कोरोना भाइरस उपचारः चिनियाँ खोप अपेक्षा गरिएको समयभन्दा अगाडि नै आउन सक्ने

नयाँ कोरोनाभाइरस

तस्बिर स्रोत, EPA

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार कोरोनाभाइरसविरुद्ध निर्माण भइरहेका खोपमध्ये एउटा यसै वर्षको अन्त्यसम्ममा मानिसहरूमा प्रयोगका लागि उपलब्ध हुनसक्छ।

त्यसो भयो भने अपेक्षित समयभन्दा अगाडि नै परीक्षणपछि खोप तयार हुनेछ।

चाइना न्याश्नल फार्मसूटिकल ग्रूपका अनुसार मानवमा अन्तिम चरणको परीक्षण आगामी तीन महिनाभित्र सम्पन्न हुने उसको आशा छ।

चीनमा एकदमै कम सङ्क्रमण पाइएकोले गत जुन महिनामा उसले खोप आउन केही विलम्ब हुने जनाएको थियो।

सावधानी

तर अहिले संयुक्त अरब एमिरेट्समा हजारौँ मानिस तेस्रो चरणको परीक्षणमा सहभागी भइरहेका छन्।

अर्को चिनियाँ कम्पनीले त्यही विधि अपनाई ब्रजिलमा उन्नत खालको परीक्षण गरिरहेको छ।

विश्व स्वास्थ्य सङ्गठनले खोप विकासका कुरालाई सावधानीपूर्वक हेर्दै आएको छ।

उसले खोप विकासको दिशामा अर्को वर्षको आरम्भतिर उपलब्धि हासिल हुनसक्ने बताउने गरेको छ।

कोरोनाभाइरस परीक्षण

तस्बिर स्रोत, Science Photo Library

यसै हप्ता ब्रिटेनको अक्स्फर्ड विश्वविद्यालयले खोपको विकासमा ठूलो सफलता हासिल गरेको समाचार सार्वजनिक भएको थियो।

उक्त विश्वविद्यालयले विकसित गरेको एउटा खोप सुरक्षित र रोगप्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउन सक्ने बताइएको थियो।

एक हजार ७७ जना सहभागी उक्त खोपको परीक्षणका क्रममा खोप लगाएकाहरूको शरीरले कोरोनाभाइरविरुद्ध लड्न सक्ने एन्टीबडी र टी-सेल बनाउन सकेको थियो।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, के कोरोनाभाइरस प्रतिरोध गर्ने क्षमता बन्न सक्छ?

के कोरोनाभाइरस प्रतिरोध गर्ने क्षमता बन्न सक्छ?