कोरोना भाइरस: 'सीमामा अलपत्र परेका भारतीयलाई फिर्ता पठाउने प्रक्रिया सुरु'

    • Author, ‏बिमला चौधरी
    • Role, बीबीसी न्यूज नेपाली, नेपालगञ्ज

लकडाउनका कारण नेपाल-भारत सीमामा अलपत्र परेका भारतीयलाई फिर्ता पठाउने र भारततर्फ रहेका नेपालीलाई स्वदेश ल्याउने प्रक्रिया सुरु भएको अधिकारीहरूले बताएका छन्।

बाँके प्रशासन र भारतको बहराइच जिल्लाका डिस्ट्रिक्ट म्याजिस्ट्रेटबीचको समन्वयमा नेपालगञ्जको सीमा क्षेत्रमा रहेका भारतीयलाई फिर्ता पठाउन लागिएको हो।

रोजगारीका लागि भारतका विभिन्न सहरमा नेपालीहरू गएजस्तै नेपालका विभिन्न सहरमा पनि हजारौंको सङ्ख्यामा भारतीयहरू रहेका छन्।

बाँकेका क्वारन्टीनमा रहेका १७० र विभिन्न कल कारखाना, होटेलका मजदुर र आफन्तको घरमा बसेका भारतीय नागरिकलाई फिर्ता पठाउन लागिएको बाँकेका प्रहरी प्रमुख वीरबहादुर ओलीले बताए।

"भारत फिर्ता गर्न लागिएका मानिसको सङ्ख्या करिब ८ सयको हाराहारीमा छ," प्रहरी उपरीक्षक ओलीले बीबीसीलाई भने, "भारतको बहराइच, नानपारा आसपासका क्वारन्टीनमा ७१४ जना नेपली रहेको भारतीय सुरक्षा अधिकारीले जानकारी दिएका छन्।"

नेपाल तर्फबाट सीमापारी जाने सबै भारतीयलाई त्याहाँका सुरक्षा अधिकारीले प्रवेशको अनुमति दिए सम्पर्कमा आएका सबैलाई पठाउने तयारी गरिएको पनि ओलीले बताए।

"यस विषयमा भारतीय पक्षसँग थप छलफल भइरहेको छ। भारत प्रवेश गर्न चाहने भारतीय नागरिक थपिने क्रम जारी रहेकाले दुवै देशका नागरिक वारपार गराउने कार्य आज राति अबेरसम्म हुन सक्छ," प्रहरी प्रमुख ओलीले भने।

सीमा नाका जमुनाहामा प्रत्येक भारतीय नागरिकको नाम दर्ता गरेर पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज माधव रिजालले जानकारी दिए।

"नाम दर्ताको काम सकिएपछि पालैपालो प्रवेश गराइने छ," उनले भने।

सीमा नाकामा अहिले नेपालतर्फ भारतीय र भारततर्फ नेपाली नागरिकको भीड लागेको छ।

नेपाल प्रवेश गर्ने सबैलाई जमुनाहामा नै आरडीटी विधिबाट कोरोनाभाइरसको सङ्क्रमण परीक्षण गर्ने तयारी गरिएको बताउँदै एसपी ओलीले भने, "जिल्लाभित्रका नागरिकलाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारन्टिनमा राखिनेछ र अन्यलाई उनीहरूकै गृह जिल्ला पठाउने तयारी गरिएको छ।"

नेपाल भित्रिने व्यक्तिहरूको स्वास्थ्य परीक्षणका लागि जमुनाहामा नेपाली सेनाले क्याम्प स्थापना गरेको जिल्ला स्वाथ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोनाभाइरस उपचारका लागि तोकिएका अधिकारी नरेश श्रेष्ठले जानकारी दिए।

"भारतबाट आउने नेपालीहरूलाई पहिलो चरणमा आरडीटी विधिबाट परिक्षण हुन्छ," श्रेष्ठले भने, "यदि रिपोर्ट नेगेटिभ आए समबन्धित जिल्लामा पठाइने छ।"

पछिल्लो समय नेपाल-भारत सीमा नाकाबाट लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम नरोकिएपछि नेपालमा कोरोनाभाइरस सङ्क्रमितको दर बढिरहेको छ।