कोरोना भाइरस नेपाल: जोखिम बढ्दो, सरकार र आममानिसलाई सङ्क्रमणबाट जोगिने सजिला सुझाव

केही दिनयता नेपालमा कोरोनाभाइरस सङ्क्रमण समुदायस्तरमा फैलने जोखिम बढेको र यसै बेला यसबाट गम्भीर बिरामी हुनेहरूको सङ्ख्या पनि बढिरहेको बताइन्छ।

केही साता अगाडिसम्म ९९ प्रतिशतभन्दा धेरै सङ्क्रमितमा लक्षण देखिएका थिएनन् तर साउन १४ गतेको आँकडामा २२ जना सघन उपचार कक्ष वा भेन्टिलेटर राखिएको पाइएको छ।

यो बढ्दो जोखिमका माझ के अब सरकारले रोग नियन्त्रण र रोकथामका निम्ति अहिले कायम गरिराखेको विधिमा परिवर्तन गर्नुपर्छ? अनि आम जनताले चाहिँ के गर्नुपर्छ?

यी प्रश्नको जबाफका लागि हामीले जनस्वास्थ्यविद्हरू डा. सेनेन्द्रराज उप्रेती तथा डा. अनुप सुवेदीसँग कुराकानी गरेका थियौँ।

उनीहरूले सरकारलाई परीक्षण, सम्पर्क पहिचान, अलग्ग्याउने विधि तथा सीमित लकडाउनका बारे सुझाव दिएका छन् भने आम मानिसलाई पनि सजिलै रोगबाट बच्ने केही सुझाव दिएका छन्।

उनीहरूसँगको कुराकानीमा आधारित तत्काल लागु गर्न सकिने ती सुझावहरू निम्न छन्:

परीक्षण सङ्ख्या

केही अगाडिसम्म दैनिक ३,००० भन्दा बढी पीसीआर परीक्षण भइरहेकोमा अहिले ६,००० चानचुन पुगेको छ।

प्रति दश लाख जनसङ्ख्यामा नेपालले १२,५०० परीक्षण गरिरहेको र त्यो अनुपात यो क्षेत्रमा तुलनात्मक राम्रो भएको सरकारको भनाइ छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. उप्रेती भन्छन्, "तर जति परीक्षण बढायो उति सङ्क्रमित धेरै देखिएको हुनाले एक हदसम्म यो बढाउनै पर्छ।"

"विभिन्न समुदायमा, लक्षण देखिएकाहरूमा तथा जोखिमपूर्ण समूहमा परीक्षण विस्तार हुनुपर्छ।"

डा. अनुप सुवेदीको सुझाव चाहिँ यस्तो छ: "केही दिन यता नाका-नाकामा पनि पीसीआर परीक्षण थालेर राम्रो गरेको छ।

"तर सरकारले परीक्षणको निर्देशिका खुकुलो बनाउनुपर्छ। अहिले तपाइँलाई ज्वरो वा अन्य लक्षण आएपनि यात्रामा कतै ननिस्केको वा कोही सङ्क्रमितसँग भेट नभएको पाइए पीसीआर परीक्षण गर्न पाइँदैन। यस्ता विषय सहज बनाइनुपर्छ।"

सम्पर्क पहिचान

यो दोस्रो महत्त्वपूर्ण पक्ष रहेको विज्ञहरू बताउँछन्।

"हामीकहाँ कोही सङ्क्रमित भएको नतिजा नै पाँच-सात दिनपछि आउँछ। त्यसपछि ती सङ्क्रमित कस-कसको सम्पर्कमा रहे भन्ने बारे विस्तृत पहिचान गर्नुपर्छ," डा सुवेदीले भने।

"यो कठिन काम भएपनि गर्नैपर्छ। लाग्छ यहाँ केवल फोन गरेर परिवारलाई सतर्क गराइएको हुनसक्छ। यसको दायरा बढाउनैपर्छ।"

सङ्क्रमित व्यक्ति लक्षणविहीन छ भने उसले घरमात्र होइन, बाहिर चिया पसल वा अन्यत्रको भेटघाटबारे पनि विस्तृत विवरण लिनुपर्ने उनले बताए।

डा. उप्रेतीको विचारमा चाहिँ सम्पर्क पहिचानको कार्य भनेको जतिसक्दो चाँडो गर्नु जरुरी हुन्छ। यसबारे अहिले के भइरहेको छ वा सरकारले कसरी गरिरहेको छ भन्ने प्रस्ट सूचना प्राप्त नभएको उनले बताए।

त्यसमाथि सम्पर्क पहिचानको काम गर्न धेरै स्रोतसाधनको आवश्यकता नपर्ने बताइन्छ।

महँगा औषधि वा रसायन यसका लागि चाहिँदैन। केवल मानवस्रोत चाहिन्छ।

सामान्य लेखपढ गर्न सक्ने युवाहरूलाई पनि थोरै प्रशिक्षण दिएर यो काममा खटाउन सके प्रभावकारी हुने विज्ञहरूको सुझाव छ।

बिरामीलाई अलग्ग्याउने

नेपालमा सबैको पहुँचमा आवश्यक सुविधायुक्त घर नहुने हुनाले बिरामीलाई घरमै अलग्ग बस्न सुझाव दिने अवस्था अहिले नरहेको विज्ञहरू बताउँछन्।

त्यसमाथि सुविधासम्पन्न अस्पतालको वरपर बस्नेका लागि मात्र यो विकल्प उचित हुने ठानिन्छ।

"त्यसैले व्यवस्थित किसिमले स्वास्थकर्मीको निगरानीमा अलग्ग्याएर राख्नुपर्छ ताकि अवस्था बिग्रिने वित्तिकै उपचार दिन सकियोस् र घरभित्रै कोही बिरामीले अरूलाई नसारोस्," डा. सुवेदीले बताए।

सघन उपचारको क्षमता वृद्धि

आगामी दिनमा गम्भीर बिरामी हुनेको सङ्ख्या बढेमा त्यसलाई धान्न सक्ने गरि सघन उपचारको क्षमता वृद्धितर्फ लागिहाल्न सरकारलाई डा. उप्रेतीको सुझाव छ।

"खासगरी अक्सिजनको उपलब्धता, सघन उपचार कक्ष तथा भेन्टिलेटरको सङ्ख्या वृद्धि गर्नुपर्छ," उनले भने।

अलग्ग्याएर राख्ने आइसोलेसन केन्द्रमात्र नभइ अब अस्पतालकै शैय्या बढाउन जरुरी भएको विज्ञहरू बताउँछन्।

अब कस्तो लकडाउन?

संसारभरि नै सुरुमा राष्ट्रव्यापी रूपमा लगाइएका लकडाउनहरू अहिले स्थान विशेषमा खुम्चिएका छन्।

नेपालमा पनि अब पूर्ण लकडाउनको मोडलभन्दा आवश्यकता अनुसारका सीमित लकडाउनको प्रयोग सही हुने विज्ञहरूको सुझाव छ।

"धेरै सङ्क्रमितहरू भेटिएको वा धेरै मृत्यु भएको स्थानमा स्थानीय रूपमा आवागमन नियन्त्रण गर्नुपर्छ। यस्तो आवश्यकता ठूला र सघन बसोबास भएको ठाउँमा ज्यादा जरुरी हुन्छ," डा. सुवेदीले भने।

आम मानिसलाई के सुझाव?

डा. सुवेदीले जापानको उदाहरण दिँदै तीनवटा मुख्य विषयमा ध्यान दिन आम मानिसलाई सुझाव दिएका छन्:

  • एक, अरू मानिससँग निकट बसेर वार्तालाप वा कुराकानी गर्नबाट जोगिने,
  • दुई, भिडभाड भएका स्थलमा नजाने,
  • तीन, हावा आवतजावत गर्न नसक्ने बन्द कोठा वा हलमा नजाने।

त्यो बाहेक मास्कको अनिवार्य प्रयोगमा उनले जोड दिए।

"अध्ययनहरूले के भन्छ भने सबैजनाले मास्क लगाइदिने हो भने यो महामारी त्यसै हराएर जान्छ।"

"६० प्रतिशतभन्दा धेरै मानिसले लगाइदिने हो भने पनि एकजनाले अर्कोलाई सङ्क्रमण सार्ने दर एकभन्दा कम हुन्छ र महामारी नियन्त्रण हुन्छ," उनले भने।

"सामान्य सर्जिकल मास्क वा दुई किसिमको कपडा प्रयोग भएको साधारण मास्कले पनि यो काम गर्छ। उदाहरणका लागि सूती वा फलाटिनको दुई तहको मास्क लगाउने हो भने एक त भाइरस मिसिएको छिटा रोकिन्छ अर्को त्यसमा विकसित हुने इलेक्ट्रोस्ट्याटिक गुणले पनि भाइरस सर्नबाट रोक्ने पाइएको छ," डा. सुवेदीले थपे।

मास्कको पहिरनलाई सामाजिक तथा व्यक्तिगत उत्तरदायित्वको अभिन्न अङ्ग मान्नु पर्ने सुझाव विज्ञहरूले आम मानिसलाई दिएका छन्।

डा. उप्रेतीले भने, "यो रोगबाट मलाई र मेरा आफन्तलाई जोगाउने पहिलो कर्तव्य मेरो नै हो भनेर हामीले सोच्नु पर्‍यो। त्यही अनुसार मास्क प्रयोग वा दूरी कायम गर्ने र हात धुने गर्‍यौँ भने सङ्क्रमण फैलन कम हुन्छ।"

उनले आम मानिसका निम्ति यस्ता सन्देश बुझिने भाषामा सर्वव्यापी बनाइनुपर्ने सुझाव पनि दिएका छन्।