क्रिकेट टी २० विश्वकप: फाइनल भिडन्तबारे के भन्छन् मुम्बईबाट फर्किएका नेपाली खेलाडी

भारतका सञ्जु सामसन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, भारतका सञ्जु सामसनले जारी विश्वकपमा विस्फोटक ब्याटिङ् गर्दै आएका छन्
    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ४ मिनेट

भारतको लागि जारी टी-२० विश्वकपको फाइनल सम्मको यात्रा कागजमा कोरिएको योजना सर्लक्क मैदानमा उतारिए जस्तै सफल बनिरहेको देखिएको छ।

आफ्नै घरमा प्रतियोगिताको आयोजना गर्दा भारत सामु दुई प्रमुख चुनौती थिए। पहिलो डिफेन्डिङ च्याम्पियनको हैसियतमा उपाधि जोगाउने र अर्को घरेलु दर्शकलाई सन्तुष्ट पार्दै टी-२० शैलीको खेल पस्किने।

साथै, रोहित शर्मा र विराट कोहलीको युग समाप्त भएर नयाँ स्वरूप लिएको टोलीलाई स्थापित गर्ने महत्त्वपूर्ण अवसर पनि घरमै भइरहेको विश्वकप प्रतियोगिताले दिएको थियो।

यो योजना टोली फाइनलसम्म पुग्दा सफल देखिएको छ।

अब आइतवार हुने उपाधि भिडन्तमा भारतले न्यूजील्यान्ड विरुद्धको अन्तिम खड्गो पार गर्नुपर्ने छ।

अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुने फाइनल कस्तो होला? आत्मविश्वासी देखिएको भारत वा दरिलो मानसिकताका साथ फाइनल पुगेको न्यूजील्यान्डबीच को बलियो होला?

के भन्छन् नेपाली खेलाडीहरू?

जारी विश्वकपमा नेपाली टोली पहिलो चरणबाटै बाहिरियो। इङ्ग्ल्यान्ड, इटली र वेस्ट इन्डिजसँग हारेको नेपाली टोलीले स्कटल्यान्डलाई पराजित गरेको थियो।

सो नेपाली राष्ट्रिय क्रिकेट टोलीमा सहभागी भएर मुम्बईबाट फर्किएका खेलाडी ललितनारायण राजवंशी भन्छन्, "घरेलु मैदान र उत्साहित दर्शकहरूको समेत साथ पाउने भएकोले भारतलाई मौका धेरै छ। तर न्यूजील्यान्डलाई पनि कमजोर आँक्न मिल्दैन।"

भारतको ब्याटिङ सुदृढ बनेको छ। सञ्जु सामसनको धमाकेदार प्रस्तुति भरपर्दो बन्दा इशान किशन, अनुभवी बलर जसप्रित बुमराह र हार्दिक पान्ड्याले राम्रो साथ दिइरहेका छन्।

ललित राजवंशी थप्छन्, "खेल नियाल्ने हो भने भारतको बलिङ त्यति बलियो देखिएको छैन। जसप्रित बुमराहले डेथ ओभरमा राम्रो गरेर म्याचहरू जोगाएका छन्। इङ्ग्ल्यान्डले अढाइ सय रन पछ्याउने आँट गर्नु भनेको भारतको बलिङको कमजोरी पनि त हो नि।"

सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराएको शैली निरन्तर राख्न सके न्यूजील्यान्ड खतरनाक हुने राजवंशीको तर्क छ।

न्यूजील्यान्डका ओपनर ब्याटर फिन एलेन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, न्यूजील्यान्डका ओपनर ब्याटर फिन एलेनले विश्वकपमा राम्रो प्रदर्शन गरिरहेका छन्

सेमिफाइनलमा फिन एलेनले ३३ बलमा शतक प्रहार गरेको जादुगरी इनिङका साथमा न्यूजील्यान्डका खेलाडीहरूले बहन गरेको भूमिका निकै सफल देखिएको थियो।

नेपाल प्रिमिअर लीग एनपीएलको पहिलो सिजनमा ललित राजवंशी र न्यूजील्यान्डका जिम्मी निशम जनकपुर बोल्ट्सबाट सँगै खेलेर उपाधि जितेका थिए। निशम अहिले न्यूजील्यान्डको टोलीमा समावेश छन्। त्यसकारण पनि ललितले न्यूजील्यान्डको खेललाई धेरै ध्यान दिएको बताउँछन्।

कीर्तिपुरमा एनपीएलका दुवै संस्करणमा – पहिलोमा जनकपुर बोल्ट्सका तर्फबाट अनि दोस्रोमा पोखरा एभेन्जर्सका तर्फबाट - जिम्मी निशमले गरेको प्रदर्शन र नेपाली क्रिकेटलाई उचाइ दिन भूमिका खेलेकोले कतिपय नेपाली समर्थकहरूले न्यूजील्यान्डको सपोर्ट गर्न सक्ने उनको अनुमान छ।

यद्यपि छिमेकी भारतको क्रिकेट मन पराउने नेपाली समर्थकहरूको सङ्ख्या पनि धेरै नै देखिँदै आएको छ। पछिल्लो समय भारतीय फ्रेञ्चाइज लीग आइपीएल हेर्ने बानी परेका कारण पनि कतिपय नेपाली क्रिकेट प्रेमीहरूले भारतको समर्थन गर्ने गरेको देखिन्छ।

ललितका अनुसार न्यूजील्यान्डका निम्ति फिन एलेन मात्र होइनन्, रचिन रविन्द्रको बलिङ र ब्याटिङ अनि मध्यक्रमका ब्याटर तथा विकेटकिपर टिम सिफर्ट पनि बलियो हतियार हुन सक्नेछन्।

बलर ललितनारायण राजवंशी

तस्बिर स्रोत, CAN

तस्बिरको क्याप्शन, बलर ललितनारायण राजवंशी यसपालि विश्वकप खेलेको नेपाली टोलीमा समावेश थिए

राष्ट्रिय महिला टोलीकी अलराउन्डर कविता कुँवर भन्छिन्, "आइपीएल र महिलाको फ्रेञ्चाइज लीग डब्ल्यूपीएल हेर्ने भएकोले भारतको समर्थन गर्ने धेरै देखिन्छ।"

कविता फाइनल खेलमा चर्को टक्कर हुने बताउँछिन्।

न्यूजील्यान्डका फिन एलेन लामो समय क्रिजमा टिकेमा ठूलो स्कोर बन्न सक्छ। फाइनलमा फिन एलेन र भारतीय बलर अर्शदिप सिंह बीचको भिडन्त रोचक हुने कविता बताउँछिन्।

कवितालाई मन पर्ने टोली अस्ट्रेलिया शुरुआती चरणमै प्रतियोगिताबाट बाहिरियो। अर्को मन पर्ने टोली इङ्ग्ल्यान्ड पनि सेमिफाइनलबाट बाहिरिएकोमा उनी दु:खी छन्।

राष्ट्रिय महिला टोलीकी अलराउन्डर कविता कुँवर

तस्बिर स्रोत, Kabita Kunwar/Facebook

तस्बिरको क्याप्शन, राष्ट्रिय महिला टोलीकी अलराउन्डर कविता कुँवर फाइनल खेलमा कडा टक्कर हुने बताउँछिन्

फाइनलमा दुवै टोलीको मौका ५०/५० प्रतिशत रहेको उनी बताउँछिन्। उनी भन्छिन्, " न्यूजील्यान्डको पनि सम्भावना छ। तर भारतलाई हराउन गाह्रो नै होला।"

भारतको पल्ला भारी?

भारतका इशान किशन प्रतियोगिताका उत्कृष्ट ब्याटरमध्ये एक हुन्। पावर प्लेमा आक्रामक सुरुआत गर्ने उनको क्षमता भारतका लागि निर्णायक हुन सक्छ।

पछिल्लो फर्म हेर्ने हो भने सञ्जु सामसनको भूमिका पनि निर्णायक हुन सक्छ। कप्तान सूर्यकुमार यादवले ३१३ रन बनाएका छन्। उनको ब्याटिङ र दबावमा राम्रो खेल्ने क्षमता भारतको मध्य क्रमको मुख्य आधार बन्न सक्छ।

त्यसैले नेपाली अम्पायर रवीन्द्र गुप्ता भारतको घरमा खेल भइरहेको हुनाले भारतको स्थिति राम्रो देख्छन्।

तर भारतीय खेलाडीले ब्याटिङ सुधार्नुपर्ने उनको तर्क छ। पछिल्लो समय सामसन एक्लैले ब्याटिङको जिम्मेवारी सम्हालिरहेको बताउँदै रवीन्द्र भन्छन्, "भारतले फाइनलमा २०० रन बनाएर मात्र पुग्दैन। २२५ भन्दा माथिको रन बनाउनुपर्छ। किनकि न्यूजील्यान्डका ब्याटरहरू रन पछ्याउन माहिर छन्।"

साथै, भारतका बलरहरूले पनि राम्रो खेल देखाउनु पर्ने चुनौती रहेको उनी बताउँछन्। हार्दिक पान्ड्या र बुमराह त छँदै छन्, उनीहरूलाई १६ विकेट लिइसकेका अर्शदिप सिंह र वरुण चक्रवर्तीले दिने साथ महत्त्वपूर्ण हुने उनी बताउँछन्।

न्यूजील्यान्डका रचिन रवीन्द्र खतरनाक हुने अम्पायर रवीन्द्र बताउँछन्।

उनी भन्छन्, "रवीन्द्रले विकेट लिने मात्र होइन, बायाँ हाते ब्याटिङमा पनि राम्रो गरिरहेका छन्। यदि न्यूजील्यान्डले फाइनल जित्ने हो भने गतिलो फिल्डिङ गर्दै क्याच छुटाउनु भएन।"

उनको अनुमानमा फाइनल खेलमा भारत र न्यूजील्यान्डले जित्ने सम्भावना ६०-४० प्रतिशत देखिन्छ।

कतिपय दर्शकले भने भारतको लागि विपक्षी न्यूजील्यान्डभन्दा पनि १ लाख ३० हजार दर्शक अटाउने क्षमता भएको अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालाको 'पुरानो डर' रहेको बताइरहेका छन्।

किनकि भारतले पछिल्लो दुई महत्त्वपूर्ण खेल यसै रङ्गशालामा हारेको थियो।

२०२४ को एकदिवसिय विश्वकपको फाइनलमा यसै रङ्गशालामा अस्ट्रेलियाले भारतलाई पराजित गरेको थियो भने जारी टी २० विश्वकपको सुपर ८ को खेलमा दक्षिण अफ्रिकाले यही रङ्गशालामा टोलीलाई स्तब्ध पारेको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।