नेपाल क्रिकेट: पुरुष फ्रेन्चाइजको चमक, महिलाको पालोको पर्खाइ

इन्दु बर्मा र रुविना क्षेत्री विमिन्स क्रिकेट लीगमा फाइल फोटो

तस्बिर स्रोत, WCL

तस्बिरको क्याप्शन, इन्दु बर्मा (बायाँ) र रुविना (दायाँ) क्षेत्री विमिन्स क्रिकेट लीगमा फाइल फोटो
    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

फ्लड लाइटको झिलिमिली उज्यालोमा भरिभराउ कीर्तिपुर क्रिकेट रङ्गशालामा एनपीएल सिजन-२ चलिरहेको हेरिरहँदा राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व कप्तान रुविना क्षेत्रीको मन कटक्क हुन्छ।

"हामी पनि यसरी फ्रेन्चाइज क्रिकेट कहिले खेल्ने होला भन्ने लाग्छ नि। खै कहिले पालो आउने हो" रुविना आफ्नो मनको बह पोख्छिन्।

छिमेकी देश भारतमा चर्चित विमिन्स प्रिमिअर लीग डब्ल्यूपीएलमा स्मृति मन्डना ३ करोड ४० लाखमा बिक्री हुने गरेको समाचार सुनेर लोभिइरहेका महिला खेलाडीहरूको फ्रेन्चाइज खेल्ने चाहना अस्वाभाविक लाग्दैन।

खेलाडीहरूको आर्थिक वृद्धिदेखि खेलको स्तरोन्नतिमा मद्दत पुग्ने भएकोले अब महिलाको फ्रेन्चाइज क्रिकेट सुरु गर्नुपर्ने बेला भइसकेको खेलाडीहरू बताउँछन्।

नेपालमा महिला खेलाडीहरूको भलिबल फ्रेन्चाइज लीग सुरु भइसकेको छ भने महिला फ्रेन्चाइज फुटबल गर्ने घोषणा अखिल नेपाल फुटबल सङ्घले गरिसकेको छ।

नेपाली महिला क्रिकेट टीम

फेरि महिला क्रिकेट नेपालमा राम्ररी फस्टाइसकेको र अन्तर्राष्ट्रिय रूपमा पनि चर्चित छ।

कप्तान इन्दु वर्मा भन्छिन्, " क्यानमा यसबारे छलफल चलिरहेको सुनेका छौँ। हामी प्रतीक्षामा छौँ।"

नेपालमा महिलाको फ्रेन्चाइज क्रिकेट नभएको भने होइन। यसले निरन्तरता पाउन नसकेको मात्र देखिन्छ।

पुजा महतो

तस्बिर स्रोत, Puja Mahato Facebook

तस्बिरको क्याप्शन, पुजा महतो

कस्तो थियो विगत

नेपालमा फ्रेन्चाइज क्रिकेट गर्ने प्रयास पटक पटक भए पनि विसं २०७६ मा एक पटक यसको आयोजना भएको इतिहास छ।

विमिन्स च्याम्पियन्स लीग (डब्ल्यूसीएल)को नाममा भएको उक्त प्रतियोगिता क्वीन्स इभेन्ट म्यानेजमेन्टले गरेको थियो। प्रतियोगितामा पाँच वटा सहरको नाममा पाँच टोलीले सहभागिता जनाएको थिए।

जसमा इन्दु वर्माको नेतृत्वमा रहेको चितवन राइनोजले रुविना क्षेत्रीले नेतृत्व गरेको क्याट क्विन्स काठमाडौँलाई ४५ रनले पराजित गरेको थियो।

उक्त प्रतियोगितामा राष्ट्रिय टोलीका खेलाडीसहित युवा खेलाडीहरूले मौका पाएका थिए। विजेता टोलीले ७ लाख रुपैयाँ पुरस्कार पाएको उक्त लीगमा चितवनकी रुविना क्षेत्रीले उत्कृष्ट खेलाडी बन्दै स्कूटर जितेकी थिइन्।

उनी भन्छन्, "उक्त प्रतियोगिताले महिला खेलाडीहरूको हौसला निकै बढाएको थियो। इन्दुसँग कप्तानी क्षमता रहेको सोही प्रतियोगितामा देखिएको थियो। कविता जोशी, कविता कुँवर, डली भट्ट, ईश्वरी बिस्ट जस्ता खेलाडीहरूको प्रतिभा पहिचान पनि त्यही प्रतियोगिताबाट भएको थियो।"

तर त्यसपछि कोरोनाभाइरसको महामारी काल सुरु भएकोले क्वीन्स इभेन्ट म्यानेजमेन्टले प्रतियोगितालाई निरन्तरता दिन नसकेको बताइन्छ।

सीता राना मगर

तस्बिर स्रोत, CAN

विदेशी लीगमा नेपाली महिला

नेपालमा लीग नभए पनि केही 'स्टार' खेलाडीहरूले भने विदेशी लीगमा सहभागिता जनाउँदै आएका छन्।

विदेशमा गएर खेल्ने एक व्यावसायिक खेलाडी सीता राना मगर हुन्। उनले सन् २०२२ मा हङकङमा फेयर ब्रेक इन्भिटेसनल क्रिकेट खेलेकी थिइन्। उनले मलेसियाको विमिन्स सुपर लीग पनि खेलिन्।

सीतापछि रुविना क्षेत्रीले पनि दुवै प्रतियोगिता खेलिन्। पछिल्लो समय कप्तान इन्दु वर्मासहित अन्य खेलाडीहरू पनि विदेशी लीगमा आकर्षण बनिरहेका छन्।

यसै वर्ष ६ खेलाडीले मलेसियामा सम्पन्न एनसीए विमिन इन्टर स्टेट टी-२० मा खेलेका थिए।

उनीहरूमा रुविना क्षेत्री, पूजा महतो र कविता कुँवरले सारावक क्रिकेट एसोसिएसनबाट खेलेका थिएन भने सीता राना मगर, कविता जोशी र राजमती ऐरीले सलाङगर क्रिकेट एसोसिएसनबाट खेलेका थिए।

पुरुषसँगै महिला अनिवार्य

टेस्ट राष्ट्र बन्ने योजना बुनिरहेको नेपाल क्रिकेट सङ्घले यदि टेस्ट मान्यता पाउने हो भने पुरुष जस्तै महिला क्रिकेट पनि समानान्तर रूपमा अगाडि बढाउनुपर्ने हुन्छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामा भन्छन्, "एनपीएलको भर्खर संस्करण-२ सकिँदै छ। अन्तर्राष्ट्रिय क्रिकेटमा माथि पुग्न महिला र पुरुष दुवै टोली माथि जानुपर्छ। क्यानमा यसबारे कुरा चलिरहेको छ। ढिलो चाँडो लीग हुन्छ।"

छुम्बी लामा एक मात्र महिला फ्रेन्चाइजका आयोजक क्विन्स इभेन्ट्सका अध्यक्ष पनि हुन्। उनले अबका दिनमा प्राइभेट कम्पनीभन्दा क्यानले नै महिला लीग गर्नुपर्ने बताउँछन्।

उनी भन्छन्, " सुरुआत हामीले गर्‍यौँ अब क्यानले आयोजना गर्दा टीम मालिक, विश्वसनीयता र प्रायोजक खोज्न सहज हुने छ।"

खेलाडीहरू पनि महिला लीग गर्ने सही समय आइसकेको बताउँछन्।

रुविना क्षेत्री भन्छिन्, "महिला क्रिकेटरहरूको ट्यालेन्ट नहराउन अनि युवा खेलाडीहरूको चासो बढोस् भन्नाका लागि लीग जरुरी छ।"

रुविनाका अनुसार अहिले राष्ट्रिय महिला टोलीले विगतमा भन्दा प्रशस्त प्रतियोगिताहरू खेलिरहेका छन्।

नेदरल्यान्ड्स, भारत, मलेसियामा गएर लगातार क्रिकेट खेलेको छ। तर उनी भन्छिन्, "घरेलु क्रिकेट भने जिरो छ। राष्ट्रिय टोलीको घेरामा नपरेका खेलाडीहरूले नखेलेको २ वर्षभन्दा बढी भइसक्यो। तिनीहरूलाई एक्सपोजर दिनको लागि पनि आवश्यक छ। "

कप्तान इन्दु वर्माले पनि क्यान महिला एनपीएलबारे भनिन्, "खेलाडीको रूपमा त तुरुन्तै भइहालोस् भन्ने छ। एनपीएल दोस्रो सिजनमा छ। यो सफलतापछि महिलाको पनि एनपीएल गर्ने कुरा छ। आशावादी छु।"

उनको विश्वास छ - "फ्रेन्चाइज लीग भएमा महिला क्रिकेटको पनि ब्रान्डिङ हुन्छ। प्रायोजक पाउनेछन् र खेलाडीको जीवनस्तर पनि उकासिनेछ। मात्र उनीहरूलाई खेल चाहिएको छ।"

इन्दु बर्मा

तस्बिर स्रोत, CAN

तस्बिरको क्याप्शन, इन्दु बर्मा

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।