कोरोना भाइरस खोपः कोरोनाभाइरसको खोप बनाउन अक्सफर्ड विश्वविद्यालय टोलीको नेतृत्व गरिरहेकी वैज्ञानिक

तस्बिर स्रोत, University of Oxford, John Cairns
"हामीले यो काम एकदमै तीव्र, तीव्र र तीव्र गतिमा गर्नुपर्ने छ," प्राध्यापक सेरा गिल्बर्टले बीबीसीलाई भनिन्।
अक्सफर्ड विश्वविद्यालयकी यी वैज्ञानिकलाई आफू हतारमा रहेको थाहा छ।
हालसम्म विश्वभरि एक करोड ६० लाखभन्दा बढी व्यक्तिलाई सङ्क्रमित बनाइसकेको र करिब साढे ६ लाख व्यक्तिको ज्यान लिइसकेको कोरोनाभाइरसलाई रोक्ने खोप बनाउन उनी प्रयासरत छिन्।
अक्सफर्ड विश्वविद्यालयस्थित उनको ३०० सदस्यीय सशक्त टोलीले "सामान्यतया करिब पाँच वर्षमा पूरा गर्नुपर्ने खोप विकासका विभिन्न चरण" पार गरिसकेको छ।
"र, हामीले ती कुराहरू चार महिनामा पूरा गरेका छौँ," यी भ्याक्सिनोलोजिस्टले भनिन्।
शुरूमा नतिजा उत्साहप्रद छन्: मानवमा गरिएका परीक्षणले खोप सुरक्षित रहेको र भाइरसविरुद्ध प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याएको देखाएको छ।
यो वर्षको अन्त्यसम्ममा मानिसहरूम प्रयोगका लागि तयार हुने सुनिश्चित नभए पनि हामी खोप विकासको नजिक पुगिसकेको विश्वास छ।
बाईस वटा सम्भावित खोप क्लिनिकल ट्रायलमा रहेको र करिब १०० वटा प्रारम्भिक अनुसन्धानको चरणमा रहेका पृष्ठभूमिमा अक्सफर्ड विश्वविद्यालयको टोलीले कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ।
को हुन् सेरा गिल्बर्ट?

तस्बिर स्रोत, University of Oxford, John Cairns
प्राध्यापक गिल्बर्टले कोरोनाभाइरस विरुद्धको खोप बनाउने कार्यको नेतृत्व गरिरहेकी छन्।
ब्रिटिश-स्वीडीश बहुराष्ट्रिय फर्मास्युटिकल आस्ट्राजेनेकासँग मिलेर अक्सफर्ड विश्वविद्यालयको टोलीले १,०७७ जनामा खोपको परीक्षण गरिरहेको छ।
उनीहरूको पहिलो सफलताको समाचार बाहिर आएपछि प्राध्यापक गिल्बर्ट रातारात विज्ञान सेलिब्रिटी भइन्।
स्वयंसेवकहरूमा गरिएको परीक्षणले प्रतिरोधी क्षमतामा त्यसको असर देखियो। खोपले कोरोनाभाइरसलाई परास्त गर्न सक्ने एन्टिबडी तथा टी सेल बनाएको पाइयो।
हुन त कोरोनाभाइरसबाट बचाउन त्यो खोप पर्याप्त हुन्छ वा हुँदैन भन्ने कुरा अहिले भन्न सकिन्न तर नतिजा उत्साहजनक छ र ठूलो स्तरमा परीक्षण जारी छ।
प्राध्यापक गिल्बर्टको नाम सञ्चारमाध्यममा छायो र अन्तर्वार्ताका लागि उनलाई थुप्रै आग्रहरू आए।
यी वैज्ञानिकले दुई दशकभन्दा बढी समय प्रयोगशालामा, अनुसन्धनमा, खोप विकासमा र भावी कामका लागि रकम सुनिश्चित गर्नमा बिताएकी छन्।
युवा वैज्ञानिक

तस्बिर स्रोत, Getty Images
प्राध्यापक गिल्बर्टका अनुसार उनले चिकित्सा अनुसन्धानमा काम गर्ने छिन् भनेर उनलाई पहिलेदेखि नै थाहा थियो।
तर १७ वर्षको छँदा उनले कहाँबाट शुरू गर्ने भन्ने कुराको भेउ पाइनन्।
पहिलो खुड्किलोको रूपमा उनले इस्ट एङ्गलिआ विश्वविद्यालयबाट बायोलोजीमा स्नातकोत्तर गरिन् र त्यसपश्चात् बायोकेमेस्ट्रीमा विद्यावारिधी गरिन्।
त्यसपछि उनले बायोटेक्नोलोजी उद्योगबारे पोस्ट-डक अनुसन्धान गरिन् जहाँ उनले औषधि उत्पादनबारे ज्ञान पाइन्।
सन् १९९४ दखि प्राध्यापक अक्सफर्ड विश्वविद्यालयमा वरिष्ठ पोस्ट-डकको पद सुनिश्चित गरेकी छन् र उनले जेनेटिक्स, होस्ट-पारासाइट तथा मलेरियाबारे काम गरेकी छन्।
अन्ततः उनको अनुसन्धानले खोप विकास गर्ने कामतर्फ डोर्यायो।
कामकाजी आमा

तस्बिर स्रोत, Reuters
सन् १९९४ मा प्राध्यापक गिल्बर्टले तिम्ल्याहा सन्तानको जन्म दिइन्। त्यसको एक वर्षपछि उनी विश्वविद्यालयमा लेक्चरर भइन्।
"काम र व्यक्तिगत जीवनबीच सन्तुलन मिलाउन बडो गाह्रो हुन्छ," उनी भन्छिन्।
"यदि [परिवारका] कसैको सहयोग रहेन भने असम्भवजस्तै लाग्छ। मेरा तीन सन्तान थिए र उनीहरूको नर्सरीको शुल्क मेरो तलबभन्दा बढी हुन्थ्यो।"
उनका जीवनसाथीले त्यतिबेला कामलाई थाती राख्न र बच्चाहरूको हेरचाह गर्न भने। त्यस बेला उनलाई एकदमै गाह्रो थियो।
"सुत्केरी बिदा जम्मा १८ हप्ताको थियो। मैले समय नपुग्दै जन्मिएका तीन सन्तानको हेरचाह गर्नुपरेको थियो, एकदमै तनावपूर्ण थियो," यी वैज्ञानिक भन्छिन्।
तर प्राध्यापक गिल्बर्टका अनुसार वैज्ञानिक हुनुको सबैभन्दा राम्रो पाटो के हो भने अरू पेशामा जस्तो तपाईँले सधैँ घण्टौँ काम गर्नुपर्दैन। हुन त कहिलेकाहीँ स्थिति जटिल पनि भइदिन्छ।
परिवारबाट सानो सहयोग

तस्बिर स्रोत, Science Photo Library
तीनटा सन्तान हुर्किएपछि स्थिति केही सहज भयो।
"हुन त अहिले मैले प्रयोगशालाको नेतृत्व गरिरहेकी छु तर मैले सिक्काको अर्को पाटो पनि हेरेकी छु," उनी थप्छिन्।
प्राध्यापक गिल्बर्टका तिम्ल्याहा सन्तान अहिले २१ वर्षका भए। उनीहरू पनि आमाजस्तै बायोकेमिस्ट बन्न चाहन्छन्।
खासमा उनीहरूलाई आफ्नी आमाको काममा यति रुचि छ कि कोभिड-१९ विरुद्धको खोपको परीक्षणका लागि स्वयंसेवी बन्ने उनीहरूले निर्णय गरे।
"हामीले १८ देखि ५५ वर्ष उमेर भएका मानिसहरूमा खोपको परीक्षण गर्नुपर्ने हुन्छ," उनले बीबीसीलाई भनिन्।
प्राध्यापक गिल्बर्टले खोप परीक्षणका निम्ति वैज्ञानिकहरूको एउटा राम्रो समूह खोजिरहेकी थिइन्।
आफ्नै परिवारबाट त्यसका लागि सहयोग पाएकोमा उनी खुशी भएको हुनुपर्छ।
आफूलाई कुनै चिन्ता नलागेको पनि उनी बताउँछिन्।
"हामीले यसअघि धेरै पटक यस्ता खोपको प्रयोग गरेका छौँ। अतः हामीले केही आश्चर्यजनक कुरा हुने अपेक्षा गरिरहेका छैनौँ," प्राध्यापक गिल्बर्टले थपिन्।
उनका अनुसार अहिलेको सबैभन्दा महत्त्वपूर्ण कुरा "महामारी फैलिनबाट रोक्नका निम्ति क्लिनिकल ट्रायलमा केन्द्रित भइरहेका छौँ र हामीले उत्पादनमा तीव्रता दिइरहेका छौँ।"








