तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारतबाट नेपाली मजदुर र विद्यार्थीको आग्रह: 'हामीलाई नेपाल फर्काउ'
- Author, कमल परियार
- Role, बीबीसी न्यूज नेपाली
दार्चुला पारि भारतीय क्षेत्र धार्चुलामा फसिरहेका र स्वदेश फर्कन खोजिरहेका नेपालीहरूलाई नेपाल प्रवेश गर्न नदिइने दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बीबीसीलाई बताएका छन्।
उनले भने, “लक डाउन नखुलेसम्म जो जहाँ छन् त्यहीँ बस्नुपर्छ अहिले हामी सीमा खोल्न सक्दैनौँ।”
उनीहरूले आफ्नो देश फर्कन देउ भनेर नाराबाजी गरिरहेको भिडिओ र तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।
सीमा क्षेत्रमा आइपुगेका मात्र होइन भारतका विभिन्न स्थानमा बसेका नेपालीहरूले पनि आफ्नो उद्धार गरिदिन माग गरेका छन्।
मजदुरी, अध्ययन वा अन्य विविध कारणले छिमेकी मुलुक भारत गेका नेपालीहरूले 'लकडाउन'का कारण आफूहरू अलपत्र परेको भन्दै नेपाल फर्कने वातावरण बनाइदिन नेपाल र भारत सरकारसँग आग्रह गरेका हुन्।
निकै छोटो समयको पूर्वसूचना दिएर कडा बन्देजको घोषणा गरिएपछि आफूहरूलाई खानबस्न समेत समस्या परेको उनीहरूले बताएका छन्।
भारतको पञ्जाबमा इलेक्ट्रिक इञ्जिनियरिङ अध्ययन गरिरहेका एकजना विद्यार्थी चन्द्रशेखर चौरासियाले बीबीसीसँगको कुराकानीमा भने, ''हामीसँग रहेको पीठो, चामल, सब्जी सबै सकियो। महँगो तरकारी किन्न पैसा छैन।''
उनका अनुसार उनले अध्ययन गर्ने लभ्ली प्रोफेसनल विश्वविद्यालयमा मात्रै झण्डै २०० जना नेपाली विद्यार्थी छन् र उनीहरू सबैजसो घर फर्कन चाहन्छन्।
कोरोनाभाइरसको सङ्क्रमण बढ्दै गएपछि भारतले गत हप्ता २१ दिन लामो लकडाउन गरेपछि भारतका प्राय: ठूला शहरमा मजदुरी गर्न र अध्ययन गर्न पुगेका नेपालीहरू अलपत्र परेका खबर आएका छन्।
झापा घर भएका अर्का विद्यार्थी रोहित थापाले भने, ''प्रहरीले बाहिर निस्कन दिदैँन। अग्रिम किनेर राखेको खाद्य लगायतका सामग्री समेत सकियो। अब टिक्न गाह्रो भैसक्यो यहाँ। कृपया घर फर्कने वातावरण बनाइदिनुस्।''
दुतावासले बाहिर ननिस्कन तथा खाद्य सामग्री र औषधी आवश्यक परे दूतावासको नम्बर +९१८९२९६०१९२५ मा सम्पर्क गर्न आग्रह गरेपनि फोन नउठ्ने गरेको उनीहरूको गुनासो छ।
तर नयाँदिल्ली स्थित नेपाली राजदूतावासका कन्सुलर हरिप्रसाद ओडारीले भने यात्राका लागि कुनै अनुमति नभएकाले जहाँ जो जस्तो अवस्थामा रहेको भएपनि खान र बस्नको लागि आफूहरूले प्रबन्ध वा समन्वय गर्ने बताएका छन्।
उनले भने, ''हामीलाई भारतभरबाट नेपाल फर्कन पहल गर्न वा उद्धारका लागि टेलिफोन र सामाजिक सञ्जालबाट आग्रह भएका छन् तर हामी यात्राका लागि हालका लागि केही गर्न सक्दैनौँ।''
''कुनै नेपालीले आफूलाई समस्या परेको सूचना दिए हामीहरू खाद्यान्न तथा औषधोपचारमा भारत सरकारको केन्द्र तथा स्थानीय सरकारसँग समन्वय गरेर सहयोग गर्छौँ,'' उनले भने।
उनका अनुसार भारतको लकडाउनका कारण रोजीरोटी गुमाएका र निर्धारित गन्तव्यमा पुग्न नसकि बाटैमा अलपत्र परेकालाई सहयोग गर्न दूतावासले त्यहाँका अधिकारीहरूसँग छलफल गरिरहेको छ।
कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिन आवतजावत नियन्त्रणका कडा उपाय लागु गरिएपछि दिल्ली, दिल्ली आसपासका स्थानहरू, मुम्बई, पूणे,पञ्जाव, बेङ्गलोर, राजस्थान, जम्मूकश्मीर, कुल्लूमनाली लगायतका स्थानहरूबाट सहयोगका लागि आग्रह भएको बताइन्छ।
दिल्ली आसपासका शहरबाट कैयन् मजदुरहरू हिँडेरै र विभिन्न माध्यमबाट नयाँ दिल्ली पुगेको अधिकारीहरूले बताएका छन्।
भारत सरकारले लकडाउन गरेलगत्तै नेपाल सरकारले पनि भारत र चीनसँगका सबै सीमानाका बन्द गर्ने निर्णय गरेसँगै सयौँ नेपालीहरू सीमामा अलपत्र परेका छन्।
- के हो? वास्तवमा के हो कोरोनाभाइरसकसरी जोगिने?
- सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
सीमा क्षेत्रमा फसेकाहरू
भारतबाट नेपाल आउँदै गर्दा भारतको धार्चुलामा झण्डै ५०० नेपालीहरू विगत केहीदिनयता रोकिएपछि उनीहरूले नेपाल प्रवेश गर्न पाउनुपर्ने भन्दै अवरोधप्रति विरोध गरेका जनाएका छन्।
भारतका विभिन्न क्षेत्रमा मजदुरी गरेर लकडाउनपछि घर फर्किन लागेका उनीहरू भारतीय भूमी धार्चुलामै रोकिएका हुन्।
धार्चुलामा फसिरहेकामा ३०० जनाभन्दा बढी बैतडीका, ३० जना बझाङ र बाँकी जाजरकोट लगायतका सिमावर्ती जिल्लाका नागरिक रहेका छन्।