टी२० आई प्रतियोगिताको फाइनल खेल जित्नै लागेको नेपालले यसरी गुमायो उपाधि

तस्बिर स्रोत, CAN
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
बशिर अहमद नायक बन्दै नेपाललाई असोचनीय जित दिलाउन नजिक पुगेको अवस्थामा उनी आउट हुन पुगेपछि नेपाल चारदेशीय टी-२० आई शृङ्खलाको उपाधि गुमाएको छ।
हङकङमा भएको प्रतियोगिताको फाइनलमा कुवेतविरुद्ध जित पाउन अन्तिम ४ बलमा ४ रन बनाउनुपर्ने अवस्थामा खेलमा एक्लै भिडिरहेका बशिर छक्का हानेर जित दिलाउन हतारिँदा क्याच आउट हुन पुगेका थिए।
त्यो नेपालको अन्तिम विकेट पनि थियो। जसले गर्दा कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल १७१ रनमा अड्किन पुगेको थियो।
कुवेतविरुद्ध बशिर 'वान म्यान आर्मी' का रूपमा प्रस्तुत भए पनि बाँकी खेलाडीको प्रदर्शन निकै कमजोर हुनु नेपालको हारको कारण बन्यो।
बशिर र नन्दनको स्मरणीय इनिङ
आइतवारको नेपालको इनिङ भनेकै बशिर र नन्दन यादवको साहसिक ब्याटिङ थियो।
मुख्य खेलाडीहरू एकपछि अर्को हुँदै आउट भएपछि छैटौँ नम्बरमा आएका बशिर एक्लै विपक्षी बलरमाथि हावी हुन पुगे।
नेपालले आशा गुमाइसकेको अवस्थामा उनले एकपछि अर्को रन जोड्न थाले भने आठौँ नम्बरमा आएका नन्दन यादवले उनलाई मज्जाले साथ दिए।
उनले ४३ बल खेलेर ८० रन बनाए। सो क्रममा उनले ८ छक्का र ४ चौका प्रहार गरेका थिए। नन्दनले भने १४ बलमा ३७ रन जोडे जसमा २ छक्का र ४ चौका थियो।
यी दुईले नेपाललाई जिततिर डोर्याइरहेका बेला नन्दन १८.४ ओभरमा आउट हुन पुगे।
अन्तिम ओभरको खेल
अन्तिम ओभरमा नेपालले ६ बलमा ११ रन बनाउनुपर्ने थियो।
बशिरले पहिलो बलमा नो बलमा छक्का प्रहार गरेपछि ५ बलमा ४ रन बनाउनुपर्ने स्थिति बन्यो।
दोस्रो बल डट भयो र तेस्रो बलमा छक्का हुने धुनमा उनी आउट हुन पुग्यो। नेपालको इनिङ समाप्त भयो।
एकपछि अर्को खराब ब्याटिङ
दीपेन्द्र सिंह ऐरी, कुशल मल्लजस्ता खेलाडीले एक रन पनि जोड्न नसकेपछि नेपालको शुरूआत खराब भएको थियो।
हङकङस्थित मिसन रोड ग्राउण्डमा आइतवार भएको फाइनलमा कुवेतले पहिलो ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १७४ रनको चुनौतीपूर्ण स्कोर बनाएको थियो।
कुवेतका ओपनर रभिजा सान्दारुवानले ६३ रनको शानदार पारी खेले।

तस्बिर स्रोत, CAN
पावर प्लेमा नै महत्त्वपूर्ण चार विकेट झरेपछि नेपाली टोली नाजुक अवस्थामा पुगिसकेको थियो।
त्यति बेला ओपनर कुशल भुर्तेलले ३ रन तथा आशिफ शेखले २१ रन बनाउन सकेका थिए भने ऐरी र मल्लले खाता नै खोल्न सकेनन्।
यद्यपि यो स्थितिबाट खेल उकास्ने भूमिका भने फेरि पनि हुन सकेन। कप्तान रोहित पौडेल ७ रन, गुलशन झा ९ रन, करण केसी ४ रनमा समेटिए। चार रन बनाएको अवस्थामा सोमपाल कामी पनि रन आउटको शिकार हुन पुगे।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








