कोरोना भाइरस: कोभिड-१९ लागेर निको भएका युवाहरूको चेतावनी

ब्रिटेनमा रमाउँदै युवाहरू

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, युवाहरूले सामजिक दूरीको नियम पालना नगरेको अधिकारीहरूको आरोप छ

“तपाईँ बीसको उमेर भएकै कारण अभेद्य हुनुहुन्न,” सामाजिक दूरीको नियमलाई उल्लङ्घन गरेको तस्बिर सामाजिक सञ्जालमा राख्ने साथीहरूलाई एमी सिर्सल चेतावनी दिन्छन्।

बाइस वर्षकी उनले आफ्नै शरीरमा कोरोनाभाइरसको कठोर प्रभावहरू महसुस गरेकी छन् र उनी अरू युवाहरूलाई नियम पालना गरेर भाइरसबाट जोगिन सुझाव दिन्छिन्।

हालै विश्वविद्यालयबाट उत्तीर्ण भएकी उनलाई मार्चमा पोर्चुगलको भ्रमणका क्रममा सङ्क्रमण भएपछि बेहोश हुने गरी ज्वरो आयो।

निरन्तर वान्ता हुने र निद्रा नलाग्ने समस्या देखिएपछि एमी ज्यादै कमजोर भइन् र उनको शरिरमा पानीको पनि अभाव भयो।

अस्पतालमा भर्ना गरिएपछि उनी एक्लै शैय्यामा कामेर बस्थिन् वा पसिनाले निथ्रुक्कै भिझेकी हुन्थिन्।

“त्यो मेरो र परिवार अनि साथीभाइका लागि एकदमै डरलाग्दो र अप्ठेरो समय थियो,” अस्पतालको बेडबाट १२ औँ दिनमा गरेको भाइरल ट्वीट सम्झँदै उनले बीबीसीसँग भनिन्।

उक्त डरलाग्दो अनुभवपछि एमीले आफूजस्ता युवाहरूलाई स्वस्थ्य रहे पनि कोरोनाभाइरसको जोखिमलाई कम नआँक्न बताइरहेकी छन्।

तर उनका अनुभवमा धेरैले त्यसलाई वास्ता नै गरिरहेका छैनन्।

एमी कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त भएकी हुन्

तस्बिर स्रोत, Amy Shircel

तस्बिरको क्याप्शन, एमी कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त भएकी हुन्

“जब म बिरामी बेला सम्पर्क गर्ने साथीहरू र मानिसहरू बाहिर गइरहेको देख्छु वा सावधानी नअपनाई घुमिरहेको देख्छु, त्यो मलाई झापड हाने जस्तै लाग्छ।”

“ठूलो सङ्ख्यामा मेरो उमेरका मानिसहरू मदिरालय जान चाहिरहेका छन् र साथीसँग मदिरा पिउन इच्छुक छन्। त्यस्तो देख्दा मलाई एकदमै गाह्रो हुन्छ।”

के युवाका कारण सङ्क्रमण बढिरहेको छ?

ब्रिटेनदेखि जापानसम्म र जर्मनीदेखि अस्ट्रेलियासम्म हालै देखिएका कोभिड-१९ सङ्क्रमण वृद्धिका लागि युवाहरूलाई आरोप लगाइएको छ।

कैयौँ अधिकारीहरूले यो उमेर समूहका व्यक्तिहरू बाहिर निस्किरहेको र महिनौँदेखि लकडाउनका कारण दिक्क भएर उनीहरूले सामाजिक दूरीसम्बन्धी नियमहरू उल्लङ्घन गरिरहेको बताएका छन्।

खुल्ला हुन थालेका होटल, भोजनालय र मदिरालयमा बढी युवाहरू कार्यरत रहेकाले यस्तो भएको कतिपय विज्ञले औँल्याएका छन्।

हालै स्थानीय लकडाउनको घोषणा गर्दै ब्रिटेनको ग्रेटर म्यानेचेस्टरका उपमेयर रिचर्ड लिजले सङ्क्रमित युवाहरूको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको बताएका थिए।

जापानका सङ्क्रमितहरूमा सबैभन्दा ठूलो सङ्ख्या २० देखि २९ वर्षका व्यक्तिहरू रहेका छन्

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, जापानका सङ्क्रमितहरूमा सबैभन्दा ठूलो सङ्ख्यामा २० देखि २९ वर्षका व्यक्तिहरू रहेका छन्

उनले नयाँ सङ्क्रमितमध्ये अधिकांश युवा रहेको भन्दै उनीहरूले महामारी सकिएको ठान्दै जमघट र गैरकानुनी पार्टीहरूमा भाग लिइरहेको बताए।

टोकियोमा पनि युवाहरू मदिरालयमा फर्किन थाल्नुलाई सङ्क्रमण वृद्धि हुनुको कारण मानिएको छ। त्यहाँ सबैभन्दा बढी सङ्क्रमित २० देखि २९ वर्षका छन्।

अस्ट्रेलियाको मेलबर्नमा पनि त्यस्तै अवस्था छ। त्यहाँ मानिसहरूलाई खानेकुरा र अत्यावश्यक सामग्री किन्न, व्यायाम र कामका लागि मात्रै घर बाहिर जान अनुमति दिइएको छ भने साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाइएको छ।

युरोपमा पनि बार्सिलोनादेखि उत्तरी फ्रान्स र जर्मनीमा सङ्क्रमण वृद्धि भएको छ। स्पेन र जर्मनीले रात्रीकालीन कर्फ्यु घोषणा गरेका छन्।

फ्रान्समा नयाँ सङ्क्रमितमध्ये १५ देखि ४४ उमेर समूहका व्यक्तिमा सबैभन्दा ठूलो वृद्धि देखिएको छ।

विश्वासमा लिनु उपयुक्त

विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओका युरोप हेर्ने क्षेत्रीय निर्देशक डा. हान्स क्लुका अनुसार प्रमाणित भइनसके पनि नागरिक र स्वास्थ्य निकायहरूले युवाहरूमा बढी नयाँ सङ्क्रमणहरू देखा परिरहेको बताए।

उनले युवाहरूलाई आरोप लगाउनुभन्दा उनीहरूलाई कसरी उपयुक्त ढङ्गले कोभिड-१९ नियन्त्रणमा संलग्न गराउने भनेर सोच्नुपर्ने बताए।

रामिरेजले शल्यक्रियापछि आफ्नै शरीर चिन्न नसकेको तर त्यसले आफ्नो जीवन बचाएको बताइन्

तस्बिर स्रोत, Northwestern Medicine

तस्बिरको क्याप्शन, रामिरेजले शल्यक्रियापछि आफ्नै शरीर चिन्न नसकेको तर त्यसले आफ्नो जीवन बचाएको बताइन्

गएको जुनमा सिकागोमा चिकित्सकहरूले भाइरसका कारण पूर्ण रूपमा दुईवटा फोक्सो क्षति भएकी एक महिलाको दुईवटै फोक्सो प्रत्यारोपण गर्नुपरेको थियो।

स्वस्थ्य अवस्थामा अस्पताल आएकी भनिएकी मायरा रामिरेजलाई १० मिनेटमै भेन्टीलेटरमा राख्नुपरेको थियो र उनले छ हप्ता भेन्टीलेटरमा बिताएकी थिइन्।

उनले आफूलाई उपचारका क्रममा निक्कै पीडा भएको भन्दै भाइरसलाई ठट्टाका रूपमा नलिन उनले सुझाव दिएकी थिइन्।

हालै डब्लूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले कोभिड-१९ को जोखिमबारे युवाहरूलाई बुझाउनु एउटा चुनौती रहेको बताएका थिए।

उनले सङ्क्रमणले युवाहरूको पनि ज्यान जानसक्ने र युवाहरूकै कारण भाइरस अरूमा पनि सर्न सक्ने धारणा गत महिना एउटा सम्मेलनमा राखेका थिए।

युवाहरूलाई कोरोनाभाइरसको कडा लक्षण देखिने जोखिम कम रहे पनि निको भएकाहरूको अनुभवबाट युवाहरू भाइरसको सबैभन्दा खराब असरबाट प्रतिरोधी नरहेको सङ्केत पाइन्छ।