नेपाललाई एकपछि अर्को सफलता दिलाएका खेलमा दीपेन्द्र सिंह ऐरीका ती पाँच रन आउट

दीपेन्द्रसिंह ऐरी

तस्बिर स्रोत, CAN

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्युज नेपाली

'टाइगर' उपनामले चर्चित दीपेन्द्र सिंह ऐरीबारे राष्ट्रिय क्रिकेट टोलीमा स्थापित जस्तै तथ्य बनेको छ- उनी की ब्याटले, नभए बलले र त्यो पनि नभए फिल्डिङले टोलीको लागि अहम् भूमिका निभाउने गर्छन्।

ओमानमा भर्खरै सम्पन्न आइसीसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक छनोटमा यो कुरा फेरि एक पटक पुष्टि भएको छ।

नेपाललाई टी२० विश्वकपमा छनोट गराउन उनले यस्तै बहु आयामिक भूमिका निर्वाह गर्दै प्रदर्शन गरे।

नेपाली क्रिकेट टोलीको लागि सौभाग्य नै मानिन्छ की टोलीमा ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै क्षेत्रमा अब्बल प्रदर्शनको क्षमता राख्ने दीपेन्द्र जस्तो 'कम्बो प्याकेज' का खेलाडी छन्।

कप्तान रोहित पौडेलले पनि 'दिप्पी दाइ' (मायाले बोलाउने नाम) को प्रदर्शन महत्त्वपूर्ण हुने बारम्बार दोहोर्‍याइ रहन्छन्।

ओमानमा दीपेन्द्रले टोली समस्यामा परेको बेला बलिङ क्षमता प्रस्तुत गरे। ब्याटिङबाट आवश्यक परेका बेला रन निस्कियो।

५ डाइरेक्ट हिट

दीपेन्द्रसिंह ऐरी

तस्बिर स्रोत, CAN

यसपालि दीपेन्द्रको प्रदर्शन दुई कारणले अत्यन्त चर्चित भयो।

एउटा उनले युएईविरुद्ध गरेको २० औँ ओभरको बलिङ थियो।

अन्तिम ३ बलमा ३ रन रोक्नुपर्ने बेलामा लगातार ३ विकेट लिए (त्यसमा दुई वटा रन आउट) जुन दीपेन्द्रको प्रदर्शन अविस्मरणीय थियो।

नेपाली क्रिकेटले १ रनको जितमा खेलेको यो खेल रोमाञ्चक खेलका रूपमा चर्चा हुने गर्छ।

अहिले चर्चा गर्न लागेको विषयचाहिँ दीपेन्द्रले यसपालि 'डाइरेक्ट थ्रो' बाट लगातार ५ खेलमा गरेको रन आउटको हो।

फुर्तिला दीपेन्द्रले यस्ता महत्त्वपूर्ण क्षणहरूमा रन आउट गरे जसले गर्दा खेल नेपालको पक्षमा ढल्किएको थियो।

पहिलो रन आउट

दीपेन्द्रसिंह ऐरी

तस्बिर स्रोत, CAN

नेपालले पहिले ब्याटिङ गर्दै १४१ रन जोडेको थियो। कुवेती ओपनर क्लिन्टो अन्टोले २३ बलमा २६ रन बनाउँदै खेलमा जम्ने तयारी गरिसकेको थियो।

यति नै बेला उनी दीपेन्द्रको डाइरेक्ट थ्रोको सिकार बने। यसले खेल नेपालको पक्षमा ढल्कियो र कुवेत ८३ रनमै अलआउट हुन पुग्यो।

दोस्रो रन आउट

जापान विरुद्धको दोस्रो खेलमा पनि ओपनर अभिषेक आनन्द दीपेन्द्रको हातबाट रन आउट हुन पुगे।

चौथो ओभरमा बिना विकेट क्षति ११ रन बनाएर खेलिरहेका अभिषेक १ रनमा रनआउट भए।

अभिषेकलाई लागेको थियो कि त्यो बल डाइरेक्ट हिट हुन सक्दैन। त्यसैले उनले कुद्नमा केही ढिला गरे जस्तो देखिएको थियो।

जब बलले स्टम्प उड्यो। एकछिन छक्क पर्दै उनले मैदान छोडे।

तेस्रो रन आउट

युएई विरुद्धको खेलमा अन्तिम ओभरको चर्चामाथि भइसक्यो। त्यसअघि नै उनले खेललाई मोड्ने रन आउट गरिसकेका थिए।

१४१ रनको लक्ष्य पछ्याउन आएको युएईले १२ ओभरमा ८३ रन बनाएर सहज विजयतर्फ अघि बढिरहेका बेला दीपेन्द्रले सुरुमा ओपनर जोनाथन फिगीलाई आउट गरे।

त्यसपछि ५८ रन बनाएका एलिसान सराफुलाई बोल्ड गरे। उनको रन आउट ड्युटी त बाँकी नै थियो।

उनले राहुल चोपरालाई रन आउट गरेपछि नेपाल खेलमा फर्किन मद्दत गर्‍यो। बाँकी जे भयो, अन्तिम ओभरमा भयो।

चौथो रन आउट

दीपेन्द्रसिंह ऐरी

तस्बिर स्रोत, CAN

कतार विरुद्धको प्रतिस्पर्धामा पनि नेपाल दबाबमा थियो र त्यसमा नेपाललाई कठिन खेलमा फर्काउने काम १४ औँ ओभरमा आएको लगातार २ रन आउटको भूमिका रह्यो।

१४ औँ ओभरको पहिलो बलमा दीपेन्द्रको सिधा थ्रो मा कतारका कप्तान मिर्जा मोहम्मद बेग सिकार भएका हुन्।

१४८ रन पछ्याउन आएको कतारले १२ ओभरमा ९७ रन बनाएर सहजै जित्ने सङ्केत गरिरहेको बेला सन्दीप लामिछानेले प्रमुख ओपनरलाई आउट गरेको बेला दीपेन्द्रको रन आउटले कतारको सन्तुलन बिग्रिन पुग्यो।

दीपेन्द्र पछिको अर्को बलमा आदिल आलमले अर्का ब्याटर मोहम्मद तनवीरलाई पनि रन आउट गरेका थिए।

पाँचौँ रन आउट

दीपेन्द्रसिंह ऐरी

तस्बिर स्रोत, CAN

ओमान विरुद्धको पाँचौँ खेलमा पनि दीपेन्द्रको रन आउटको क्रमले निरन्तरता पायो। नेपालले सहजै जितेको उक्त खेलमा दीपेन्द्रले चौथो नम्बरमा ब्याटर आमिर कलिमलाई रन आउट गरेका थिए।

समोआ विरुद्धको अन्तिम खेलमा मात्र उनले रन आउट नगरेका हुन्।

दीपेन्द्रको ब्याटिङ र रनिङ 'बिटविन द विकेट'को चर्चा अनेक छन्।

विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक छनोटमा दीपेन्द्र लगातार रन आउटको लागि चिनिनेछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।