कोरोना भाइरस नेपाल: पन्ध्र सय गम्भीर बिरामीलाई उपचार गर्ने क्षमता रहेको सरकारको दाबी

एकाएक कोरोनाभाइरस सङ्क्रमणको जोखिम राजधानी उपत्यकासहित देशभरि बढेको आकलन गरिँदैगर्दा सरकारले भने उसले यसअघि गरेको अनुमानभन्दा कम सङ्ख्यामै सङ्क्रमण सीमित राख्न सफल भएको शुक्रवार जनाएको छ।

देशभरिमा कति जनालाई सङ्क्रमण हुनसक्ला भनेर महामारीको वैज्ञानिक अनुमान वा इपिमोडेलिङ गर्दा खराब अवस्थामा साउन २५ गतेसम्म ९१ हजार सक्रिय सङ्क्रमित पुग्न सक्ने अनि मध्यम अवस्थामा भदौ २ गतेसम्म ३९ हजार सक्रिय सङ्क्रमित पुग्न सक्ने अनुमान गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन्।

शुक्रवार साउन २३ गतेसम्मको तथ्याङ्कअनुसार कुल सङ्क्रमितको सङ्ख्या २२ हजार नाघेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या ६,३३० रहेको छ।

"नेपाल सरकार, प्रदेश सरकारहरू, स्थानीय तहहरूका प्रभावकारी प्रतिकार्य तथा नेपाली नागरिक एवं सरोकारवालाहरूको अभूतपूर्व सहयोगका कारण सक्रिय सङ्क्रमितको सङ्ख्या अनुमान गरिएभन्दा थोरैमा सीमित राख्न सकिएको छ," उनले भने।

पन्ध्र सय गम्भीर बिरामी थेग्न सकिने

केही साताअगाडिसम्म नेपालमा ९९.७ प्रतिशत सङ्क्रमितहरूमा कुनै लक्षण देखा नपरेको बताउँदै आएको सरकारले पछिल्ला दिनमा भने गम्भीर बिरामी तथा मृत्युको सङ्ख्या लगातार बढिरहेको जनाएको छ।

साउन २३ गतेसम्मको आँकडा अनुसार देशभरिमा भेन्टिलेटरमा ३ जना सहित सघन उपचार कक्ष (आ‍ईसीयू) मा ६४ जना गम्भीर बिरामी भई उपचाररत छन्।

प्रदेश नम्बर २ मा सबभन्दा धेरै ३२ जना आईसीयूमा छन् भने वाग्मती प्रदेशमा तीन जना भेन्टिलेटरमा सहित २९ जना आईसीयूमा छन्। प्रदेश नम्बर ५ मा दुई जना र प्रदेश नम्बर १ मा एक जना आईसीयूमा छन्।

गम्भीर बिरामीको सङ्ख्या बढ्दै जाँदा देशका अस्पतालले थेग्न नसक्ने चिन्तामाझ स्वास्थ्य मन्त्रालयले अहिले करिब पन्ध्र सय गम्भीर बिरामीलाई पुग्ने औषधि तथा आईसीयूको सामग्रीको मौज्दात रहेको बताएको छ।

"प्रयोगशालाका सामग्री दुई महिनाका लागि र पीपीई दुई महिनाका लागि पुग्ने स्टक छ। साथै थप आवश्यक सामग्री खरिदको काम प्रक्रियामा रहेको छ," डा. गौतमले बताए।

देशभरि कति छन् आईसीयू र भेन्टिलेटर?

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार हाल देशभरिमा २,६०० सघन उपचार कक्षका शय्या रहेका छन् भने ९०० भेन्टिलेटर रहेका छन्।

"तीमध्ये कोभिड-१९ का बिरामीका उपचारका लागि २५० आईसीयू शय्या र भेन्टिलेटर थपिएका छन् भने अझै २४० आईसीयू शय्या थप्नका लागि प्रक्रिया अघि बढाइएको छ," प्रवक्ताले बताए।

छत्तीसवटा अस्पताल तथा ११५ कोभिड क्लिनिक तोकेर सञ्चालन गराइएको मन्त्रालयको भनाइ छ।

अस्पतालका शय्याहरू कोभिडका गम्भीर बिरामीहरूको निम्ति सुरक्षित गर्न लक्षण नभएका, कुनै अन्य गम्भीर बिमारी नभएका, तथा ६० वर्षभन्दा कम उमेरका सङ्क्रमितलाई स्थानीय स्वास्थ्यकर्मीको निगरानीमा घरमै अलग्गिएर रहन सक्ने व्यवस्था मिलाइएको प्रवक्ताले जानकारी दिएका छन्।

उपचार खर्च कति?

सरकारले कोभिड-१९ का बिरामीहरूको उपचार खर्च पनि तोकेको छ।

त्यसअनुसार घरमै आइसोलेशनमा बस्नेहरूका निम्ति स्वास्थ्यकर्मीको पारिश्रमिकका लागि २०० रुपैयाँ प्रतिदिन प्रतिबिरामी तोकिएको छ।

आइसोलेशन केन्द्रमा उपचाररतका निम्ति दिनको २,००० रुपैयाँ, अस्पतालमा भर्ना भएका मध्यम बिरामीको हकमा ३,५०० रुपैयाँ, मध्यम जटिल बिरामीको हकमा ७,००० तथा सघन उपचार कक्षमा उपचाररतको हकमा १५,००० रुपैयाँ प्रतिदिन तोकिएको छ।