयमै कोरोनाभाइरस सङ्क्रमित अस्पतालहरू व्यवस्था नगरिँदा त्यसले अन्य बिरामीलाई समेत मर्का परिरहेको बताए।
डा. पौडेलले भने, “कोरोनाभाइरसका बिरामीको उपचार गर्ने छुट्टै अस्पतालको व्यवस्था नहुँदा अस्पतालमा सङ्क्रमण देखिएर सिल हुने अवस्था आउन थालेको छ।"
"यसले गर्दा अन्य रोगका कारण उपचार गर्न आउने बिरामीको अकालमा मृत्यु हुने अवस्था आएको छ।”
अहिले देशभरका निजी तथा सरकारी गरी १५९ वटा अस्पतालहरूले कोरोनाभाइरसम्बन्धी सेवा दिइरहेको बताइन्छ।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा

सङ्क्रमित चिकित्सकलाई नै उपचार गराउने तयारी
स्वास्थ्यकर्मी वा अस्पतालका कर्मचारीहरू नै सङ्क्रमित हुन थालेपछि अस्पतालका सेवाहरू थप प्रभावित हुने चेतावनीमाझ स्वास्थ्य मन्त्रालयले त्यसतर्फ के तयारी गर्दैछ?
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले स्वास्थ्य सेवा प्रभावित हुँदा के गर्ने भन्नेबारे वैकल्पिक व्यवस्था गरेको बताए।
डा. अधिकारीले भने, “सङ्क्रमित देखिने बित्तिकै सेवा बन्द गर्न भन्ने मन्त्रालयको निर्देशन छैन।"
"कुनै विभागमा देखिए त्यसलाई बन्द गरेर अरू सेवा सञ्चालनमै राख्नुपर्ने हाम्रो सुझाव हो।”
उनका अनुसार अवस्था थप खराब हुँदै गए सङ्क्रमित चिकित्सकलाई नै उपचारमा संलग्न गराउने गरी काम भइरहेको उनले बताए।
“विदेशमा पनि यसै गरिन्छ। हामीले पनि वीरगञ्जमा त्यसै गरेका छौँ।
उनले भने, "स्वास्थ्यकर्मीको अभाव हुने अवस्था आयो भने व्यक्तिगत सुरक्षा सामग्री प्रयोग गरेर तिनै चिकित्सकहरूले उपचार गर्नुपर्छ।”








