कोरोना भाइरस नेपाल: थप ३३४ जनामा कोभिड-१९ पुष्टि , पाल्पामा मृत्यु भएका एक जनामा पनि सङ्क्रमण देखियो

नेपालमा थप ३३४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

यससँगै अहिलेसम्म देशभरि सङ्क्रमितको कुल सङ्ख्या २,६३४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। तीमध्ये २९० जना निको भइसकेका छन्।

यो अहिलेसम्म दैनिक वृद्धि भएको सर्वाधिक सङ्ख्या हो।

कोभिड-१९ भएका थप एक व्यक्तिको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन्।

मृतक भारतबाट पाल्पा फर्किएका व्यक्ति हुन्।

भारतबाट फर्किएर क्वारन्टीनमा बस्दा स्वास्थ्य बिग्रिएपछि उनलाई पाल्पास्थित मिशन अस्पतालमा भर्ना गरिएको थियो। उनको जेठ २० गते मृत्यु भएको र अहिले नमुना परीक्षण गर्दा कोरोनाभाइरस सङ्क्रमण देखिएको डा. देवकोटाले बताए।

यससँगै नेपालमा अहिलेसम्म कोरोनाभाइरस सङ्क्रमण भएका १० जनाको मृत्यु भएको पुष्टि भएको छ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ३,८६७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

बुधवार २४ घण्टाभित्र २०१ जनामा सङ्क्रमण पुष्टि भएपछि उक्त सङ्ख्या २,३०० पुगेको थियो।

अहिले देशभरि क्वारन्टीनमा १,६१,००० जनाभन्दा बढी व्यक्ति छन्।

तीमध्ये कर्णाली प्रदेशमा हुनेको सङ्ख्या ५८,२४१ भएको मन्त्रालयले जनाएको छ।

अहिले सबै प्रदेश र ७७ मध्ये ६५ जिल्लामा कोभिड-१९ पुगिसकेको छ।

तीमध्ये प्रदेश नं २ र ५ सर्वाधिक प्रभावित भएको देखिएको छ।

क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको मन्त्रालयको भनाइ छ।

केही सातादेखि सङ्क्रमण पुष्टि भएका अधिकांश व्यक्ति क्वारन्टीनमा थिए।

को हुन् सङ्क्रमित?

मन्त्रालयले बिहीवार पुष्टि गरेका सङ्क्रमित विभिन्न जिल्लाका हुन्।

तीमध्ये केही बालबालिका पनि छन्। तर अधिकांश व्यक्ति पुरुष र युवा हुन्।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएका १०६ जनामध्ये १०५ जना दैलेख जिल्लाका र एक जना मुगुका छन्।

त्यसैगरी सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका अन्य आठ जनामा पनि कोभिड-१९ पुष्टि भएको छ।

त्यसैगरी कोभिड-१९ पुष्टि हुनेमा रौतहटका ६४, बाँकेका ४२, कपिलवस्तु २९, दाङका १५, सप्तरीका १३, बाराका १२ र बागलुङका १० जना छन्।

अन्य सङ्क्रमित झापा, मोरङ, ताप्लेजुङ, खोटाङ, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, म्याग्दी, पर्वत, स्याङ्जा र डोटी जिल्लाका हुन्।