मोन्टी देसाईबाट नेपाली क्रिकेटले के पायो

मोन्टी देसाई
तस्बिरको क्याप्शन, मोन्टी देसाई सन् २०२३ को पूर्वार्धमा नेपाली क्रिकेट टोलीको प्रशिक्षक नियुक्त भएका थिए
    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू

नेपाली क्रिकेट टोलीको प्रशिक्षकबाट बिदा भएका मोन्टी देसाईको एउटा गजबको बानी थियो। काठमाण्डूको कीर्तिपुर क्रिकेट मैदानमा नेपालको खेल चलिरहँदा उनी पानीको बोतल बोकेर मैदानवरिपरि डुल्थे।

दर्शकतिर उनी पानीको बोतल फ्याल्थे तर खास उद्देश्य चाहिँ मैदानभित्र खेलाडीलाई सन्देश पठाउने हुन्थ्यो।

उनका अरू पनि थुप्रै विशेषता थिए। जब टीमले सफलता हात पार्थ्यो, पत्रकार सम्मेलनमा उनी खेलाडीलाई पठाउँथे। जब हार्थ्यो वा अप्ठेरो स्थिति आउँथ्यो, पत्रकारको सामना गर्न उनी आफैँ उभिन्थे अनि खेलाडीको बचाउ गर्थे।

गत वर्ष टी२० विश्वकपमा दक्षिण अफ्रिकासँग नेपाल एक रनले हारपछिको स्थिति त्यसमध्येको एक थियो।

उनी पत्रकारहरूमाझ आए, निकै भावुक रूपमा प्रस्तुत भए र खेलाडीको तारिफ गर्दै नेपाल अबको एक दशकमा टेस्ट राष्ट्र बन्न सक्ने दाबी गरेर फर्किए।

सधैँ हाँसिरहने तर कूटनीतिमा माहिर मानिने मोन्टीका केही महत्त्वपूर्ण सफलताले उनलाई नेपाली क्रिकेटले सधैँ याद गर्न सक्छ।

त्यसमा टी २० विश्वकप छनोट, एशिया कप छनोट र त्यसअघिको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) हैसियत जोगाउन खेलेको भूमिका प्रमुख हो।

२ 'गुरुमन्त्र'

मोन्टी देसाई र रोहित पौडेल
तस्बिरको क्याप्शन, धेरै जानकारहरू सन् २०२३ मा नेपाली क्रिकेटको एकदिवसीय हैसियत जोगाइदिएको जस देसाईलाई दिन्छन्

मोन्टी देसाईले प्रशिक्षकका रूपमा खेलाडीहरूमाझ दोहोर्‍याउने दुई कुरा भने उनले खेलाडीलाई सधैँका लागि दिएको गुरुमन्त्र हुन सक्छ।

त्यो भनेको 'ह्यापी ड्रेसिङ रूम' अर्थात् खेलाडीको ड्रेसिङ रूमको खुसी र 'वन बल ब्याटल' अर्थात् एक पटकमा एउटा बलमा मात्रै केन्द्रित भएर खेल्ने रणनीति हो।

दुई वर्षअगाडि उनले नेपाली टोलीको प्रशिक्षण सम्हाल्दा नेपाल ओडीआई हैसियत गुमाउने अवस्थाको सन्निकट थियो।

तर मोन्टीले विश्वकप लीग २ का १२ मध्येको ११ खेलमा प्राप्त गरेको विजय यस्तो थियो कि मानौँ उनले कुनै 'जादुको छडी' नै लिएर आए।

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान राजु खड्का त्यसमा मोन्टीले ल्याएको 'ह्यापी ड्रेसिङ रूम' को नारालाई महत्त्वपूर्ण ठान्छन्।

उनी भन्छन्, "खेलाडी त्यही नै थिए, प्रतिभा त्यही नै थियो। मोन्टीले छरपस्ट बसेका खेलाडीको अवस्थालाई एक बनाएका हुन्। बस्, मनोबल थपिदिएका हुन्। असल प्रशिक्षकले गर्ने नै यही हो।"

उनको 'वन बल ब्याटल' रणनीतिले खेलाडीहरूलाई मानसिक दबावबाट माथि उठेर खेल्न र धेरै लामो नसोचेर एउटा बलमा केन्द्रित भएर खेल्न प्रेरित गरेको देखिएको थियो।

उनले टोलीका सदस्यहरूमा दबेर बसेको प्रतिभालाई पहिचान गर्दै प्रस्फुटनको बाटो देखाएका छन्।

उपलब्धि

ब्याटिङ क्लिनिकमा मोन्टी देसाई
तस्बिरको क्याप्शन, मोन्टी देसाईले नेपाली क्रिकेट टोलीको प्रशिक्षकका रूपमा सबैभन्दा पछिल्लो पटक एउटा 'ब्याटिङ क्लिनिक' चलाए

नेपाल आउनेबित्तिकै मोन्टीले नेपालको ओडीआई हैसियत मात्र जोगाएनन्, विश्वकप लीग २ को शीर्ष तीनमा नेपाललाई उकाले र त्यसै कारण नेपाल सोझै विश्वकप क्वालिफाइअरमा पुग्न समेत सफल भयो।

यो 'जादुमय' नतिजाले टीममा यति ऊर्जा थपियो कि त्यसपछि नेपाली टोलीले एकपछि अर्को सफलता आत्मसात् गर्दै गएको थियो।

एसीसी प्रिमिअर कप च्याम्पियन हुँदै नेपाल एशिया कपमा छनोट भएको कुरा र त्यहाँ भारत तथा पाकिस्तानसँग इतिहासकै पहिलो भेटमा गरेको प्रभावशाली प्रदर्शन नेपाली क्रिकेटप्रेमीले बिर्सेका छैनन्।

मूलपानी क्रिकेट मैदानमा युएईलाई हराउँदै टी२० विश्वकप (अमेरिका/वेस्ट इन्डिज)मा छनोट हुनु चाहिँ उनको नेपाली टोलीको नेतृत्व सम्हाल्नुको सबैभन्दा ठूलो उपलब्धि बन्यो।

त्यसमा दक्षिण अफ्रिकाविरुद्ध एक रनको हार र बाङ्ग्लादेशसँगको कसिकसाउ प्रदर्शनले नेपालको चर्चा विश्वकपमा मज्जाले भएको थियो।

विफलता

तर समय सधैँ मोन्टीको साथमा देखिएन। पछिल्लो समय नेपाली टोलीले उनकै मार्गदर्शनमा एकपछि अर्को असफलता देख्नुपर्‍यो।

जुनजुन उपलब्धि उनी आएको वर्ष प्राप्त भएका थिए, दोस्रो वर्ष ती नै विषयमा टोलीले असफलताको सामना गर्नुपर्‍यो।

जस्तै विश्वकप लीग २ लाई नै हेरौँ। नेपालले हालसम्म १२ खेल खेलेको छ र तीमध्ये आठ खेलमा त हार बेहोरिसक्यो। त्यसबीचमा जम्मा दुई खेल मात्र जितेको छ, बाँकी दुई खेल अनिर्णीत भएका छन्।

त्यसैले नेपालको लीग २ को अबको यात्रा कठिन देखिँदै छ।

एसीसी प्रिमिअर कपमा त झनै बेमज्जा भयो।

डिफेन्डिङ च्याम्पियन नेपाल यसपालि फाइनलमा नै पुग्न सकेन। त्यसले गर्दा एसिया कप नेपालको हातबाट टाढा हुन पुग्यो।

अरू त अरू, तेस्रो स्थानको खेल जितेको भए कम्तीमा टोलीले इमर्जिङ एशिया कप खेल्न पाउँथ्यो। त्यसमा पनि हङकङसँग हार्दा नेपालले बिना कुनै उपलब्धि प्रिमिअर कपको यात्रा टुङ्ग्यायो।

यस्तो विफलतापछि मोन्टीको विकल्प खोज्नुपर्ने आवाज उठ्न थालिसकेका थियो।

"यदि मोन्टीले ११ खेल लगातार जिताउन सक्छ भने लगातार ११ खेल हराउन पनि सक्छ" जस्ता टिप्पणी सुनिन थालेका थिए।

भनिन्छ पछिल्लो समय मोन्टीको टीमका अधिकांश खेलाडीहरूसँग राम्रो सम्बन्ध बन्न सकेको थिएन।

यी विषयहरूले गर्दा पनि मोन्टीलाई निरन्तरता नदिने निष्कर्षमा क्यान पुगेको बताइन्छ।

तर क्यानका प्रवक्ता छुम्बी लामा भन्छन्, " मोन्टीको योगदान बिर्सनै नसकिने खालको छ नै। अहिले नेपाललाई थप उचाइमा पुर्‍याउन एकै जना पात्र भन्दा भिन्न पात्र राख्दा परिवर्तन आउन सक्छ भनेर क्यानले सहमतिमै सम्झौता सकाएको हो।"

दुईवर्षे कार्यकालमा भारतका यी प्रशिक्षकको मातहत रहेर नेपाली टोलीले ३७ ओडीआई खेल्दा २० जित र १५ हारको सामना गर्‍यो। दुई खेलको निर्णय भएन।

त्यस्तै टी२० आईमा ३९ खेल खेल्दा २१ मा जित र १६ मा हार भोग्यो। दुई खेल अनिर्णीत भयो।

मोन्टी देसाई
तस्बिरको क्याप्शन, मोन्टी देसाईको आगमनले नेपाली क्रिकेट ठूलो दुर्घटनाबाट जोगिएको कतिपयको ठम्याइ छ

सम्झनायोग्य बिदाइ

दुई वर्षअघिसम्म पनि मोन्टी देसाई नेपाली क्रिकेटमा नयाँ नाम थिएन।

विभिन्न समयमा उमेर समूहको खेलाडी र राष्ट्रिय टोलीको ब्याटिङ कन्सल्ट्यान्टको रूपमा योगदान दिइसकेका पात्र थिए उनी।

उनको बिदाइ पनि सम्झनायोग्य नै भयो।

क्यानले भर्खरै युवा खेलाडीहरूको लागि 'ब्याटिङ क्लिनिक'को आयोजना गर्‍यो, जसको एउटा उद्देश्य नै उनको सम्मानजनक बिदाइको थियो।

मोन्टीले पनि नेपाल छोड्दै गर्दा सामाजिक सञ्जालमा क्रिकेटसँग जोडिएका सबै पक्षलाई सम्झिँदै लेखे, "यो गुड बाई होइन, हार्दिक धन्यवाद हो"।

एउटा कुरा भने स्पष्ट छ – मोन्टीको आगमनले नेपाली क्रिकेट ठूलो दुर्घटनाबाट जोगिएकै हो। उनको यो योगदान नेपाली क्रिकेटले बिर्सने छैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।