कोरोना भाइरस नेपालः थप पाँच जनाको मृत्यु, सङ्क्रमितको कुल सङ्ख्या २२ हजार नाघ्यो

नेपालमा कोरोनाभाइरसका कारण थप पाँच जनाको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार अपराह्ण दिएको छ।

यससँगै अहिलेसम्म कोभिडसँग सम्बन्धित कारणले मृत्यु हुने सङ्क्रमितको आधिकारिक सङ्ख्या ७० पुगेको छ।

बिहीवार पनि मन्त्रालयले पाँच जनाको मृत्यु भएको पुष्टि गरेको थियो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा देशका विभिन्न स्थानमा ४६४ सङ्क्रमित फेला परेका छन्।

यो वृद्धिसँगै देशभरि सङ्क्रमितको कुल सङ्ख्या २२,२१४ पुगेको छ।

तीमध्ये ६,३३० जनामा सक्रिय सङ्क्रमण छ भने अहिलेसम्म १५,८१४ जना भाइरसमुक्त भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

को हुन् मृतक?

मन्त्रालयका अनुसार अहिले मृत्यु भएकामध्ये तीन जना पर्सा जिल्लाका र दुई जना सिराहा जिल्लाका हुन्। सबै जना पुरुष हुन्।

तीमध्ये दुई जनाको पाटन र एक जनाको धरानमा मृत्यु भएको हो।

  • वीरगन्ज माईस्थानका ४५ वर्षीय व्यक्तिको साउन २२ गते पाटन स्वास्थ्य विज्ञान अस्पतालमा मृत्यु भएको हो। उनलाई मधुमेह र उच्च रक्तचाप भएको र श्वासप्रश्वासमा समस्या भई स्टार अस्पतालमा उपचार गराइरहेकोमा साउन १७ गते उनमा कोभिड पुष्टि भएको थियो। उनी आईसीयूमा उपचाररत भएको मन्त्रालयले जनाएको छ।
  • वीरगन्ज श्रीपुरका ७९ वर्षीय वृद्धको साउन २० गते घरमै मृत्यु भएको थियो। मरणोपरान्त परीक्षण गर्दा साउन २१ गते उनमा कोभिड भएको पुष्टि भएको थियो।
  • वीरगन्ज श्रीपुरकै अर्का ४७ वर्षीय पुरुषको साउन २२ गते गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको थियो। उनलाई मधुमेह, उच्च रक्तचाप र मुटुको रोग भएको तथा उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनी साउन २० गते अस्पतालमा भर्ना भएका थिए। उनलाई भेन्टिलेटरमा राखिएको थियो।
  • सिराहा गोलबजारका २५ वर्षीय युवकको धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साउन २२ गते राति मृत्यु भएको हो। उनलाई मिर्गौलाको समस्या थियो। साउन १८ गतेदेखि जनकपुर अस्पतालमा डायालिसिस गर्न थालिएको थियो। साउन १७ गते सङ्कलित नमुनाको २१ गते परिणाम आउँदा उनमा कोभिड पुष्टि भएको थियो। थप उपचारका लागि उनलाई २२ गते नै धरान पठाइएको थियो।
  • सिराहा वसन्तपुरका ४५ वर्षीय व्यक्तिको पाटन अस्पतालमा साउन २३ गते बिहान मृत्यु भएको हो। साउम १९ गते कुकुरले टोकेपछि उनलाई अस्पताल भर्ना गरिएको र रेबिज रोगको शङ्का गरिएको मन्त्रालयले जनाएको छ। कोभिड परीक्षण गर्दा शुक्रवार बिहान कोरोनाभाइरस पुष्टि भएको थियो।

को हुन् सङ्क्रमित?

शुक्रवार पुष्टि भएका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्।

तीमध्ये पर्साका १३८ जना र काठमाण्डू उपत्यकाका १०६ जना छन्।

उपत्यकामा अहिलेसम्मै एकैचोटि भेटिएका सङ्क्रमितको यो सर्वाधिक सङ्ख्या हो।

तीमध्ये काठमाण्डू जिल्लामा ९१ जना, ललितपुर जिल्लामा ११ जना र भक्तपुर जिल्लामा चार जना छन्।

अहिलेसम्म फेला परेका कुल सङ्क्रमितमध्ये २१-६० उमेर समूहका मानिसहरूको सङ्ख्या सर्वाधिक भएको मन्त्रालयले जनाएको छ।

के छ अरू तथ्याङ्क?

विगत २४ घण्टामा पीसीआर विधिबाट ७,९२६ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।

अहिले देशभरि विभिन्न स्थानमा १०,००० भन्दा बढी मानिसहरू क्वारन्टीनमा छन्।

प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा सङ्क्रमित फेला परेका छन्। त्यसपछि सुदूरपश्चिम र प्रदेश नं ५ मा भेटिएका सङ्क्रमितको सङ्ख्या धेरै छ।

प्रदेश नं २ मा मृतकको सङ्ख्या अन्य प्रदेशको भन्दा बढी छ।