टी२० विश्वकप: संसारभरबाट आएका नेपाली क्रिकेटका समर्थकका गर्विलो क्षणदेखि साझा गीतको खोजीसम्म

विनोद विकास सिम्खडाको टोली

तस्बिर स्रोत, Binod Bikash Simkhada

तस्बिरको क्याप्शन, लन्डनदेखि दर्जनभन्दा बढीको समूहमा नेपाली क्रिकेटरहरूको समर्थन गर्न मुम्बई आइपुगेका विनोद विकास सिम्खडाको टोली
    • Author, निरञ्जन राजवंशी
    • Role, मुम्बई, भारत
  • पढ्ने समय: ५ मिनेट

विश्वकप हेर्न लन्डनबाट मुम्बई आएका विनोद विकास सिम्खडाले नेपाल र इङ्ल्यान्डबीचको खेल हेर्दा दुई वटै देशको राष्ट्रिय गान गाए।

काठमाण्डू घर भएका तर अहिले लन्डनमा स्थायी बसोबास गर्ने विनोदसँग उक्त खेलका लागि 'मिश्रित भावना' थियो।

तर खेलमा भने उनले नेपालको जितको कामना गर्दै हेरे। उनले बीबीसीसँग भने, " मेरो चाहना भनेको नेपालले हरेक प्रतिद्वन्द्वीलाई जितोस् भन्ने नै हो। नेपाल छैन भने मात्र इङ्ल्यान्ड अगाडि बढोस् भन्ने सोच्ने गर्छु।"

विनोद त्यस्ता नेपाली क्रिकेट समर्थक हुन् जसले नेपालले खेलेको सुरु देखिका सबै अन्तर्राष्ट्रिय खेल हेरेका छन्।

नेपालले सन् २०१४ मा बाङ्ग्लादेशमा खेलेको विश्वकपदेखि मुम्बई सम्मका तीन वटै विश्वकपमा उनी प्रत्यक्षदर्शी थिए।

नेपालले पहिलो पटक सन् २०१८ मा नेदरल्यान्ड्समा एक दिवसीय क्रिकेट खेल्दा होस् वा श्रीलङ्कामा एसिया कप खेल्दा उनी जहाँ पनि पुग्न छुटाएका छैनन्।

नेपाली क्रिकेटका पक्का समर्थक उनी भन्छन्, "मलाई नेपालीको अन्तर्राष्ट्रिय क्रिकेट र म सँगसँगै हुर्के जस्तो लाग्छ। नेपाली क्रिकेटले राम्रो गर्दै गए म पनि पछि पछि लाग्दै आएको छु। मैले नेपाली क्रिकेटको विकास क्रम नजिकबाट अनुभव गर्ने मौका पाएँ।"

उनी यसपालि पनि लन्डनबाट दुई दर्जनको टोली बनाएर मुम्बई आएका छन्।

उनीसँगै आएका नीराजन राज लवत दोस्रो खेलको प्रदर्शनपछि अलिकति निराश देखिए।

उनले भने, " जुन हिसाबले इङ्ल्यान्डसँग खेल्दा नेपालले फड्को मारेको जस्तो लागेको थियो। इटलीसँग हारेपछि पुनः धरातलमा पुगे जस्तो भयो। अन्तिम १० ओभरमा स्टेडियम नै छोड्न मन लागेको थियो।"

वानखेडे रङ्गशालामा बसेर खेल हेरिरहँदा उनले नेपाली समर्थकको समर्थन शैलीमा पनि विकास गर्ने सोच बनाएको बताए।

उनले भने, " टोलीको समर्थनमा सबै दर्शक मिलेर एउटै शैलीको गीत गाउने र खेलाडीको हौसला बढाउनु जरुरी छ। नेपाली फ्यान रङ्गशालाभरि छन्। सबैले एउटै स्वरमा गीत गाउन पाएको भए कति मज्जा हुन्थ्यो। अब हामी यसमा काम गर्छौँ।"

लन्डनका नीराजन राज लवत चश्मा लगाउने

तस्बिर स्रोत, Nirajan Lavat

तस्बिरको क्याप्शन, लन्डनका नीराजन राज लवत चश्मा लगाउने

विश्वको कुना कुनाबाट समर्थक

इङ्ल्यान्डविरुद्धको खेलमा १७ हजार र इटलीसँगको खेलमा साढे १३ हजार दर्शक वानखेडेमा उपस्थित भएका बताइएको छ।

त्यसमा अधिकांश दर्शक नेपालबाटै आएका थिए भने भारतमा रहेका नेपालीहरू र अन्य थुप्रै देशबाट समर्थक ओइरिएका थिए।

फेब्रुअरी १४ को प्रेम दिवसको अवसरलाई सदुपयोग गर्दै थुप्रै जोडीहरू पनि रङ्गशालामा देखिएका थिए। पुरै परिवारका साथ आएकाहरू पनि धेरै भेटिए।

नेपाली फ्यानले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीदेखि थुप्रै देशलाई आकर्षित गरेको छ।

दर्शकको उपस्थितिले गर्दा नेपालले सन् २०२४ र २०२५ मा आइसीसीको डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जितेको थियो।

यसपालि पनि नेपाली दर्शकको उपस्थिति र समर्थन यथावत् देखिएको छ।

मुकेश थापा अफगानिस्तानबाट क्रिकेट हेर्न आएका त्यस्तै एक दर्शक हुन्।

काबुलस्थित यूएन अफिसमा कार्यरत काठमाण्डू मूलपानी निवासी मुकेशले नेपाल विश्वकपमा छनोट हुने बित्तिकै बिदा मिलाएका थिए। काठमाण्डूमा रहेकी श्रीमतीको पनि कार्यतालिका बनाए अनि सँगै मुम्बई पुगेर खेल हेरे।

दुई खेल हेरेको अनुभव उनी यसरी बताउँछन्, " मिक्स्ड फिलिङ भइरहेको छ। इङ्ल्यान्डसँगको खेलपछि धेरै नै आशावादी भइयो। तर केही छैन खेल हो हार जित त हुन्छ। आशा छ, दुई खेल बाँकी छ त्यसमा राम्रो खेलिदेओस्।"

बाङ्ग्लादेशको खेल नहुने भएपछि वेस्ट इन्डिजसँगको खेल हेरेर अफगानिस्तान फर्किने उनी बताउँछन्।

शङ्कर धरेलले वेस्ट इन्डिजका सिमरन हिटमायरसँग तस्बिर खिच्ने मौका दियो

तस्बिर स्रोत, Shankar Dharel

तस्बिरको क्याप्शन, शङ्कर धरेलले वेस्ट इन्डिजका सिमरन हिटमायरसँग तस्बिर खिच्ने मौका दियो

'पहिलो खेल जस्तै दिन फेरि आउने छ'

अस्ट्रेलियाको मेलबर्नमा बसोबास गर्ने ३९ वर्षीय शङ्कर धरेल इङल्यान्डविरुद्ध नेपालले खेलेको खेल सम्झेर रमाउने बताउँछन्।

उनी भन्छन्, " इङल्यान्डसँगको खेल हेरेर फर्किँदा बाटोमा हिँड्दा, रेस्टुरेन्टमा खाँदा सबैले प्रशंसा गरे। नेपाली जर्सी लगाउँदाको शान नै बेग्लै भएको थियो। त्यसैले म दोस्रो खेललाई चटक्क बिर्सेर बसेको छु। पहिलो खेल सम्झेर रमाउने हो।"

इङ्ल्यान्डसँगको खेल हेरिरहँदा आफूलाई वानखेडेमा असोसिएट र टेस्ट टोली खेलिरहेको भन्ने पूरै बिर्सेको बताउँछन्। भन्छन्, "लाग्थ्यो दुई शक्तिशाली राष्ट्र खेलिरहेका छन्। त्यो गजबको अनुभव थियो। नेपाल हारेको फिलिङ नै भएन।"

केही चर्चित खेलाडीसमेत भेट्ने मौका पाएका उनले नेपालले आगामी दिनमा इङ्ल्यान्डसँगको भन्दा राम्रो खेल्ने दिन आउने विश्वासमा छन्।

ओमानबाट आएका सञ्जयकुमार शाह

तस्बिर स्रोत, Sanjaya Kumar Shah

तस्बिरको क्याप्शन, ओमानबाट आएका सञ्जयकुमार शाह

ओमानको मस्कटबाट खेल हेर्न आएका सञ्जय कुमार शाह आफ्नो समयका खेलाडी पनि रहेछन्।

एसियाली राष्ट्रमै खेल भएको र भिसाको झन्झट पनि नहुने भएपछि आफू बिदा मिलाएर आएको बताउँछन्।

आफ्ना साथीहरूका साथ आएका सञ्जयलाई इटलीसँग हार्दा निकै खल्लो अनुभव भएछ।

उनी भन्छन्, " दर्शक दीर्घामा धेरै समय रमाउने मौका पाइएन। जित्ने खाले खेल भएको भए धेरै कराउन पाइन्थ्यो। ब्याटिङमै मजा गरियो। अहिले हान्छ, अब हान्छ भन्ने आशा गर्दा गर्दै हारियो। तर केही छैन हामीले नेपालले जितेमा पनि हारेमा पनि समर्थन गर्ने हो।"

अफगानिस्तानबाट आएका मुकेश थापाको जोडी

तस्बिर स्रोत, Mukesh Thapa

तस्बिरको क्याप्शन, अफगानिस्तानबाट आएका मुकेश थापाको जोडी

कलैयाबाट यू १६ क्रिकेट खेलिसकेका उनले नेपाली टोलीले 'पुल शट्' हाल्दा पावर नपुगेको बताउँछन्।

ओमानमा अम्पायरिङ पनि गरिसकेका र त्यहाँ नेपालीहरूलाई टेनिस बल क्रिकेटको आयोजना गरेर क्रिकेट जगाउने गरेका सञ्जय वेस्ट इन्डिजसँगको खेल हेरेर फर्किने योजनामा छन्।

भारतमा स्थायी बसोबास गर्ने बैतडीका नमराज जोशीको मोबाइलमा 'सयौँ थुङ्गा फुलका हामी" वाला राष्ट्रिय गानको 'रिङ टोन' बज्छ।

नेपाली क्रिकेटलाई माया गर्ने भारतमा लाखौँको सङख्यामा रहेको बताउने उनले वानखेडे रङ्गशालामा उभिँदा गर्वले छाती फुलेको बताउँछन्।

उनले भने, "मलाई राम्रो लागेको कुरा के हो भने नेपाली क्रिकेटलाई मन पराउने भारतीयहरू थुप्रै छन्। जसले यहाँ बस्ने नेपालीहरूलाई पनि राम्रो मान्छन्। क्रिकेटले यो काम गरिदिएको छ।"

यस्ता खाले थुप्रै समर्थकहरू कम्तीमा अब बाँकी वेस्ट इन्डिज र स्कटल्यान्ड सँगको खेलसम्म वानखेडेमा हुने छन्।

नेपाली समर्थकको कमी हुने देखिँदैन। यति मात्र हो की उनीहरूलाई खुसी बनाउने काम भने नेपाली खेलाडीहरूको प्रदर्शनमा निर्भर हुने छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।