आरिफ शेखको आडभरोसामा चम्केको नेपाल

तस्बिर स्रोत, CAN
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
आरिफको परिचय मोटामोटी यसरी दिइने गरिन्छ- धैर्यपूर्ण ब्याटिङ, परिपक्व खेल, शान्त स्वभाव र आवश्यक परेको बेला टोलीलाई सम्हाल्दै खेल जिताउने योग्यता बोकेका खेलाडी।
त्यसैले राष्ट्रिय टोलीमा सोमपाल कामी पछिका सबैभन्दा पुराना खेलाडी आरिफ एक दिवसीय टोलीको महत्त्वपूर्ण सदस्यका रूपमा परिचित छन्।
जानकारहरू भन्छन्: आरिफले त्यति चर्चा पाएको देखिन्न, जति उनी योग्य छन्। उनी चुपचाप आफ्नो भूमिका निभाउँछन्, टोलीको जितमा रमाउँछन्।
नेदरल्यान्ड्सविरुद्ध पनि आरिफले त्यही गरेका हुन्।
टोलीलाई एउटा गतिलो इनिङ सम्हाल्ने खेलाडीको आवश्यक परेका बेला मध्य क्रममा आरिफ मैदानमा आए।
९९ सय बलको सामना गरे। ७ चौका र २ छक्का ठोके र ७८ रन बनाएर आफ्नो भूमिका पूरा गरे।
संयोग

तस्बिर स्रोत, CAN
नेपाल ६८-३ को अवस्थामा रहेको बेला उनले कप्तान रोहित पौडेलसँग मिलेर ५५ रनको साझेदारी गरे। अनि दीपेन्द्र सिंह ऐरीसँग मिलेर ८९ रनको साझेदारी गर्दै टोलीलाई जिततिर डोर्याए।
४६ औँ ओभरमा आरिफ आउट हुँदा नेपाल जितको औपचारिक अवस्थामा पुगिसकेको थियो।
राष्ट्रिय टोलीका पूर्व छनोटकर्ता दीपेन्द्र चौधरी भन्छन्, "परिस्थिति अनुसार सम्हाल्दै खेल अघि बढाउन सक्नु नै आरिफको विशेषता हो। उनले आफूलाई फेरि एक पटक प्रमाणित गरिदिए।"
नेदरल्यान्ड्ससँग आरिफको थुप्रै संयोग जोडिएको छ।
सन् २०१८ मा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो एक दिवसीय प्रतियोगिता खेल्दा आरिफले पनि ओडीआई 'डेब्यू' (पहिलो खेल खेलेको) गरेका थिए।
उनको टी- २० आई डेब्यू पनि सोही वर्ष लर्ड्स मैदानमा नेदरल्यान्ड्सविरुद्ध नै भएको थियो।
बुधवार आरिफले उही नेदरल्यान्ड्सविरुद्ध करिअरकै उच्च रन मात्र बनाएनन्, नेपाललाई एउटा महत्त्वपूर्ण समयमा अविस्मरणीय जित दिलाउन भूमिका खेले।
आइसीसी विश्वकप लीग-२ मा नेपालले 'ब्याक टू ब्याक' दुई खेल जित्यो। यसले लीग तालिकामा धरमराइ रहेको नेपाललाई तङ्ग्रिने अवस्थामा पुर्याएको छ।
भरपर्दा खेलाडी

वीरगन्ज निवासी आरिफ २७ वर्षका भइसके।
दायाँ हाते ब्याटिङ अलराउन्डर उनी सुरु देखिनै भरपर्दो ब्याटिङ छविका कारण चिनिन्थे।
१० वर्ष राष्ट्रिय टोलीसँग जोडिँदा आरिफ नेपाली क्रिकेटका प्राय: सबै महत्त्वपूर्ण सफलताका साक्षी बनिसकेका छन्।
यस क्रममा उनले ५९ एक दिवसीय र ४१ टी-२० खेलिसकेका छन्।
यस क्रममा उनले एक दिवसीयमा ८ अर्ध शतक सहित १ हजार २०३ रन बनाइसकेका छन् भने टी २० मा ४९४ रन बनाइसकेका छन्।
स्कुल क्रिकेट, जिल्ला, यू-१९ राष्ट्रिय टोलीको बाटो हुँदै आरिफ राष्ट्रिय टोलीसम्म पुगेको हुन्।
सन् २०१४ मा एसीसी प्रीमिअर कप क्रिकेटमा उनी यू-१९ टोलीका उपकप्तान चुनिएका थिए।
यु -१९ मा प्रभाव जमाएपछि अर्को वर्ष आइसीसी विश्वकप लीग डिभिजन- २ मा आरिफ राष्ट्रिय टोलीमा प्रवेश गर्न सफल भए। जहाँ लिस्ट 'ए' मा उनले नामिविया विरुद्ध खेलेर डेब्यू गरेका थिए।
आरिफ पार्ट टाइम मिडिअम पेस बलर पनि हुन्।
समयक्रमसँगै आरिफको ब्याटिङ छविमा निखार आएको देखिन्छ। पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लको कप्तानीमा ६/६ खेल खेलेका उनले सन्दीप लामिछानेको कप्तानीमा १४ खेल खेले।
पछिल्लो समय भने कप्तान रोहितसँग उनले ३३ खेल खेलिसकेका छन्। उनको सन्तुलित खेल शैलीले टोलीमा उनको स्थान झन् मजबुत बन्दै गएको छ।
गत वर्ष अमेरिकामा भएको लीग २ मा स्कटल्यान्डलाई हराउन पनि आरिफले अर्धशतकीय पारी खेलेका थिए। लीग २ मा त्यो नेपालको दोस्रो जित थियो।
शेख दाजु भाइ
राष्ट्रिय टोलीमा दाजुभाइ आरिफ-आशिफ शेखको दबदबा लामो समयसम्म रहनु नेपाली राष्ट्रिय टोलीको 'ब्युटी' मा पर्छ।
विकेटकिपर ब्याटर आशिफ शेखको त आरिफ 'मेन्टर' नै हुन्।
एक अर्कालाई साह्रै माया गर्ने शेख दाजु भाइले भर्खरै मात्र विवाह पनि सँगसँगै गरेका थिए।
अप्ठेरो छवि
आरिफको भूमिका नै अप्ठेरो बेला आउने गर्छ। जब जब टोली धरापमा परेको हुन्छ, त्यो बेला मैदानको जिम्मेवारी सम्हाल्ने पालो आरिफको हुने गर्छ।
त्यस्तो बेला इनिङ उकास्न सम्हालिएर खेल्नुपर्ने हुँदा कतिपय बेला उनले धेरै डट बल खेल्नुपर्ने हुन्छ। आक्रामक स्वरूप देखाउन पाइँदैन।
यस्तोमा कतिपय बेला उनी दर्शकको आलोचनाको सिकार पनि बन्ने गरेका छन्।
दीपेन्द्र चौधरी भन्छन्, "सधैँ सफल पनि त भइँदैन। दर्शकहरू त रन धेरै बनेको नै हेर्न चाहन्छन्। यस्तोमा कहिलेकाहीँ आलोचना हुने गरेको छ।"
उनको यो एक दिवसीय जिम्मेवारीको असर भने टी-२० करिअरमा पर्न गएको देखिन्छ। धेरै डट बल खेल्ने खेलाडी भएकै कारण टी २० मा उनले अवसर नपाउने गरेको कतिपय क्रिकेट विश्लेषकहरू बताउँछन्।
त्यसको सिकार बन्ने क्रममा उनी गत वर्ष अमेरिका वेस्ट इन्डिजमा भएको विश्वकप टी २० मा राष्ट्रिय टीमबाट फ्याँकिएका थिए।
आरिफ यसलाई तितो अनुभवको रूपमा बताउने गर्छन्।
त्यति मात्र होइन। टोलीमा खेलाडी परिवर्तनका बेला धरापमा पर्ने खेलाडी आरिफ हुने गरेको दृष्टान्त छन्।
नयाँ प्रयोग गर्नु परेमा पनि बेन्चमा बस्नुपर्ने खेलाडी आरिफ नै हुने गर्छन्।
मुख्यतः पछिल्लो समय मोन्टी देशाईको प्रशिक्षण कालमा उनी बेन्चमा परेका थिए।
यद्यपि आरिफ आफ्नो 'राष्ट्रिय ड्युटी' मा दत्तचित्त देखिन्छन्।
अहिले पुछारबाट दोस्रो स्थानमा रहेको नेपाललाई आगामी दिनमा माथि उकास्न 'आरिफले अप्ठेरो बेला खेल जिताउन सक्छन्' भन्ने छवि कायम राख्न अझै राम्रो खेल्न जरुरी छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








