तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस नेपाल: यता कोभिड महामारीको डर, उता अन्य रोगका बिरामीको बिजोग हुने चिन्ता
- Author, सञ्जय ढकाल
- Role, बीबीसी न्यूज नेपाली
महामारी र लकडाउनका अवधिमा कतै गर्भवतीले उपचार नपाएको र कतै मिर्गौला रोगीले डायालिसिस गर्न ठेलागाडामा अस्पताल पुग्नुपरेको समाचार प्रकाशित भयो।
नेपालमा कोरोनाभाइरसका कारण ज्यान गुमाउने पहिलो व्यक्ति सुत्केरी महिला थिइन्। उक्त अवधिमा बेलैमा उपचार नपाएर ज्यान गुमाउने गर्भवती तथा सुत्केरी महिलाको सङ्ख्या सामान्य अवस्थामा भन्दा धेरै रहेका विवरण पनि आए सरकारी निकायले त्यसको पुष्टि गरेको छैन।
त्यस्तै क्यान्सर तथा क्षयरोगका बिरामी, एड्सका बिरामी, तथा मिर्गौलाका बिरामीलाई नियमित औषधि उपचार तथा डाइयालिसिस उपलब्ध हुन कठिनाइ भएको थियो।
तथ्याङ्क उपलब्ध छैन
चैत ११ गतेदेखि कोरोनाभाइरस सङ्क्रमण रोक्न भनी लगाइएको लकडाउनपश्चात् सबै निकाय तथा स्वास्थ्यसंस्थाको ध्यान महामारीमा केन्द्रित भयो।
तर उक्त अवधिमा गर्भवती महिला, क्यान्सर तथा क्षयरोगी, मधुमेहका बिरामी तथा अन्य असाध्य रोग लागेकाहरूमा कति असर पर्यो र त्यसले आउँदा दिनमा दीर्घकालीन समस्या के कस्ता आइपर्न सक्छ भन्नेबारे कतै अध्ययन भएको पाइँदैन।
एक त यस्तो बेला स्वास्थ्य निकाय जान लाग्ने डर अर्को यातायात नचल्दा जानै नसकिने अवस्था आदिले गर्दा कैयौँ मानिसले रोग लुकाएको वा उपचारमा ढिलाइ गरेको हुनसक्ने प्रशस्त सम्भावना रहेको विभिन्न रोगका विज्ञहरूले बीबीसीलाई बताएका छन्।
मातृ तथा शिशु स्वास्थ्य
लकडाउनका बेला विशेषगरी सुरक्षित मातृत्व, परिवार नियोजन, भिटामिन ए तथा दादुरा/रुबेला खोपका नियमित अभियान अवरुद्ध भएको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका प्रमुख डा. भीमसिंह टिंकरीले स्वीकार गरेका छन्।
"सुरुमा पक्कै फरक पर्यो। धादिङमा दादुराको प्रकोप नै देखा पर्यो। तर अहिले भने सबै सेवा सुरक्षित किसिमले नियमित गराएका छौँ," उनले भने।
केही वर्षयता नेपालले मातृमृत्यु दर घटाएकोमा संसारबाटै प्रशंसा पाइरहेको थियो।
प्रशिक्षित स्वास्थ्यकर्मीकहाँ पुगेर वा अस्पतालमा सुत्केरी गराउने प्रवृत्ति बढ्दै गएपछि हाल नेपालको मातृमृत्यु दर पछिल्लो स्वास्थ्य सर्वेक्षणअनुसार प्रतिलाख जीवित शिशु जन्ममा २३९ रहेको सरकारी अभिलेख छ।
त्यसमा लकडाउन र महामारीले प्रभाव पारेको हुनसक्छ। समाचार विवरणहरूमा थुप्रै ठाउँमा गर्भवती वा सुत्केरी महिलाले उपचारविना ज्यान गुमाउनुपरेको उल्लेख भए।
तर सरकारले भने यसबारेका विवरणहरू पुष्टि हुन नसकेको बताएको छ।
डा. टिंकरी भन्छन्, "चैतदेखि असारसम्म ४४ जना महिलाको त्यसरी मृत्यु भएको पाइएको छ। दुई वर्षअगाडि सोही अवधिमा ५३ जनाको ज्यान गएको थियो। त्यसैले महामारी र लकडाउनकै कारणले बढेको देखिँदैन।"
उनले कतिपय विवरणहरूमा केही स्थानमा दर्जनौँ महिलाको ज्यान गएका कुरा आएपनि पछि स्थानीय स्वास्थ्य निकायबाट त्यो पुष्टि नभएको बताए।
बालबालिकाको हकमा राष्ट्रसङ्घीय निकाय युनिसेफले कोभिड-१९ को आर्थिक सामाजिक प्रभावले गर्दा नेपालसहित दक्षिण एशियामा सन् २०२० मा पाँच वर्षमुनिका थप ३९ लाख बालबालिकामा सुकेनासको कारणले गम्भीर कुपोषण हुनसक्ने चेतावनी दिएको छ।
यस्ता प्रभाव कुन क्षेत्रमा कति पर्यो भनेर द्रुत परीक्षण भइरहेको र चाँडै परिणाम सार्वजनिक गरिने डा. टिंकरीले बताए।
क्यान्सर तथा क्षयरोग
नियमित रूपमा सञ्चालन भइरहेको स्वास्थ्यसेवा अचानक अवरुद्ध हुँदा धेरै थरी रोगका बिरामीलाई मर्का पर्यो।
त्यसमा पनि अविच्छिन्न उपचार गराइरहनुपर्ने क्यान्सर तथा क्षयरोग वा मिर्गौला तथा मधुमेहका बिरामी धेरै प्रभावित भए।
लकडाउनका बेला क्यान्सरको किमो उपचार वा अन्य औषधि उपचार गराइरहेकाहरूले त्यसको अभाव झेल्नुपरेको नेपाल अर्बुद रोग निवारण संस्थाका उपाध्यक्ष डा. राजेन्द्रप्रसाद बरालले बताए।
"क्यान्सर भनेकै चाँडै पत्ता लागे निको हुने रोग भएकाले यो अवधिमा कसैले समयमा जाँच गराउन नपाउँदा अप्ठेरो परेको हुनसक्छ। त्यसले पक्कै पछि जटिलता निम्त्याउँछ। हामीले प्रत्यक्ष भोगेको समस्या चाहिँ किमो तथा अन्य औषधिको अभाव रह्यो। त्यो अझै पनि पूरै सहज भइसकेको छैन," उनले भने।
"हाम्रो आँकडाअनुसार करिब २७,००० जनाजतिले किमो उपचार गराइरहेका थिए। यो महामारीका कारण कति असर पर्यो भन्ने यकिन आँकडा चाहिँ छैन," डा. बरालले भने। उनका अनुसार नेपालमा फोक्सो, मुख, पाठेघर तथा स्तन क्यान्सर धेरै पाइन्छ।
भरतपुरस्थित क्यान्सर अस्पतालका अध्यक्ष डा. निर्मल लामिछानेले सुरुमा समस्या निकै परेको भएतापनि अहिले सबै सेवा नियमित हुन थालेको बताए।
"अहिले त हामी शल्यचिकित्सा आवश्यक पर्ने बिरामीहरूलाई पनि पहिले कोरोनाभाइरसको परीक्षण गरेर शल्यचिकित्सा सेवा उपलब्ध गराउन थालेका छौँ," उनले भने।
क्षयरोगले पनि नेपालमा बर्सेनि ६,००० जनाको ज्यान जाने गरेको बताइन्छ। प्रत्येक वर्ष झन्डै ६९,००० जनालाई यो रोग लाग्ने तथा ३२,००० जनाको चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार गराइने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क छ।
"हाम्रो मूलमन्त्र भनेको सुरुमै रोग पत्ता लगाएर उपचार गरिहाल्नु भन्ने हो। तर यो महामारीका कारण त्यो प्रणालीमा केही अवरोध भयो। सुरुमा डाक्टरको निगरानीमा औषधोउपचार गराउन कठिन भएपछि बिरामीहरूलाई एक महिनाको औषधि घरमै पठाइदिने व्यवस्था गर्यौँ," केन्द्रका वरिष्ठ छातीरोग विशेषज्ञ डा. नवीनप्रकाश शाहले बताए।
क्षयरोगका बिरामीले ठीक समयमा औषधि लिनुपर्ने हुन्छ र नलिँदा त्यसले अन्य जटिलता निम्त्याउँछ। कसैलाई औषधिप्रतिरोधी क्षयरोग लाग्न सक्छ।
नियमित सेवा नहुँदा बिरामीको पहिचान छुटेको हुनसक्ने डर पनि उत्तिकै रहने बताइन्छ।
प्रणालीमा चाप
गत पाँच महिना यता देशभरिका स्वास्थ्य निकायहरू अभूतपूर्व चापमा परेको जनस्वास्थ्यविज्ञहरू बताउँछन्।
"चाहे त्यो सहरका ठूला अस्पताल हुन् वा गाउँका स्वास्थ्य चौकी सबैले कोभिडको भार बेहोर्नुपरेको छ। सबै ध्यान तथा स्रोत त्यता केन्द्रित हुँदा नियमित सेवा भत्किन पुगेको छ। यसले कति नहुनुपर्ने मृत्यु भएका हुनसक्छन्," जनस्वास्थ्यविद् डा. शरद वन्तले बताए।
प्रणालीको चुस्तता यस्तै चुनौतीका बेला देखिनुपर्ने विज्ञहरू ठान्छन्। "तर क्षयरोगीका लागि प्रत्यक्ष उपचार होस् वा मिर्गौला तथा मधुमेहका बिरामी हुन् हामीले के देख्यौँ भने आपत्मा परेका जनताले डोको तथा ठेलागाडामा बिरामी बोकेर भौँतारिनुपर्यो," उनले भने।
"कोभिड त थप समस्यामात्र हो। हाम्रो जनस्वास्थ्यमा विद्यमान तमाम अन्य समस्या त ज्यूँ का त्यूँ नै छन्।"
नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. लोचन कार्कीको अनुभवमा महामारी तथा लकडाउनका प्रारम्भिक चरणमा जस्तो समस्या अहिले अस्पतालहरूमा छैन।
"त्यतिखेर यो सर्वथा नौलो थियो र बिरामी वा चिकित्सक दुवै अन्योलमा थिए। आपूर्ति नभएका कारण हामीले कैयौँ औषधि तथा उपकरणका अभावपनि झेल्नुपर्यो। त्यसले थुप्रै बिरामीलाई मर्का परेकै हो," उनले भने।
तर उनका अनुसार अधिकांश त्यस्ता मर्का छोटो समयका लागि परेको हुनाले दीर्घकालीन जटिलता हुने कमै सम्भावना छ।
"मेरो विचारमा सबभन्दा दीर्घकालीन समस्या त मानसिक तनावका कारण नै आइपर्न सक्छ," उनले बताए।
स्वास्थ्य प्रणालीमा महामारीको त्यतिखेर चाप परेको छ जतिखेर समग्र प्रणाली नै विस्तारै सङ्घीय स्वरूपमा ढल्दै थियो।
"यो त हामीलाई दोहोरो चापजस्तो भयो। सङ्घीय संरचनामा भर्खर परिवर्तित हुँदै गर्दा हाम्रा स्वास्थ्य निकायका रिपोर्टिङ वा सूचना सञ्जालदेखि लिएर परीक्षणका प्रणाली नयाँ प्रादेशिक तथा स्थानीय तवरमा बाँडिँदै गर्दा महामारी आइपर्यो," थपिएको चुनौतीबारे स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखा प्रमुख डा. भीमसिंह टिंकरीले अनुभव सुनाए।
देशको स्वास्थ्य प्रणालीले महामारीको बेला कसरी काम गर्यो वा गरेन अनि त्यसमा अब के सुधार आवश्यक छ भन्ने बारे विस्तृत अध्ययन हुनुपर्ने भन्दै त्यसको निष्कर्ष लागु गरिएमा आगामी दिनमा प्रणाली भरपर्दो बन्ने विज्ञहरूले सुझाव दिएका छन्।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ