तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोनाभाइरस: नेपाल-भारत नाकामा अलपत्र परेकाहरू नेपाल प्रवेश
कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सीमामा आवतजावत बन्द गरिएपछि नेपाल-भारत नाकामा अलपत्र परेका नेपालीहरूलाई एक पटकका लागि देशभित्र प्रवेश गर्न दिने निर्णय लिएको छ।
स्वास्थ्य जाँच गराएर नेपाल प्रवेश गरेपछि उनीहरू अनिवार्य रूपमा क्वारन्टीनमा बस्नुपर्ने निर्णय भएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बीबीसी नेपालीलाई बताए।
हाल पूर्व र पश्चिमका कैयौँ नाकामा सयौँका सङ्ख्यामा भारतबाट फर्किएका नेपालीहरू अलपत्र रहेका तथा कतिपय ठाउँमा उनीहरू र सुरक्षाकर्मीबीच झडप भएका विवरण आएका छन्।
मन्त्री पोखरेलले भने, "हामीले एक पटकका लागि प्रवेश गर्न दिने निर्णय गरेका छौ। तर क्वारन्टीनमा बाध्यात्मक रूपमा सबैले बस्नुपर्ने हुन्छ।"
व्यवस्था
"नेपालभित्रै पनि आवतजावत ठप्प भएको सन्दर्भमा प्रदेश सरकारको संयोजकत्वमा संयन्त्र बनाएर उनीहरूलाई घरसम्म पुग्ने व्यवस्था गरिनेछ।"
विदेशमा रहेका नेपालीहरू कोरोनाभाइरसको सङ्क्रमणका कारण विश्वभरि देखिएको विपद्को घडीमा आफू बसेकै स्थानमा बसून् भनेर सरकारले कूटनीतिक ढङ्गले पहल गर्ने निर्णय पनि उच्चस्तरीय समितिले गरेको छ।
मन्त्री पोखरेलले गृह मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयसँग स्थानीय प्रमुख जिल्ला अधिकारीले समन्वय गरी उक्त निर्णय कार्यान्वयन गर्ने बताए।
त्यसरी नाकाबाट नेपाल प्रवेश गर्नेहरू क्वारन्टीनमा बस्ने स्थान गृह र स्वास्थ्य मन्त्रालय प्रदेश सरकारसँग मिलेर तोक्ने बताइएको छ।
कौलालीको गौरीफन्टा नाकामा भारतबाट नेपाल भित्रिन खोज्ने करिब सात सय नेपाली आवगामन बन्द भएपछि सिमामा अलपत्र परेका छन्।
सुदुरपश्चिम प्रदेश सरकारको निर्णयपछि उनीहरूलाई देशभित्र प्रवेश गर्न दिइएको र गाडीमा राखेर सम्बन्धित जिल्लामा पठाउन थालिएको छ।
सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी भने आफू बसेको जिल्लाको स्थानीय तहमा नै उनीहरूले क्वारन्टीन र आइसोलेसनका नियमहरू पालना गर्नुपर्ने बताएका छन्।
बिहान प्रहरी र नाकामा प्रवेश गर्न खोज्नेपश्चात् धकेलाधकेल भएपछि प्रहरीले उक्त नाकामा लाठीचार्ज गरेको थियो।
भारतीय सीमावर्ती बजार पानीटेंकीमा अलपत्र परेका १६० जनालाई नेपालीलाई मेची पुलबाट प्रवेश गर्न दिइएको जनाइएको छ।
त्यसमध्ये झापाका एक सय जनालाई जिल्लास्तरमा नै क्वारन्टीनमा राखिने र बाँकीका बारेमा सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूलाई खबर गरिने अधिकारीहरूले जनाएका छन्।
यसअघि दिल्लीस्थित नेपाली राजदूतावासले भारतको केन्द्र र राज्य सरकारले जारी गरेका लकडाउन र कर्फ्यु पालना गर्न भारतमा रहेका नेपालीहरूलाई अनुरोध गरेको थियो।
उक्त निर्णय कार्यान्वयन नगरे भारतीय निकायहरूले कारबाही गर्ने जानकारी गराइएको पनि दिल्लीस्थित दूतावासको विज्ञप्तिमा उल्लेख छ।
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- सङ्क्रमण हुँदा के हुन्छ? मानिसको शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्