नेपाली क्रिकेटमा ललित राजवंशीको 'जादुमय उपलब्धि'

तस्बिर स्रोत, CAN
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
नेपाली क्रिकेटमा ललितनारायण राजवंशीको स्पिनको जादु रोकिएको छैन।
नेपाल प्रिमिअर लिग (एनपीएल) मा उत्कृष्ट बलर घोषित भएका ललितनारायण राजवंशी भर्खरै सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा उत्कृष्ट बलर सहित सर्वोत्कृष्ट खेलाडी बनेका छन्।
यी दुई खेलमा उनले तीन वटा मोटरसाइकल त पुरस्कार मात्रै पाए।
एनपीएलमा ललित सर्वोत्कृष्ट खेलाडीलाई दिइने कारकै 'दाबेदार' बनेका थिए।
सर्वोत्कृष्ट खेलाडीमा नछानिए पनि उनी आबद्ध टोली जनकपुर बोल्ट्सका प्रशिक्षक पुबुदु दशानायक र टोलीका खेलाडी न्युजिल्यान्डका जिम्मी निशमले 'ललित नै कारका दाबेदार' भएको भन्दै उनको सार्वजनिक प्रशंसा गरेका थिए।
भर्खरै सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा ललितकै नाम सबैभन्दा धेरै चर्चामा रह्यो भन्दा फरक पर्दैन।
उनले प्रतियोगिता अवधिभरि ४१ विकेट लिएर आफ्नो टोली नेपाल पुलिस क्लबलाई च्याम्पिअन बनाउन अहम् भूमिका खेले नै, साथै व्यक्तिगत रूपमा पनि ललितको लागि पीएम कप स्मरणीय रह्यो।
ललित राजवंशीको १०० विकेट

तस्बिर स्रोत, CAN
नेपाल प्रहरीका खेलाडी ललित प्रधानमन्त्री कपमा १०० विकेट लिने नेपालको पहिलो बलर हुन्।
प्रतियोगिताको सातौँ संस्करणमा आएर उनले यो सफलता प्राप्त गरे। सात संस्करणसम्म ४२ खेलमा सहभागी भएका ललितले १०० विकेट पूरा गरेका हुन्।
उनीसँगै नेपाली सेनाका साहब आलमले पनि विकेट सङ्ख्या १०० पुर्याएका छन्।
यद्यपि प्रतियोगिताको सातमध्येको एक संस्करण भने टी २० फर्म्याटमा खेलाइएको थियो।
प्रतियोगिताको पाँच खेलमा त ललितले पाँच भन्दा बढी विकेट लिएका थिए। उनले दुई वटा खेलमा छ-छ विकेट र तीन वटा खेलमा पाँच-पाँच विकेट लिए। बाँकी दुई खेलमा उनले चार-चार विकेट लिन सफल भएका थिए।
फाइनलमा भने उनी झन्डै विकेट विहीन हुनु परेको थियो। साहब आलमको विकेट लिएसँगै उनले यो वर्षको प्रतियोगिता टुङ्ग्याएका हुन्।
ललितको उत्कृष्ट बलिङ प्रदर्शन सुदूरपश्चिम प्रदेश विरुद्ध थियो। जहाँ उनले सात ओभरमा १५ रन दिएर छ विकेट लिएका थिए। उनको इकोनोमी २.७५ को थियो।
क्रिकेटमा पाँच विकेट लिनुको विशेष महत्त्व छ। त्यसमा पनि एउटै संस्करणमा ४१ विकेट लिनु ललितको लागि विशेष बन्यो।
मोटरसाइकल किस्सा : एउटा पाएनन्, दुई वटा एकै पटक

तस्बिर स्रोत, CAN
सन् २०१९ को प्रधानमन्त्री कपमा पनि ललित प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट बलर बनेका थिए।
काठमान्डूको कीर्तिपुर क्रिकेट मैदानमा खेलिएको फाइनलमा नेपाल पुलिसले नेपाल आर्मीलाई नै हराएको थियो। यो प्रतियोगिताको फाइनलमा ललितले चार विकेट लिएका थिए।
प्रतियोगिता अवधिभर २० विकेट लिएका उनले दुई उपाधि जिते। सर्वोत्कृष्ट खेलाडी बनेका उनलाई मोटरसाइकल पुरस्कार दिने घोषणा गरिएको थियो।
तर उनले आफूले त्यो पुरस्कारको मोटरसाइकल कहिल्यै नपाएको बताए।
अहिले प्रधानमन्त्री कपको एउटै संस्करणमा ललित उसै गरी सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट बलर बने।
यसपालि भने उनले दुई वटै मोटरसाइकल पाइसकेका छन्।
एनपीएलमा पनि उनले मोटरसाइकल नै जितेका थिए।
निर्विकल्प स्पिनर

तस्बिर स्रोत, CAN
एक समय वसन्त रेग्मी र शक्ति गौचनले धानेको नेपाली राष्ट्रिय टोलीको स्पिनको जिम्मेवारीलाई ललित नारायणले बायाँ हाते स्पिनले सम्हालेका छन्।
पावर प्लेमा पनि प्रशिक्षकले बलिङका लागि पूर्णतः विश्वास गर्न सक्ने थोरै खेलाडीमा ललित पनि पर्ने गर्छन्।
राष्ट्रिय टोलीमा स्थान बनाएर मात्र होइन, घरेलु प्रतियोगिताहरूमा पनि उत्कृष्ट प्रदर्शन गर्न सके राष्ट्रिय टोलीको स्थान सुरक्षित हुने गर्छ।
हालै भएका सबै किसिमका घरेलु प्रतियोगितामा ललितले त्यो छाप छोड्न सफल भएका छन्।
एनपीएलमा १७ विकेट लिँदै उत्कृष्ट बलर बनेका उनले जय ट्रफी दुई दिवसीयमा त्यस्लाई निरन्तरता दिन सके।
नेपाल पुलिस क्लब च्याम्पिअन बनेको सो प्रतियोगितामा ललितले कुल २४ विकेट लिएका थिए।
अर्जुन ट्रफीमा भने धनगढीबाट खेलेका ललितले सन्तोषजनक नतिजा दिन सकेनन्। धनगढीका लागि उनले छ विकेट मात्र योगदान गरे। तर फेरी प्रधानमन्त्री कपमा उनले ४१ विकेट लिएर आफ्नो क्षमतालाई पुष्टि गरे।
नेपालले हङकङमा खेल्न लागेको हङकङ ट्रफीको तयारीका लागि ललित अहिले भैरहवामा बन्द प्रशिक्षणमा छन्।
उनका प्रशंसकहरूले हङकङमा पनि उनको स्पिन कौशल हेर्न पाइने अपेक्षा पालेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








