'फ्लडलाइट'को उज्यालो रङ्गशालामा क्रिकेट हुनुका पाँच अर्थ

- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्युज नेपाली
फ्लडलाइटको झिलिमिली प्रकाशमा सुरु भएको नेपाल प्रिमिअर लीग (एनपीएल) को दोस्रो संस्करण अहिले राष्ट्रिय चर्चाको विषय बनिरहेको छ।
कीर्तिपुर क्रिकेट मैदानबाट "अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला" मा परिणत भएसँगै त्यहाँ पुगेर क्रिकेटको स्वाद चाख्न क्रिकेटको गहिरो जानकारी राख्नेदेखि यसबारे केही थाहा नपाएकासम्ममा लहर नै चलेको छ।
एनपीएल नेपाली खेलप्रेमीलाई खुसी दिने माध्यम मात्रै बनेको छैन, कतिपयले यसले नेपाली क्रिकेट मात्र नभई देशको विकासमै महत्त्वपूर्ण भूमिका खेल्न सक्ने समेत ठानेका देखिन्छ।
सत्ताइस दिनसम्म चल्ने क्रिकेटको यो मेलामा अधिक चर्चा भइरहेको फ्लडलाइटसहितको व्यवस्थित क्रिकेट रङ्गशालाको निर्माणले नेपाली क्रिकेटका लागि के अर्थ राख्छ?
खेलाडीको स्तर, आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान)को आय तथा आर्थिक पाटोसँगै समग्रमा यसले खेल पर्यटन बढाउन समेत सघाउन सक्ने बताइन्छ।
नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्का भन्छन्, "यो नेपाली क्रिकेट मात्र होइन, खेलकुदको विकासको आधार बन्ने छ।"
भिन्न स्वाद

तस्बिर स्रोत, CAN
वर्षौँदेखि घाँसे मैदानमा बसेर वा रुख चढेर क्रिकेट हेरिरहेका दर्शकका लागि फ्लडलाइटको कृत्रिम प्रकाशमा खेल हेर्न पाउनु भिन्न स्वाद भइहाल्यो।
साथै रङ्गशाला प्रवेशको व्यवस्थित शैली, टिकटअनुरूप सुरक्षित सीट र सहजताले समर्थकहरूले फरक तरिकाले क्रिकेटको मज्जा लिन सक्छन्।
फ्लडलाइटमा खेल हुनु भनेको दर्शक सङ्ख्या बढ्नु पनि हो।
दिउँसो काममा व्यस्त रहने दर्शकहरू दिनमा हुने खेलमा चाहेर पनि कीर्तिपुर पुग्न सक्दैनथे। उनीहरूलाई अब साँझमा कीर्तिपुर पुगेर खेल हेर्ने बाटो खुलेको छ।
विदेशी चासो, अन्तर्राष्ट्रिय चर्चा

तस्बिर स्रोत, CAN
त्यसो त पहिलो संस्करणबाटै एनपीएलले प्रशस्त चर्चा कमाइसकेको थियो। एक वर्षको अवधिमा 'फास्ट ट्र्याक'मा भएको रङ्गशाला निर्माणले थप अन्तर्राष्ट्रिय चर्चा बटुलेको छ।
त्यस्तै स्तरीय विदेशी खेलाडीको आगमन पनि जारी रहेको छ।
यद्यपि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एनपीएललाई अझै मान्यता दिइसकेको छैन। सुरक्षाको विषयमा आईसीसी संवेदनशील छ।
यद्यपि 'फिक्सिङ' र 'बेटिङ'जस्तो विषयमा विगतमा क्यानको प्रतियोगितामा प्रश्न उठेकोले सशङ्कित आईसीसीलाई यस्तो व्यवस्थित प्रतिस्पर्धाले प्रभावित तुल्याउन सक्छ।
आम्दानी
यस्तो खाले लीग क्रिकेटको मोडल भनेकै अन्ततः आम्दानी हो। खेलाडीहरूले 'क्याटगरी' अनुसारको राम्रो 'फी' प्राप्त गरेका छन्।
व्यवस्थित रङ्गशाला र फ्लडलाइटको खेलले एकातिर दर्शकबाट आयोजक क्यानले मनग्य कमाउने छ भने प्रायोजकहरूबाट पनि राम्रो आम्दानी गर्ने छ। प्रतियोगिताको ३२ खेल मध्ये २३ खेल फ्लडलाइटमा खेलाइने तालिका छ।
गत वर्षको दाँजोमा बढी प्रायोजक पाएको क्यानले तीन गुणाले आम्दानी बढ्ने अनुमान गरेको छ।
आम्दानी बढ्नु भनेको क्यान धनी हुनु हो, जसबाट क्रिकेट विकासमा मद्दत पुग्ने छ।
स्तरीय प्रतियोगिता

देशमा उपयुक्त क्रिकेट रङ्गशाला नहुँदा विश्वकप छनोट हुनुअघि नेपालले यूएईको रङ्गशाला प्रयोग गर्दै टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग पहिलो पटक शृङ्खला खेलेको थियो।
तर अब क्यानले ठूल्ठूला टेस्ट राष्ट्रलाई काठमाण्डू निम्त्याएर निरन्तर द्विदेशीय प्रतियोगिताहरू आयोजना गर्न सक्छ।
त्यसले पनि एकातिर आम्दानी बढाउने छ भने अर्कातर्फ नेपाली क्रिकेटको स्तर वृद्धिमा मद्दत पुर्याउने छ।
क्यानले राम्रा टेस्ट राष्ट्रलाई निम्तो दिइसकेको र कतिले सकारात्मक जवाफ पनि दिइसकेको क्यान पदाधिकारीहरूले बताइसकेका छन्।
टेस्ट यात्रातिर पाइला
नेपाल टेस्ट राष्ट्र बन्नुपर्ने विषयमा चर्चा हुन थालेको पनि धेरै भइसक्यो।
तर टेस्ट राष्ट्रको मान्यता पाउन नेपालले मैदानभित्र र मैदानबाहिर सबै क्षेत्रमा प्रगति गर्न सक्नुपर्छ।
भौतिक पूर्वाधारको विकास पनि टेस्ट राष्ट्र बन्न आवश्यक प्रमुख आधारमध्ये एक हो। कीर्तिपुर रङ्गशालाको निर्माणले नेपाललाई टेस्ट मान्यता हासिल गर्ने यात्रामा थप एक कदम अगाडि बढाएको छ।
मैदानभित्र खेलाडीहरूले प्रभाव जमाइरहेका छन् र यसरी नै थप भौतिक पूर्वाधारहरू निर्माण हुँदै गए टेस्ट राष्ट्र बन्ने नेपालको सम्भावना अझै प्रबल बन्दै जाने जानकारहरूको भनाइ छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








