कोरोना भाइरस नेपालः थपिए ४६८ नयाँ सङ्क्रमित, तीन जनाको मृत्यु

तस्बिर स्रोत, RSS
गएको २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको र ४६८ जना बिरामी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार जनाएको छ।
यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १०२ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २६,०१९ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ८,१९३जनामा सक्रिय सङ्क्रमण छ भने १७,२०१ जना भाइरसमुक्त भएका छन्।
गएको नौ दिनमा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४२ छ।
सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश २ मा ३,८२७ जना र बागमती प्रदेशमा २,००२ जना रहेका छन्।
त्यस्तै प्रदेश १ मा ८९४ जना, गण्डकी प्रदेशमा २६२ जना, प्रदेश ५ मा ७३६ जना, कर्णाली प्रदेशमा २२५ जना र सुदूरपश्चिम प्रदेशमा ८१० जना सक्रिय सङ्क्रमित रहेका छन्।
सबैभन्दा बढी सङ्क्रमित काठमाण्डूमा
शनिवार पुष्टि भएकामध्ये सबैभन्दा बढी ८० जना सङ्क्रमित काठमाण्डूका रहेका छन्।
ललितपुर र भक्तपुरमा ९-९ जना सङ्क्रमित थपिएपछि काठमाण्डूका शनिवार ९८ नयाँ सङ्क्रमित थपिएका हुन्।
यो साता मात्रै काठमाण्डूमा ५९५, ललितपुरमा ८७ र भक्तपुरमा ३४ जना गरी उपत्यकामा ७१६ जना सङ्क्रमित थपिएका छन्।
मोरङ्गमा आज ६५ सङ्क्रमित थपिएपछि त्यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० नाघेको छ।
अन्य ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरूमा काठमाण्डू, पर्सा, रौतहट र महोत्तरी रहेका छन्।
मृतक को हुन्?
शनिवार पुष्टि गरिएका तीनै मृतक पुरुष हुन्।
कपिलवस्तुका ४० वर्षीय पुरुषको शनिवार बिहान मृत्यु भएको हो।
ती व्यक्ति तीन महिनाअघि भारतबाट आई क्वारन्टीनमा बसेको र त्यतिबेल परीक्षण नतिजा नेगेटिभ आएको बताइएको छ।
त्यस्तै पर्साका ६० वर्षीय पुरुष र धनुषाका ५० वर्षीय पुरुषको शुक्रवार मृत्यु भएको डा. गौतमले बताए।
पर्साका पुरुषमा मधुमेह, उच्च रक्तचाप तथा पक्षघात रहेको बताइएको छ। धनुषाका मृतकमा मुटुसम्बन्धी समस्या रहेको मन्त्रालयले जनाएको छ।

के छ अरू तथ्याङ्क?
गएको २४ घण्टामा ११,०४७ वटा पीसीआर परीक्षण गरिएको छ।
हालसम्म ५०५,६६० जनाबाट सङ्कलित नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
सो अवधिमा १२४ जना रोगमुक्त प्रमाणित भएका थिए।
अहिले देशभरि क्वारन्टीनमा १४,४४८ जना छन्।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा









