टी-२० विश्वकपका लागि बनेको नेपाली प्रारम्भिक टोलीमा एनपीएलको छाप

- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
नेपाल क्रिकेट सङ्घ क्यानले टी-२० विश्वकप २०२६ को तयारी क्याम्पमा २४ खेलाडी छनोट गरेको छ। त्यसमा भर्खरै सम्पन्न नेपाल प्रिमिअर लीग एनपीएल-२ मा सहभागी खेलाडीहरूले गरेको प्रदर्शनको प्रभाव देखिएको छ।
क्यानले आइतवार जारी गरेको सूचीमा नेपाललाई विश्वकपमा छनोट गराउन भूमिका खेलेका टोलीका कुनै पनि खेलाडी छुटेका छैनन्। थपिएको सूचीमा एनपीएलमा प्रभावकारी प्रदर्शन गरेका खेलाडीहरूको नाम पनि छ।
क्यानले सोमवारबाट तयारी क्याम्प सुरु हुने जनाएको छ। क्यानका प्रवक्ता छुम्बी लामाले पहिलो चरणमा 'कन्डिशनिङ क्याम्प' सुरु गरिने बताए।
"सुरुमा कन्डिशनिङ क्याम्प हुन्छ। त्यसपछि दोस्रो चरणमा २० जना चयन हुन्छन् भने अन्तिम छनोटबाट १५ खेलाडी विश्वकपका लागि छानिने छन्। "
टी-२० विश्वकप २०२६ आगामी फेब्रुअरीमा भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुन लागेको छ।
शेर मल्लको प्रवेश

कतिपयले अनुमान गरे झैँ 'रहस्यमय' स्पिनरको छवि बनाएका शेर मल्ल २४-सदस्यीय प्रारम्भिक टोलीमा परेका छन्।
लुम्बिनी लायन्सलाई एनपीएल विजेता बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका शेर मल्लले एनपीएलको उत्कृष्ट उदीयमान खेलाडीको उपाधि जित्दै मोटरसाइकल प्राप्त गरेका थिए।
उनले एनपीएलमा कुल १५ विकेट लिएका थिए।
विनोद भण्डारी र अविनाश बोहोराको पुनरागमन

सुदूरपश्चिम रोयल्सबाट खेलेका विनोद भण्डारी र अभिनाश बोहोरा पनि क्याम्पमा फर्किएका छन्।
प्रारम्भिक विकेटकीपर ब्याटर विनोद भण्डारी अमेरिका र वेस्ट इन्डिजमा आयोजित विश्वकपमा टोलीमा संलग्न थिएनन्। तर क्यानले उनलाई नेपाल 'ए' को कप्तानको जिम्मेवारी भने दिएको थियो।
एनपीएलमा सुदूरपश्चिमबाट ओपनिङमा विश्वासयोग्य प्रदर्शन गरेर टोलीलाई फाइनलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेपछि उनलाई क्याम्पमा बोलाइएको छ।
प्रतियोगितामा उच्च रन बनाउने खेलाडीमध्ये शीर्ष ३ भित्र परेका भण्डारीले त्यति बेला एनपीएल राष्ट्रिय टोलीको छनोटको आधार हो कि होइन भन्दै क्यानलाई व्यङ्ग्य गरेका थिए।
अविनाश बोहोरा गत टी२० विश्वकप खेलेयता भने टोलीमा परेका थिएनन्। तर एनपीएलमा १७ विकेट लिँदै संयुक्त रूपमा शीर्ष बलर बनेपछि उनले क्याम्पमा स्थान पाएको देखिन्छ।
राष्ट्रिय टोलीका सबै सदस्य स्वतः क्याम्पमा

तस्बिर स्रोत, CAN
यसबाहेक एनपीएलमा राम्रो प्रदर्शन गर्ने खेलाडीहरू बसिर अहमद, ईशान पाण्डे, साहब आलम, रूपेश कुमार सिंह, प्रतिश जिसी र भीम सार्की पनि प्रारम्भिक छनोटमा परेका छन्।
उनीहरू पनि एनपीएलमा प्रभावशाली देखिएका थिए।
नियमित राष्ट्रिय टोलीका खेलाडीहरू कप्तान रोहित पौडेल, सोमपाल कामी, कुशल भुर्तेल, आशिफ शेख, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, कुशल मल्ल, आरिफ शेख, सन्दीप जोरा, गुलशन झा, नन्दन यादव, ललित राजवंशी, आदिल अन्सारी र लोकेश बमले स्वतः टोलीमा स्थान पाएका छन्।
राष्ट्रिय टोलीका केही महत्त्वपूर्ण खेलाडीहरूको प्रदर्शन भने एनपीएलमा त्यति उत्साहवर्धक थिएन।
टोली छनोट गर्न क्यानले तीन-सदस्यीय समिति बनाएको छ। त्यसमा पूर्वराष्ट्रिय खेलाडी एलबी क्षेत्री संयोजक र युनिल श्रेष्ठ र मुर्तुजा हवारी सदस्य छन्।
उनीहरूले प्रमुख प्रशिक्षक स्टुअर्ट लसँगको छलफलमा खेलाडी चयन गर्ने बताइएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








