कोरोना भाइरस नेपाल: क्यान्सर अस्पतालमा कुरुवाको बिजोग, न खाने ठेगान न सुत्ने

    • Author, ईश्वर जोशी
    • Role, बीबीसी न्यूज नेपाली

चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भर्ना भएका बिरामी र कुरुवाहरूले विभिन्न समस्या भोग्नुपरेको गुनासो गरेका छन्।

लकडाउनका कारण उपचारमा हुने ढिलाइ र होटल तथा रेस्टुराँ बन्द हुँदा बिरामीका साथै आफूहरूले पनि अस्पतालबाहिर बसेर पालो कुर्नुपरेको कुरुवाहरूले बताए।

केही कुरुवाले अस्पतालबाहिरै बिरामीलाई सुताएर सडक किनारामा खाना पकाउनुपरेको बाध्यता सुनाए।

"बिरामीलाई खाना बनाउनु र खुवाउनुपर्छ, कपडा धुनुपर्छ। तर राम्रो र सुरक्षित ठाउँ नहुँदा खुला ठाउँमा खाना पकाएर खानुपर्ने बाध्यता छ," कैलालीबाट आफन्तको उपचारका लागि चितवन आएका राम चौधरीले भने।

लकडाउनका कारण होटलहरू बन्द भएको र क्यान्टीनमा महँगो पर्ने भएकाले कैयौँ बिरामीका आफन्तले आफैँ पकाएर खानुपर्ने अवस्था रहेको बताए।

सप्तरी राजविराजका बालेश्वर रामले पनि उस्तै गुनासो सुनाए।

क्यान्सरका बिरामीका लागि सहयोगी आवश्यक पर्ने बताउँदै उनले भने, "एक जना त बिरामीसँगै बस्नुपर्‍यो, एक जना रिपोर्ट र उपचारको दौडधुप गर्नुपर्ने हुन्छ। लकडाउनले खानको समस्या छ। खान समस्या नभएको भए केही थिएन।"

पिँढीमा बास

उक्त अस्पतालमा आएका बिरामी र कुरुवा खुला चौरमा खाना पकाएर खाने र रातमा अस्पतालको पिँढीमा सुत्ने गरेका छन्।

अस्पतालको ढिलासुस्तीले बिरामीलाई समस्या परेको रुकुमका वसन्त मल्लले बताए।

अस्पतालले भने कोरोनाभाइरसका कारण सीमित जनशक्तिका आधारमा काम गर्नुपर्दा उपचारमा केही ढिलो भएको हुन सक्ने बताएको छ।

अस्पतालका अध्यक्ष डा. निर्मल लामिछानेलेले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार नै केही स्वास्थ्यकर्मीलाई आकस्मिक जगेडामा राखिएको बताए।

उनले त्यस्ता स्वास्थ्यकर्मीले अहिले खटिएका स्वास्थ्यकर्मीलाई कोरोनाभाइरस सङ्क्रमण भए खटिनुपर्ने भएकाले केही ढिलो हुन गएको स्वीकारे।

कोभिड-१९ रोकथाम र व्यवस्थापन गर्दा स्वास्थ्यकर्मी र सहयोगीहरू सङ्क्रमित हुन गई सेवा प्रवाहमा निरन्तरता दिन कठिनाइ हुन सक्ने भएका भन्दै केहीअघि मन्त्रालयले सबै अस्पताललाई उपलब्ध जनशक्ति सुरक्षित र व्यवस्थित गर्न दुईवटा समूह बनाई आलोपालो काममा खटाउन निर्देशन दिएको थियो।