कोरोना भाइरस: कोभिड-१९ ले आदिवासी समुदायलाई कसरी निमिट्यान्न पार्न सक्छ

तस्बिर स्रोत, Getty Images
- Author, टेरी हान्सेन
- Role, बीबीसी फ्युचर
आदिवासीहरूको अधिकारबारे संयुक्त राष्ट्रसङ्घीय विशेष प्रतिवेदकका रूपमा गत फेब्रुअरीमा भिक्टोरिया टाउली-कोपूस् एउटा जहाजबाट जिनिभामा ओर्लिन्।
यो धेरै देशहरू पुग्नुपर्ने एउटा सामूहिक यात्रामा उनको पहिलो बिसौनी ठानिएको थियो।
तर तीव्र रूपमा परिवर्तन भएका क्वारन्टीनसम्बन्धी नियमहरूका कारण यो नै उनको अन्तिम बिसौनी बन्न पुग्यो। उनका अन्य सबै यात्रा रद्द भए।
उनले फिलिपिन्सस्थित घरबाट कोभिड-१९ मा केन्द्रित हुनलाई हवाई यात्रा गरेकी थिइन्।
उनले महसुस गरेकी थिइन् कि- नयाँ कोरोनाभाइरसले आदिवादीहरूमा पार्ने प्रभावले "हामीलाई मानचित्रबाटै मेटाउन सक्छ।"

तस्बिर स्रोत, Getty Images
जोखिम
विश्वभरिका आदिवासी मानिसहरू अन्य जनसङ्ख्याको तुलनामा सरुवा रोगहरूको जोखिममा बढी हुन्छन्।
उदाहरणका लागि क्यानाडामा सन् २००९ मा फैलिएको एचवानएनवान महामारीका बेला १६ प्रतिशत आदिवासी क्यानेडियालीहरू अस्पतालमा भर्ना हुनुपर्यो जबकि उनीहरूको सङ्ख्या ३.४ प्रतिशत मात्र थियो।
कोभिड-१९ पनि अपवाद होइन। अमेरिकामा २,३०० आदिवासी अमेरिकीमा एक जनाको मृत्यु भएको छ। श्वेत अमेरिकीहरू भने ३,६०० मा एक जनाको मृत्यु भएको देखिन्छ।
यसले आदिवासीहरूलाई अश्वेत अमेरिकीहरूपछि सबैभन्दा धेरै जोखिममा रहेको समूह भएको देखाएको छ।

तस्बिर स्रोत, Getty Images
मे महिनाको मध्यमा दक्षिण-पश्चिम अमेरिकास्थित ७० हजार वर्गकिलोमिटर आरक्षण क्षेत्र रहेको नबहो न्याशनले अमेरिकामा कोभिड-१९ को सङ्क्रमण फैलने दरमा न्यूयोर्क राज्यलाई उछिनेको थियो।
टाउली-कोपूस् भन्छिन्, "हामीसँग अस्पताल, चिकित्सक, भेन्टिलेटर- यो सङ्कटबाट बच्नका लागि आवश्यक पर्ने सबैकुरा थोरै छन्।"
"आदिवासीहरूमा पहिलेदेखि नै रहेको परिस्थिति र पोषणको कमीले हामीलाई अति संवेदनशील बनाउँछ।"

तस्बिर स्रोत, Reuters
विशेषगरी अमेजेनका आदिवासीहरू कोभिड-१९ बाट मृत्यु हुने बढी जोखिममा रहेका छन् किनकि उनीहरूलाई व्यावसायिक स्वास्थ्य सहायता दिन कैयौँ दिन लगाएर पुग्नुपर्छ।
जुलाई २४ तारिखसम्ममा उक्त रोगले अमेजोनियाका ३८ जाति समूहका १९ हजार ३ सय २९ मानिसहरूको निधन भयो।
अन्य ६ लाख ७७ हजार ७ सय १९ जनामा सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये अधिकांश ब्राजिलका रहेको रेड इक्लिजोल पानामाजोनियाले जनाएको छ।
"बढ्दो वन विनाश, आगलागी, औद्योगिक प्रदूषण, कृषि व्यापारको विस्तार लगायतका कारणले उनीहरूले पहिलेदेखि नै पारिस्थितिक दुर्घटनाको सङ्घारमा पुगेका छन्," अमेजन आदिवासीबारे अमेजन वाचकी कार्यकारी निर्देशक लैला सालाजर-लोपेज भन्छिन्।
"अहिले महामारीले थप सङ्कट पैदा गरेको छ र हरेक दिन बित्दै जाँदा एथनोसाइड थप वास्तविक बन्दै गएको छ।"

तस्बिर स्रोत, Getty Images
आदिवासीको लडाइँ
आदिवासी समुदायहरू महामारीविरुद्ध लडिरहेका छन्।
टाउली-कोपूस् भन्छिन्, "आदिवासीहरूले सरकार नभएको ठाउँमा सहयोग प्रदान गर्न उठाएका कदमहरू देखेर म आश्चर्यचकित छु।"
"उनीहरूले पीपीई र सरसफाइका सामग्रीहरू प्रदान गरिरहेका छन्, आफैँले मास्क बनाइरहेका छन्, स्थानीय भाषामा कोभिड-१९ बारे जानकारी दिइरहेका छन् र आवश्यक पर्नेलाई खानेकुरा वितरण गरिरहेका छन्।"
उनीहरू अलग्गै रहन पनि चाहिरहेका छन्। इक्वेडरको सिएकोपाई जातिका करिब ४५ आदिवासीहरू आफ्ना पुर्खाहरूको मुख्य थलो जङ्गलको बीचमा गएको उक्त जातिका अध्यक्ष जस्टिनो पियागुआहेले बताए।
उनका अनुसार एकजना वृद्धको मृत्यु भयो तर उनीहरू आइसोलेशनमा गएपछि भने अन्यको मृत्यु भएको छैन।
अलास्कामा धेरै आदिवासी जातिहरू अझै पनि सन् १९१८-१९ को विध्वंशलाई अझै पनि सम्झन्छन्।
साउथ प्यासिफिकमा रारोटोङ्गा जातिले कुक आइल्यान्ड पूरैलाई बन्द गरिदिएका छन्।

तस्बिर स्रोत, Getty Images
अमेरिकामा नबहो जातिले अन्य फिरन्ते जातिले जस्तै आफ्ना सीमाहरू बन्द गरेका छन् र कर्फ्यु लगाएका छन्।
वास्तवमा कोभिड-१९ समुदायका लागि मुख्य खतरा हो। आइसोलेशन र क्वारन्टीनले अन्य समस्याहरू निम्त्याएका छन्।
"बजारबाट विच्छेद भएका समुदायहरूले उनीहरू बाँच्नका लागि आवश्यक पर्ने कुराहरू नपाउन सक्छन्," टाउली-कोपूस् भन्छिन्।
अफ्रिकामा कमजोर स्वास्थ्य प्रणाली र समस्याग्रस्त सरसफाइका कारण आदिवासी समुदायहरू जोखिममा रहेका छन्।
सामाजिक दूरी कायम गर्न अपनाइएका विधिहरूले पनि मानिसहरूलाई समस्यामा पारेको छ।
अर्को समस्या भनेको सूचना प्रवाह र आदिवासी समुदायभित्रै लकडाउन कार्यान्वयन गर्नु पनि हो।
अस्ट्रेलियाको न्यू साउथ वेल्समा आवश्यक नपर्ने कुरामा बाहिर निस्किए ११ हजार अस्ट्रेलियन डलरसम्म जरिवाना तिर्नुपर्ने नियम छ।
त्यहाँका कतिपय आदिवासी समुदायको आयस्तर नै न्यून छ। उनीहरूले यस्तो जरिवाना तिर्न नसक्ने अवस्था आउन सक्छ।
उनीहरूको दुर्गम क्षेत्रको बसाइका कारण उनीहरूले त्यसको जानकारी नपाउन पनि सक्छन्।

तस्बिर स्रोत, Amazon Frontiles y Alianza Ceibo via Reuters
टाउली-कोपूस् आदिवासीहरूलाई उनीहरूको स्थानलाई कानुनी पहिचान दिएमा उनीहरू स्वयम्ले लकडाउनको प्रभावकारी कार्यान्वयन गर्नसक्ने बताउँछिन्।
उनी निजी क्षेत्र र सरकारले समेत यो महामारीलाई प्रयोग गरेर आदिवासीहरूको जमिन कब्जा गर्ने क्रम र उनीहरूको मानव अधिकार हनन गर्ने क्रम बढेका विवरणहरू आएको बताउँछिन्।
विभिन्न क्षेत्रका आदिवासी जातिका नेताहरूले आफ्नो समुदायका वृद्धहरू खतरामा पर्दा धेरैखाले ज्ञान उनीहरूसँगै जाने चिन्ता पनि व्यक्त गरेका छन्।
कोभिड-१९ को चपेटामा परेका वृद्धहरूको निधन धेरै हुने भएकाले उनीहरूले परम्परागत रूपमा सिकेको ज्ञान, सीप र संस्कार समेत नयाँ पुस्तामा स्थानान्तरण हुन नपाउने हो कि भन्ने चिन्ताहरू आदिवासी नेताहरूले गरेका छन्।








