तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस: कोभिड-१९ भएका १० लाख मानिस निको भए
कोरोनाभाइरस सङ्क्रमण भएर निको हुने मानिसको सङ्ख्या १० लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाएको छ।
विश्वभरि पुष्टि भएका सङ्क्रमणको सङ्ख्या ३० लाख नाघिसकेको छ। तीमध्ये दुई लाख ३०,००० जनाभन्दा बढीको मृत्यु भएको छ।
कोभिड-१९ हुँदा मृत्युदर कम भएकाले कोरोनाभाइरस सङ्क्रमितहरूको ठूलो सङ्ख्या निको हुने विज्ञहरूले बताएका छन्।
सङ्क्रमण भएका झन्डै ८० प्रतिशत व्यक्तिलाई त झन् कुनै लक्षण नै नदेखिने बताइन्छ।
द लान्सिट जर्नलमा प्रकाशित एउटा अनुमानअनुसार कोभिड-१९ को मृत्युदर फ्लूको भन्दा बढी तर सार्सको भन्दा कम छ।
फ्लू भएका १,००० बिरामीमध्ये एक जनाको मृत्यु हुन्छ भने सार्स भएका बिरामीको मृत्युदर ९५ देखिएको छ।
क्रूज जहाजहरूको तथ्याङ्क हेर्दा बाहिरबाट आएका सङ्क्रमण नभएको र परीक्षण राम्रो भएको अवस्थामा मृत्युदर एक प्रतिशत हुने लान्सिट जर्नलमा प्रकाशित अध्ययनमा उल्लेख छ।
तर देशअनुसार परीक्षणको अवस्था फरक भएको र कुनै पनि देशमा ती जहाजमा जस्तो शत प्रतिशत परीक्षण सम्भव नभएको अवस्थामा त्यो दर बढी हुनसक्छ।
नेपालमा शुक्रवारसम्म ५९ जनामा सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये १६ जना भाइरसमुक्त भएको सरकारले जनाएको छ।
अस्पतालमा भर्ना भएका अन्य सबैको स्वास्थ्यस्थिति सामान्य भएको र कुनै जटिलता नदेखिएको बताइएको छ।
गत वर्ष डिसेम्बर महिनाको उत्तरार्धमा चीनबाट फैलिन थालेको कोरोनाभाइरस अहिले विश्वव्यापी महामारी बनेको छ।
युरोपका केही देश र अमेरिका यसबाट सर्वाधिक प्रभावित भएका छन्।
दक्षिण एशियामा भारतमा अहिलेसम्म ३३,००० भन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन्। तीमध्ये १,००० जनाभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ।
पाकिस्तानमा पनि १६,००० सङ्क्रमितमध्ये ३५० जना बढी व्यक्तिको मृत्यु भएको छ।
बाङ्ग्लादेश, अफगानिस्तान, श्रीलङ्का र माल्दिभ्समा पनि कोभिड-१९ का कारण मानिसहरूले ज्यान गुमाएका छन्।
तर अहिलेसम्म नेपाल र भुटानमा कसैको मृत्यु भएको छैन।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ